बीबीसीका वातावरण संवाददाता खडकालाई सम्मान गरिने


बार्सिलोना- बीबीसी विश्वसेवामा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिं खडका सम्मानित हुने भएका छन्। युरोपबाट संचालित अनलाइन पत्रिका नेपालीनेपाली डटकमको तेस्रो वार्षिकोत्सव समारोहमा आगामी जुलाई २८ तारिख जर्मनीको फ्रयांकफर्टमा पत्रकार खडकालाई सम्मान गर्न लागिएको हो।

यस अघि उनले काठमाडौं र लण्डनमा बीबीसी नेपाली सेवाको प्रड्युसरको रुपमा काम गरेका थिए। बीबीसी विश्वसेवाको वातावरण संवाददाताको रुपमा खडकाले बीबीसी टेलिभिजन, अनलाइन र रेडियोकालागि थुप्रै ब्रेकिङ समाचार, फिचर, वृत्तचित्र तथा रिपोर्टहरु तयार पारेका छन्। उनले ‘द काठमाण्डू पोष्ट’ मा नियमित स्तम्भ पनि लेख्छन्।

उनले खासगरी हिमाली क्षेत्रको वातावरण र जलवायु परिवर्तनबाट त्यहाँको जनजीविकामा परिरहेको असरबारे रिपोर्टहरु गर्ने गरेका छन्। गएको बीस वर्षदेखि संयुक्त राष्ट्र संघका सबै वातावरणीय विश्व संमेलनहरुमा पुगेर रिपोर्ट गरिसकेका खडकाले १५ वर्ष अघि बीबीसीमा काम गर्न शुरु गरेका हुन्।

त्यसअघि उनले आठ वर्षसम्म काठमाडौंका सबैजसो प्रमुख अँग्रेजी अखबारहरु र रेडियो सगरमाथा लगायतका सन्चारमाध्यममा काम गरेका थिए। दक्षिण एसियासंबन्धी दुईवटा पुस्तकमा उनका अध्यायहरु प्रकाशित भएका छन्। त्यसबाहेक उनले थुप्रै पुरष्कार र फेलोसिपहरु पनि पाएका छन्।

नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाटले पत्रकार खडकालाई सम्मान गर्न पाउदा खुशी ब्यक्त गरे। उनले भने, ‘डायस्पोरावाट संचालित नेपाली अनलाइन मिडियाका गतिविधिहरुमा अग्रजहरुको सहभागिताले अझ ठूलो हौसला र प्रेरेणा मिल्ने छ ।’ गत वर्ष नेपालीनेपालीडटकमले बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीलाई सम्मान गरेको थियो।

फ्रयांकफर्टमा हुने कार्यक्रममा नेपालीनेपालीडटकमले ‘युरोपमा नेपाली पत्रकारिताको सम्भावना र चुनौती’ विषयमा पनि बृहत छलफल गर्ने भएको छ।  एनआरएनको युरोपेली बैठक शुरु हुनु एक दिन अघि हुन गैरहेको सो कार्यक्रममा नेपालबाट आउने विशिष्ट पाहुनाहरु,अग्रज पत्रकारहरु तथा युरोपस्थित नेपाली समुदायको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।

नेपाली बालबालिकाहरु बारे विशेष रिपोर्ट 

उक्त समारोहको पहिलो चरणमा विदेशमा जन्मेर विदेशमै हुर्केका बालबालिकाहरुलाई नेपाली भाषा र संस्कृति सिकाउन प्रेरित गर्दै विशेष रिपोर्ट प्रस्तुत गरिनेछ। ‘हाम्रो भाषा र संस्कृति, पहिचानको आधार स्तम्भ’ भन्दै युरोपभर नेपाली भाषा सिकाउन भएका प्रयासहरुका बारेमा विशेष रिपोर्ट प्रस्तुत गर्न लागिएको हो।

गैर आवासीय नेपाली संघका अभियन्ताहरुको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको उक्त समारोहबाट प्रत्येक राष्ट्रिय समन्वय परिषदलाई कम्तीमा एउटा नेपाली भाषा कक्षा संचालन गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

साथै नेपालीनेपालीडटकमले हरेक वर्ष प्रदान गर्दै आएको ‘युरोप वर्ष व्यक्तित्व सम्मान’ बाट एक जना सामाजिक अभियन्तालाई सम्मान गर्ने भएको छ। यस बारे सोही दिन घोषणा गरिने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री