हेज कार्निभलमा नेपाली भेषभुषाको प्रशंसा


लन्डन । लन्डनस्थित हिलिङडन बरोले ८ जुलाई शनिबार आयोजना गरेको हेज कार्निभलमा नेपाली समुदायको उत्साहजनक सहभागिता रहयो । स्थानीय बरोमा क्रियाशिल 
एकमात्र नेपाली संस्था हिलिङडन गोर्खा नेपलिज कम्युनिटीको नेतृत्वमा सयौं नेपाली र गोर्खा परिवार कार्निभलमा सहभागी 
भए ।

कम्युनिटीको यो लगातार चौंथो सहभागिता हो । यसअघि लगातार तीनपटक पुरस्कार जितेको उक्त कम्युनिटीले यसपटक भने सांसद जोन म्याकडोनलकै आग्रहमा प्रतियोगी नभइ सहभागितामात्र जनायो । अरु समुदायलाई समेत अवसर प्रदान गर्न सांसदको उक्त अनुरोध आएको कम्युनिटीले जनाएको छ । सांसदले नेपालीको सहभागिताप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

हेज कार्निभलकी संयोजक एवं काउन्सिलर लायन समरले पहिलोपटक नेपालीहरुलाई मौलिक भेषभुषामा देख्दा खुशी लागेको बताइन् । नेपाली वृद्धवृद्धा देखि किशोर किशोरीसमेत आकर्षक भेषभुषा र गरगहनामा सजिएर कार्निभलमा सहभागी भएको कम्युनिटीकी उपाध्यक्ष अन्जना गुरुङले बताइन् ।

उता, कम्युनिटीले त्यसैदिन वार्षिक समर भेटघाट गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथी थिए सांसद जोन म्याकडोनल । सांसद म्याकडोनलले कम्युनिटीका अध्यक्ष तेज पुन र संरक्षक सूर्य इम्सोङसंग संस्थालाई हेज एरियामा एउटा अफिस उपलव्ध गराउने आश्वासन दिएका छन् । संस्थाले विगत देखि नै कार्यालय उपलव्ध गराइदिन आग्रह गर्दै आएको थियो ।

उक्त वार्षिक भेटघाट कार्यक्रम छत्रसिंह लिम्बुले सञ्चालन गरेका थिए ।

यसैबीच, कम्युनिटीले महिलाहरुको महान चाड तीज मनाउने भएको छ । आगामी अगष्ट १२ का दिन तीज फेस्टिबल गर्न लागिएको हो जसको संयोजन उपाध्यक्ष अन्जना गुरुङले 
गर्दैछिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री