गर्भवतीको खानपिनबारे बिज्ञहरुमै विवाद

नयाँ दिल्ली, ६ असार । भारतमा गर्भवतीले के खान हुने र के नहुने भनी एक सरकारी कार्यालयले नै जारी गरेका विज्ञापन एवम् सन्देशको विषयलाई लिएर स्वास्थ्यका विज्ञहरुबीच नै विवाद उत्पन्न भएको छ ।

सरकारी स्वास्थ्य कार्यालय योगा र प्राकृतिक चिकित्सासम्बन्धी भारतीय केन्द्रीय अनुसन्धान परिषदले आफ्नो प्रकाशनमार्फत जारी गरेको सो सन्देशका विषयमा यस्तो विवाद भएको हो ।

उक्त परिषदले हालै आफ्नो प्रकाशनमार्फत जारी गरेको सो सन्देशमा मासु र अन्डाबाट गर्भवतीलाई टाढै रहन भनेको छ ।

भारतमा समय समयमा यस्ता शाकाहारी व्यहारका बारेमा विभिन्न नीति बन्ने गरेका छन् । सरकारी रेडियो र टेलिभिजनहरुमा पनि यस्ता विज्ञापन निकै आउने गर्दछन् ।

सरकारी कार्यालयले प्रकाशन गरेको सो सन्देशलाई सरकारको आधिकारिक कार्यक्रम अथवा स्वास्थ्य नीतिकै रुपमा लिनुपर्ने हुन्छ ।

उक्त सन्देशमा भनिएको छ– यस्ता महिला मासु, मासुजन्य पदार्थ, अन्डाबाट टाढै रहनु पर्छ र यौन क्रियाकलाप पनि सो समयमा गर्नुहुदैन ।

यसै सन्देशसम्बन्धी विज्ञापनहरु पनि बनेका छन् र भारतीय सरकारी मिडियाले पनि यसलाई आधिकारिक स्वास्थ्य सन्देशका रुपमा प्रचार गर्ने गरेका छन् ।

गर्भवती अवस्थामा रहेका महिलाले आध्यात्मिक चिन्तत गर्ने, आजापूजा गर्ने, ठूला एवम् सफल व्यक्तित्वहरुका जीवनी पढ्ने र आफूलाई सधैँ शान्त स्थान र अवस्थामा राख्ने गर्नुपर्दछ– सो सन्देशमा भनिएको छ ।

तर यस्ता सन्देशहरुलाई आधुनिक चिकित्सा विज्ञानका विज्ञ एवम् चिकित्सकहरुले भने उपहासको संज्ञा दिएका छन् । उनीहरुले भनेका छन्– यो सन्देश हास्यास्पद छ, यसको कुनै वैज्ञानिक पुष्टयाईँ दिइएको छैन त्यसैले व्यवहारिक छैन ।

आधुनिक चिकित्सा विज्ञानका व्यक्तिहरु र स्वास्थ्य सम्बन्धी विज्ञहरुले यसलाई अवैज्ञानिक र अव्यवहारिक भनेका छन् । उनीहरुले यस्ता विज्ञापन र सन्देशहरु हटाउनुपर्ने बताएका छन् ।

उनीहरुले भारतमा प्रसुतीजन्य जटिलताका कारण कैयौँ महिलाको बर्षेनी ज्यान जाने गरेकोमा यस्ता समस्याको सम्बोधन सरकारले कममात्र गरेको बताएका छन् ।

चिकित्सकहरुले धेरै आमाहरुको बच्चा जन्माउने ब्यथा र सुत्केरीजन्य जटिलताका कारण ज्यान जाने गरेकोले त्यसतर्फ कदम चाल्नुको सट्टा उल्टै यस्ता विज्ञापनहरु दिनुलाई हास्यास्पद भनेका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार सन् २०१५ मा मात्र बच्चा जन्माउने क्रममा कम्तीमा पनि ४५ हजार आमाको ज्यान गएको छ ।

भारतमा प्रति एक लाख जिवीत जन्ममा १७४ जना आमाको ज्यान जाने गर्दछ । यसको अर्थ हो एक लाख जना जिवीत बच्चा जन्मिदा १७४ जना आमाले ज्यान गुमाउनुपर्ने हुन्छ ।

यो तथ्याङ्क हेर्दा भारत उच्च मातृमृत्यु दर भएका देशमा पर्दछ । संयुक्त राज्य अमेरिकामा भने एक लाख जिवीत बच्चा जन्ममा बढीमा १४ जनामात्र आमाको निधन हुने गरेको तथ्याङ्क छ ।

‘डाइटिसियन्’ (सन्तुलित खाना विषयका विज्ञ) ले पनि यो सन्देशलाई हास्यास्पद भनेका छन् । महिलामा आइरनको मात्रा पूरा गर्नका लागि र त्यो पनि गर्भवती अवस्थामा त झन अण्डा र मासुजन्य पदार्थ खानै पर्नेहुन्छ उनीहरुले भनेका छन् ।

उनीहरुको तर्क छ– भारतका महिलामा धेरैजसो रक्तअल्पता र आइरनको कमी देखिने गरेको छ भने बालबालिकामा कुपोषणको समस्या छ । यस्तो अवस्थामा झन बढी प्रोटीन र आइरनयुक्त खानेकुरा नदिँदा थप समस्या हुनेछ ।

आलोचकहरुले भारतमा हाल भारतीय जनता पार्टीको सरकार रहेको र सो दल हिन्दूवादी भएकोले यस्ता मासुजन्य पदार्थहरुबाट टाढा रहने खालका नीतिहरु निर्माण गरेको आरोप लगाउछन् ।

यस विषयमा भारत सरकारको आधिकारिक धारणा भने केही छैन । तर यो सन्देश भारतीय सरकारको स्वास्थ्य मन्त्रालयल मातहत रहने केन्द्रीय अनुसन्धान परिषदले प्रकाशन गरेर प्रचारमा ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री