चेपाङ बालबालिकाकाे पठनपाठनमा सघाउन गाैतमकाे अपील

तस्वीर एभरेष्ट गाैतम

लण्डन । सुपरिचित समाजसेवी तथा लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले मकवानपुर जिल्लाको विकट कान्दाका चेपाङ समुदायका बालबालिकाको पठनपाठनका लागि सहयोग गर्न ब्रिटेनस्थित नेपालीहरुलाई अपील गर्नुभएको छ।

शनिबार नेप्लीज ब्रिटिश कम्युनिटी युकेद्वारा साउथ ह्यारोमा आयोजित एक अन्तरकृयामा बोल्दै गौतमले सन् २००९ मा नौ महिनाको फरकमा आफ्ना दुई युवा छोराहरुको सडक दुर्घटनामा काठमाडौं र अमेरिकामा निधन भएपछि पूरै परिवार विक्षिप्त भएको र भोटेकोशीमा गएर हामफाल्ने समेत सोंचाइ आएको बताउनुभयो। तर शोकलाई शक्तिमा बदल्दै लक्ष्मी प्रतिष्ठानको स्थापना गरी सडक दुर्घटना विरुद्ध जनचेतना जगाउनुका साथै विभिन्न शैक्षिक संस्थाहरुलाई सहयोग गर्न शुरु गरेको उहाँले स्मरण गर्नुभयो।

हाल चितवनको अत्यन्त विकट कान्दाका चेपाङ समुदायको जीवनमा सकारात्मक सुधार ल्याउन प्रतिष्ठानले काम गरिरहेको उहाँले बताउनुभयो। बाटोघाटो, शिक्षा र स्वास्थ्य सुविधा केही नरहेको, कुपोषणबाट ग्रसित बालबालिकाहरुलाई समेटेर चेपाङ जातिका बालबालिकाका लागि छात्रावास तयार गरी उनीहरुको पठनपाठनमा सघाइरहेको उहाँले बताउनुभयो।

नेप्लीज ब्रिटिश कम्युनिटी युकेका सदस्यहरु लगायतको सहयोगबाट निर्मित कुमार-बलराम स्मृति छात्रावासमा अहिले १६३ जना चेपाङ बालबालिकाहरु बसेर पढिरहेका छन्। त्यस्तै प्रतिष्ठानले स्थानीय चेपाङ समुदायका सदस्यहरुलाई स्वास्थ्य, सरसफाइ, महिला सशक्तिकरण, आयआर्जन संबन्धी तालीम तथा ६३ परिवारकालागि घर पनि निर्माण गरिदएको छ। दुई वर्ष अघि गएको भूकम्प पछि स्वेदश तथा विदेशमा बसेका नेपालीहरुको सहयोगबाट भूकम्पपीडितहरुकालागि ३१ वटा घरहरु पनि निर्माण गरिसकिएको गौतमले जानकारी दिनुभयो।

“हामी कान्दाको रुपान्तरणमा जुटेका छौ। नेताहरुले देश बिगारे भनेर गालीगरेर बस्नुभन्दा कान्दाजस्तै हरेक वस्तीहरुको रुपान्तरण गर्दै गएमा अवश्य पनि हामीले नेपाल आमाको मुहार फेर्न सक्छौं,” गौतमले भन्नुभयो। कान्दामा छात्रावास सन्चालन तथा अन्य सामुदायिक कार्यकालागि वार्षिक झण्डै डेढ करोड खर्च लाग्ने बताउँदै उहाँले यो पवित्र मानवीय काममा खुल्ला मनले सघाउन संसारभरि छरिएर रहेका नेपालीहरुलाई आह्वान पनि गर्नुभयो। उहाँले दाताहरुबाट प्राप्त सबै रकम पारदर्शी हिसाबले राखिएको र त्यसको खर्चबारे जुनसुकै बेला पनि जानकारी उपलब्ध हुने विश्वास दिलाउनुभयो।

सो अवसरमा बोल्दै गैरआवासीय नेपाली संघ युरोपका क्षेत्रीय संयोजक कुल आचार्यले आफुसंग कुनै चीज नभएपछि मात्रै त्यसको महत्व थाहा हुने बताउँदै कठोर पारिवारिक चोटलाई पनि सहेर समाजसेवामा जुटनु भएका गौतम सबै नेपालीका प्रेरणाको स्रोत हुनुभएको बताउनुभयो। उहाँको यो अभियानमा सघाइ नेपालका सबैभन्दा विपन्न मध्येका चेपाङ समुदायको जीवनमा परिवर्तन ल्याइ बालबालिकाको पठनपाठनमा सघाउन सबै गैरआवासीय नेपालीहरुलाई उहाँले आग्रह पनि गर्नुभयो।

सो अवसरमा प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष रामशरण सिंखडा, समाजसेवी सुरेन्द्र श्रेष्ठ, राजकुमार त्रिपाठी, वाचस्पति रेग्मी, व्यवसायी कमल पौडेल, कमल खनाल लगायतका वक्ताहरुले लक्ष्मी प्रतिष्ठानले चलाउँदै आएका सेवामूलक गतिविधिहरुको प्रशंसा गर्दै आआफ्नो तर्फबाट सक्दो सहयोगको वाचा गर्नुभएको थियो। त्यसपछि गौतमले प्रतिष्ठानको आजीवन सदस्य लिएका महानुभावहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। गौतम अझै दुई साताजति बेलायतमा रहने र यहाँस्थित नेपाली समुदायसंग भेटघाट गर्ने कार्यक्रम रहेको आयोजकहरुले बताएका छन्।

कार्यक्रमको अध्यक्षता नेप्लीज ब्रिटिश कम्युनिटी युकेका संयोजक मिलन घिमिरे र कार्यक्रम सन्चालन लेखनाथ घिमिरे तथा समीरनाथ प्याकुरेलले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री