राप्ती समाज युकेको वार्षिक साधारणसभा

लन्डन । बेलायतमा बसोबास गर्ने नेपालीहरुको संस्था राप्ती समाज युकेको छैठौं वार्षिक साधारण सभा गत शनिबार लण्डनमा सम्पन्न भयो। सभाले संस्थाको वार्षिक कार्यप्रगति विवरण तथा आयव्यय विवरण पारित गर्नुकासाथै विधान संशोधन पनि गरेको छ ।

संस्थाको वार्षिक कार्यप्रगति विवरण प्रस्तुत गर्दै समाजका सचिव दिनेश खडकाले गत वर्ष समाजले दाङदेउखुरी राजपुर गाविस फोहराका अग्निपीडितहरुकालागि डेढलाख रुपियाँ, दाङको रिहारस्थित बगारबाबा माविलाई पैंतीसहजार रुपियाँ र रोल्पा लिबाङस्थित बिहानी प्रस्तावित माविलाई रु एकलाख सहयोग गरिएको बताउनुभयो। त्यसैगरी प्यूठान तथा रोल्पा जिल्लाका आगलागी पीडितहरुकालागि समाजले तीनलाख रुपियाँ सहयोग गरेको थियो। प्यूठान जिल्लाकै एक विद्यालयलाई रु एकलाख सहयोग गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो।

यसबाहेक गत वर्ष लण्डनमा निधन भएकी स्व विष्णुकुमारी बुढाथोकीको अन्त्येष्ठीकालागि समाजका सदस्यहरुले तीन हजार पौण्डभन्दा बढी सहयोग गरेका थिए। दुई वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक गहतेस्थित सेतीदेवी निमावीको भवन निर्माणार्थ झण्डै तीन लाखरुपियाँ उपलब्ध गराइएको पनि सचिव खडकाले जानकारी दिनुभयो। त्यसैगरी समाजले बेलायतको भ्रमणमा आउनुभएकी सभामुख ओनसरी घर्तीमगर तथा कलाकारहरु ज्योति मगर, कुमार राना र जुना श्रीस रोकालाई छुट्टाछुट्टै कार्यक्रम गरी स्वागत गरेको थियो।

समाजका अध्यक्ष हिक्मतसिं रोकाले बेलायतमा बसोबास गर्ने राप्तीवासीहरुको साझा परिवारको रुपमा समाजलाई आफुले हेरेको बताउनुभयो। उहाँले बेलायतमा आएर पनि राप्ती अन्चलको सांस्कृतिक तथा सामाजिक पहिचान प्रबर्द्धन गर्न प्रयास गर्नुकासाथै राप्ती अन्चलमा शिक्षा तथा आपत्कालिन मानवीय सहायता पुराउन समाजले सक्दो सहयोग गरिरहेको जानकारी दिनुभयो। उहाँले समाजका गतिविधिमा सघाउने सबै सदस्य तथा पदाधिकारीहरुलाई धन्यवाद पनि दिनुभयो।

विधान संशोधन

सो अवसरमा समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार गंगाबहादुर मल्लले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावहरु व्यापक छलफल पछि पारित गरिएको थियो। जसमा कार्यसमितिको कार्यकाल दुई वर्षबाट बढाइ तीन वर्ष बनाउने र एकजना उपाध्यक्षको ठाउँमा दुईजना उपाध्यक्ष (एकजना महिला) अनिवार्य गर्ने निर्णय छन्।

सो अवसरमा बोल्दै समाजका सल्लाहकार भगीरथ योगीले बेलायतमा बसोबास गरिरहेका राप्तीवासीहरुले आफु जन्मेको गाउँठाउँमा सक्दो सहयोग गर्ने काम सह्राहनीय भएको बताउनुभयो। उहाँले खासगरी बेलायतमा जन्मेका र पढीरहेका नानीहरुलाई नेपाली भाषा, संस्कृति र पहिचानबारे जानकारी दिन समाजले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

साधारणसभाले समाजका कोषाध्यक्ष झपिन्द्र थापाद्वारा प्रस्तुत वार्षिक आयव्यय विवरण पारित गरेको थियो। कार्यक्रमको शुरुमा समाजका उपाध्यक्ष केशरबहादुर रोकाले सबै सदस्यहरुलाई स्वागत गर्नुभएको थियो।

समाजको वार्षिक गृष्मकालिन भेटघाट आउँदो जुलाई २९ तारिख शनिबार फार्नबरोमा आयोजना गर्न लागिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री