
डोल्पाको पाटनतर्फ यार्सागुम्बा सङ्कलन गर्ने मौसम सुरु भएसँगै बहुमूल्य जडीबुटी यार्सागुम्बा खोज्नका लागि ठुली भेरी नगरपालिकाको भित्तीबाट जाँदै गरेका जाजरकोट र रुकुमका स्थानीयवासी । तस्बिर ः रामचन्द्र न्यौपाने, डोल्पा, रासस
डोल्पा, ११ जेठ । डोल्पालगायत हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन सुरु भएको छ ।
यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ लाग्नेको ताँती नै लागेको छ । यार्सागुम्बा सङ्कलन गरी मनग्य आम्दानी गर्ने लक्ष्यका साथ जाजरकोट, रुकुम, रोल्पा, सल्यानलगायत जिल्लाबाट हजारौँ सर्वसाधारण डोल्पा आइपुगेका छन् ।
उच्च हिमाली भेगमा पाइने यार्सागुम्बा यहाँका बासिन्दाको आम्दानीको मुख्य स्रोतको रुपमा रहँदै आएको छ । बर्सेनि जेठ पहिलो सातादेखि असार पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन गरेर सङ्कलकले लाखौँ रुपैयाँ आम्दानी गर्छन् ।
यार्सागुम्बा सङ्कलनको याम सुरुभएसँगै बन्दोबस्तीका सामानसहित सर्वसाधारण हिमाली क्षेत्रमा पुगेका छन् । त्रिपुरासुन्दरी नगरपालिका– १ का वीरबहादुर थापा यार्सागुम्बा टिपेर कमाएको आम्दानीले आधारभूत आवश्यकता पूरा गर्ने गरेको बताउनुहुन्छ । “ जोखिम मोलेर भए पनि यार्सागुम्बा सङ्कलन गर्नुको विकल्प छैन,” उहाँले भन्नुभयो । यार्सागुम्बा टिप्न उच्च हिमाली क्षेत्र पुगेका कतिपय सङ्कलकले बर्सेनि ज्यान गुमाउने गरेका छन् ।
यार्सागुम्बा पाइने यहाँको हिमाली क्षेत्र आजबाट सङ्कलनका लागि खुल्ला गरिएको छ । यहाँका भोक्पा, भाङ्का, सागबारी, कुनास, नावरपानी, रुपपानी, पोखेपानी, प्यारी भोक्पा, ताक्सीलगायत ठाउँमा यार्सागुम्बा सङ्कलन कार्य सुरु भएको छ । यार्सागुम्बा पाइने क्षेत्रको केही भाग सामुदायिक वनभित्र तथा केही भाग शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्छ ।
निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीका अनुसार एक हप्ता अगाडि नै सार्वजनिक सूचना जारी गर्दै जिल्लाका सुलीगाड, त्रिपुराकोट, तोइजुम, त्रिपुराकोट, धोलगायत दशवटा ठाउँ सङ्कलनका लागि खुल्ला गरिएको छ । राष्ट्रिय निकुञ्ज निर्देशिका अनुसार जिल्ला बाहिरका सङ्कलकलाई रु तीन हजार, जिल्लाभित्रकालाई रु दुई हजार, संरक्षित क्षेत्रका सर्वसाधारणलई रु ५०० का दरले सङ्कलन दस्तुर लिने गरिएको छ ।
गत वर्ष छ हजारभन्दा बढीले सङ्कलन गरेका र यस पटक सो सङ्ख्या अघिल्लो वर्षको भन्दा बढ्ने चौधरीले बताउनुभयो । जेठ ११ गतेदेखि असार ९ गतेसम्मका लागि सङ्कलन रसिद वितरण गरिएको छ । सो अवधि भन्दा बढी समयसम्म हिमाली भेगमा बस्न नपाइने कानुनी प्रावधान छ । यार्सागुम्बा सङ्कलन कार्यलाई व्यवस्थित गर्न सुरक्षा व्यवस्था व्यवस्था कडा पारिएको छ ।
यार्सागुम्बा सङ्कलनका लागि बन्दोबस्तीका सामानसहित सर्वसाधारण हिमाली भेगतर्फ लागेपछि यहाँका गाउँघर सुनसान वनेका छन् । घरकुरुवाका रुपमा अशक्त र वृद्धवृद्धा मात्र बसेका छन् । डोल्पाका कतिपय विद्यालय आंशिक रुपमा बन्द भएका छन् भने केही विद्यालय पूर्णरुपमा बन्द भइसकेका छन् ।
यहाँका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने जनप्रभा उमावि, आदर्श उमावि, ठूलीभेरी नगरपालिकामा पर्ने सरस्वती उमावि विद्यालय आंशिकरुपमा खुलेपनि तल्लो डोल्पा तथा उपल्लो डोल्पाका सबैजसो विद्यालय पूर्णरुपमा बन्द छन् । शिक्षक र विद्यार्थी समेत यार्सागुम्बा सङ्कलनमा गएका छन् ।
“डोल्पाली विद्यार्थीका लागि वर्षभरिको पढाइ खर्च जुटाउन समय यही हो,” त्रिपुरा मावि त्रिपुराकोटका विद्यार्थी केशर सार्कीले भन्नुभयो । धेरैजसोको आर्थिक अवस्था कमजोर भएका कारण यहाँका विद्यार्थी यार्सागुम्बा सङ्कलनका लागि जाने गरेका उहाँको भनाइ छ । बर्सेनि जिल्लाका ११५ वटै विद्यालयलाई विद्यालय बन्द नगर्न पत्राचार गर्ने गरेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत सिंहराज डाँगी बताउनुहुन्छ ।
“यस वर्ष पनि विद्यालय बन्द नगर्न निर्देशन दिएका छौँ,” उहाँले भन्नुभयो ।
विद्यार्थी शिक्षक मात्र होइनन् जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका कर्मचारी समेत यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ लागेका छन् ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?