शनिबार, असोज १० २०७७ | Sat, September 26, 2020
नेपालको समय: ०९:१५ | UK Time: 04:30

प्रा. सुवेदीको मानवअधिकार सम्वन्धि ग्रन्थ लन्डन र न्यूयोर्कबाट एकैसाथ प्रकाशित

वीनेपाली
२०७४ जेठ ९ गते ०:०५

लन्डन । बेलायतको लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य प्रसाद सुवेदी (क्यूसी) को मानवअधिकार सम्वन्धि एउटा ग्रन्थ लन्डन र न्यूयोर्कबाट एकैसाथ प्रकाशित भएको छ ।

झण्डै चार वर्ष लगाएर सुवेदीले लेखेको ‘संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रणालीको प्रभावकारिताः सुधार र मानवअधिकारको अन्तर्राष्ट्रिय स्तरमा न्यायीकरण’ ग्रन्थ बेलायतको प्रतिष्ठित राउट लेज गृहले प्रकाशन गरेको हो ।

ग्रन्थमा मानवअधिकार के हो, यसको कसरी विकास भयो, अहिले संसारमा मानवअधिकारको स्थिति कस्तो छ र संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरु मानवअधिकारको प्रवर्धन र संरक्षणमा कति सशक्त र प्रभावकारी छन् भन्ने विषय समावेश छ ।

विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय कानुनको साधनामा लागेका 
प्रा. सुवेदीले आफूले नेपालमा विद्यार्थी नेता हुंदा जेल बसेको क्षण, पछि नेपालको सरकारी सेवा र बेलायती परराष्ट्रमन्त्रीको मानवअधिकारको सल्लाहकारका रुपमा काम गर्दा तथा संयुक्त राष्ट्रसंघको क्याम्बोडियाका लागि मानवअधिकार विशेष दूतको रुपमा ६ वर्ष काम गर्दाका अनुभव समेत ग्रन्थमा समेटेका छन् । उक्त ग्रन्थमा सुवेदीले संयुक्त राष्ट्रसंघका विभिन्न मानवअधिकार सम्वन्धि निकायका सक्षम र दुर्वल पक्षको समिक्षा गर्दै अन्तर्राष्ट्रिय स्तरमा मानवअधिकारको प्रवर्धन र संरक्षणका लागि विभिन्न सुझाव समेत प्रस्तुत गरेका छन् ।

२१ औं शताब्दीको परिवर्तित अन्तर्राष्ट्रिय सम्वन्धको परिप्रेक्ष्यमा र दुई ध्रुवीय सम्वन्धबाट वहु ध्रुवीय सम्वन्धमा प्रवेश गरेको संसारमा मानवअधिकार, कानुन बमोजिमको शासन र लोकतन्त्रका मुलभूत मान्यतालाई कसरी जीवन्त र प्रभावकारी राख्न सकिन्छ भन्ने विषयमा केन्द्रित उक्त ग्रन्थले मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्वन्धको अध्ययनमा महत्वपूर्ण अध्याय थप्ने आशा गरिएको छ ।

बेलायतको उक्त प्रकाशकले प्रा. सुवेदीको ग्रन्थलाई विशेष महत्वकासाथ प्रकाशन गर्दै उनीसंग लिइएको एक विशेष अन्तर्वार्ता (जसमा उनको जीवनी र पुस्तकका विषयवस्तुमा प्रकाश पारिएको छ) पनि एकै साथ प्रकाशन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक