दक्षिण कोरियाली नवनिर्वाचित राष्ट्रपतिसँगै आशाको सुनौलो किरण

south korean president

काठमाडौँ, ६ जेठ । दक्षिण कोरियाको राष्ट्रपति पदमा उदारवादी दलःडेमोक्र्याटिक पार्टीका प्रमुख नेता मुन जाए इन विजयी हुनुभएलगत्तै उहाँले उत्तर कोरियासँगको सम्बन्धमा देखाउनु भएको नरमपनले आशाको नयाँ किरण देखा परेको थियो ।

दक्षिण कोरियाको संविधान तथा राष्ट्रप्रमुख चयन परिपाटीअनुसार निवार्चित जन प्रतिनिधिले पुनःअन्तिम मतदान (एक्जिट पोल) गर्दा बहूमत प्राप्त उम्मेदवार नै राष्ट्रपति पदमा विजयी हुने प्रावधानअनुसार करिब दुई हप्ता अगाडि मून राष्ट्रपति पदमा निवार्चित हुनु भएको थियो ।

जन्मस्थलका हिसाबले दक्षिण कोरियाको गियोजेमा जन्म लिनु भइ माता–पितासँगै बसाइँ सर्दै हाल उत्तर कोरियापट्टिको भूमिः दक्षिण हाम्गेयोङ्ग प्रान्तमा पुगी त्यहाँ हुर्कँदै, बढ्दै राष्ट्रपति इनले वाल्यकाल बिताउनु भएको थियो । दुई कोरियाको विभाजनपश्चात् उहाँका पिता मुन योङ्ग–ह्युङ्ग उत्तर कोरियाबाट पलायन भई शरणार्थीको रुपमा दक्षिण कोरिया प्रवेश गर्नु भएको थियो । आफ्ना पिताजीसँगसँगैै दक्षिण कोरिया आई शिक्षा आर्जनलगायत चरित्र निर्माण गर्नुभएका मून जाए–इनले उच्चतम पदमा निर्वाचित हुनुभएलगत्तै बाल्यकालमा रमाएको भूमिउपर सद्भाव प्रदर्शन गर्ने र स्थिति अनुकूल हुनासाथ अतिशीघ्र नै प्योङ्गयाङ्ग भ्रमणमा गइ बैठक, छलफल र सार्थक वार्ता गर्ने समेत सौहार्द्र संकेत देखाउनु भएको थियो

दक्षिण कोरियाली राष्ट्रपतिको यस्तो सद्भाव सार्वजनिक भएको दुई दिन पनि बित्न नपाउँदै नानीदेखि लागेको बानी कहाँ जान्छ र’ भन्ने उखान झै उत्तर कोरियाले आफ्नो तुजुक देखाउन पछि परेन । करिब एक हप्ता अगाडि फेरी अर्को एउटा शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरी नवनिवार्चित राष्ट्रपति इनलाई प्रत्यक्ष चुनौती दिएको छ । नरमपन्थी राष्ट्रपति इनको बिजयपश्चात् उत्तर कोरियाले पहिलो पटक क्षेप्याश्त्र परीक्षण गरेको हो ।

बारम्बार दक्षिण कोरिया, जापान र अमेरिकी शक्तिलाई समेत धम्की दिँदै आएको उत्तर कोरियाको यो झगडालु स्वभावलाई सदा झै दक्षिण कोरिया, अमेरिका, जापानलगायत सबै विश्व समुदायले एक पटक फेरी निन्दा गरे । कैयौं बर्ष अघिदेखि जारी दुई कोरियाबीचको पानी बाराबारको स्थितिमा सुधार आई कोरियाली प्रायद्वीपमा केही हदसम्म भएपनि शान्ति आउन सक्ने देखिएको अवस्थामा उत्तर कोरियाले पुनःनिहुँ खोजेको छ ।

उत्तर कोरियाले बारम्बार क्षेप्यास्त्र परीक्षण गर्नुका साथै, अमेरिकी मूलभूमिसम्म प्रहार गर्न सक्ने, टुप्पोमा अत्यन्त शक्तिशाली आणविक बम जडान गरिएको अति लामो दूरीसम्म मार हान्न सक्ने इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइ सिबिएम)को उत्पादन, परीक्षण र यस्तो प्रबिधिमा बिशिष्ट कौशल हासिल गर्ने स्थायी धुन चढेको छ उत्तर कोरियालाई । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस, चीन, जापान वा अन्यत्रका राष्ट्रहरुलाई गुहारेर दिन खोजेको अधिकतम दवाव वा अरु प्रकारका धम्कीहरुले उत्तर कोरिया नतर्सने बताउँदै शक्तिशाली र अति तीब्र गतिका आणविक क्षेप्यास्त्र उत्पादन, परीक्षण तथा भण्डारण गर्ने आफ्नो अभियानलाई सदैव उच्च गतिमा निरन्तरता दिइरहने बताउँदै आएको छ ।

विश्वले नै बारम्बार आग्रह गर्दा पनि आणविक शस्त्रास्त्र परीक्षणको काम नरोक्नु र दक्षिण कोरिया, जापान र अमेरिकी शक्तिलाई जिस्क्याउनु उत्तर कोरियाको दैनिक कार्य जस्तो नै भएको छ । विश्व मानचित्रमा लगभग एक्लिएजस्तो देखिने उत्तर कोरियाले पछिल्लो समयमा निरन्तरता दिएको आणविक परीक्षणका कारण उत्तर कोरियासँग राम्रो सम्बन्ध छ भनी मानिएका विरलै देशमध्येको चीनसमेत रुष्ट हुन पुगेको छ ।

गत हप्ता मात्र चिनियाँ राष्ट्रपति सि जिन पिङ्गले एक महत्वाकाङ्क्षी अन्तरराष्ट्रिय परियोजना – वान बेल्ट वान रोड (ओबोर) प्रस्तुत गर्नु भएको छ । प्राचीन चीनको रेशम मार्ग (सिल्क रोड) को नयाँ स्वरुप भनी ओबोरलाई परिभाषित गरे पनि हुन्छ भन्छन् अन्तरराष्ट्रिय यातायातजन्य अर्थबिद्हरु । प्राचीन समयको चीनले आफ्नो सभ्यता, संस्कृति र मौलिकतालाई पश्चिमी देश तथा युरोपसम्म पुरयाउने र आफ्नो बाणिज्य र ब्यापारलाई फैलाउने रणनीतिका साथ अघि सारेको निर्यात पथ नै रेशम मार्ग हो भनिन्थ्यो । एसियादेखि युरोपसम्म आफ्नो उत्पादन पठाउन र आफ्नो ब्यापारिक जनशक्तिलाई त्यसतर्फ परिचालन गर्न सहज र सुरक्षित होस् भन्ने अभिप्रायले समेत यो मार्गको अवधारणा ल्याइएको थियो ।

करिब आधा शताब्दिपछि त्यसैको बिस्तृत अर्को बिशाल अन्तरराष्ट्रिय परियोजना हो एक्काइसौँ शताब्दिको रेशम मार्ग अर्थात् अहिलेको ओबोर । यसलाई अझै विकसित रुप दिने र सहज पार्ने प्रयोजनबश सामुन्द्रिक मार्ग पनि प्रयोग गर्ने परियोजना अघि सारिएको हो । चीनको फुझोउ नगरबाट सुरु हुने यस मार्गले एसिया र अफ्रिकालाई पनि जोड्दछ । यस्तो विश्वव्यापी अवधारणा सहित चीनले अघि सारेको, यस शताब्दिको पछिल्लो र सबैभन्दा ठूलो यस महत्वाकांक्षी आयोजनाको चर्चा परिचर्चाले विश्व उत्सुक छ ।

दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको संगठन – आसियानलगायत समग्र एसिया र अफ्रिकाको ब्यापारिक लाभ तथा यी राष्ट्रका उत्पादनहरुले अथाह र बिस्तारित बिश्व बजारमा सजिलै प्रबेश पाउन् भन्ने चीनको अवधारण रहेको पाइन्छ । आफ्नो खुल्ला नीति, केही हदसम्म आन्तरिक राजनीतिक सुधार र राष्ट्रिय व्यापारिक विस्तार अन्तर्गत अन्य राष्ट्रहरुले पनि लाभ उठाउन् भन्ने सदासयका साथ ल्याएको परियोजनाको रुपमा पनि यसको चर्चा गरिन्छ । चीनले यस परियोजनामा बिशाल धन राशी लगानी गर्ने घोषणा गरिसकेको छ भने ओबोर अवधारणा भित्र पर्ने अन्य राष्ट्रहरुले पनि आफ्नो देश कति र कसरी लाभान्वित हुन सक्छ र के कति लगानी वा योगदान पु¥याउन सकिन्छ भन्ने बिचार बिमर्श र विश्लेषण गरिरहेका होलान् ।

यस प्रकारको महत्वाकाङ्क्षी आयोजना प्रस्तुत गर्ने तथा ब्यापार, बाणिज्य र औद्योगिक उत्पादनहरुको निर्यातमा बिश्वको प्रथम स्थान ओगट्ने दौडमा अघि बढिरहेको र विश्व शक्तिराष्ट्रसूचिको एक नम्बरको स्थान हासील गर्न प्रयासरत चीनले छिमेकीहरुबीचको झैझगडा, झिना मसीना मामिला, हठी वा उद्दण्डमय कार्यमा साक्षी बस्ने वा अल्मलिने कुरै आउँदैन । यही कारण पनि, आजको चीन अवश्य पनि कोरियाली प्रायद्वीपमा स्थिरता र स्थायी शान्तिको चीर प्रतिक्षामा रहेको छ । यही तथ्यलाई मनन गरेरै उत्तर कोरियाली लहडबाजी र लिँडे ढिपीलाई नियन्त्रण गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको सहयोगको अपेक्षा गर्नु भएको प्रतीत हुन्छ ।

इतिहासको पाना पल्टाउँदा दक्षिण र उत्तर कोरिया विभाजनपश्चात् सन् १९५० जुन २० देखि १९५३ जूलाई सम्मको तीन वर्ष एक महिनाभन्दा बढी समयसम्म चलेको युद्धमा हजारौँ कोरियालीले ज्यान गुमाएका थिए । सन् १९५३ मा दुई कोरियाको बिभाजनपश्चात् देशको सीमानासँगसँगै देशबासीका आफन्तहरु पनि छुट्टिएका छन् । दुई देशबीच बेलाबखतमा यी आफन्तको मेलमिलाप भएको दृश्यले विश्वको कुनै पनि स्थानमा बसोबास गरिरहेका व्यक्तिको हृदय छुने गरेको पाइन्छ । बाबु–छोरा, दिदी–बहिनी, दाजु–भाइ जस्ता रगतको नाता रहेका यी दुई देशलाई उत्तर कोरियाली आणविक परीक्षणले आपसमा झन् शत्रुता थपिरहेको र एकिकरणको सपना पालिरहेका दुई देशका नागरिकहरुको मन मुटु पोल्ने बिष पिलाउने स्थिति पैदा गर्ने गरेको छ ।

उत्तर कोरियाको वैदेशिक सम्बन्ध पनि बामपन्थी राष्ट्रसँग मात्र राम्रो रहेको पाइएको छ । सन् १९६० देखि १९७० सम्म उत्तर कोरियाले स्वतन्त्र विदेश नीति अवलम्बन गरेको थियो । सन् २०१२ सम्ममा उत्तर कोरियाको १६२ राष्ट्रसँग कूटनीतिक सम्बन्ध रहेको र त्यसमा युरोपियन युनियन समेत समाबिष्ट थियो । त्यसैगरी ४२ वटाभन्दा बढी राष्ट्रहरुमा उत्तर कोरियाली राजदूतावास वा बाणिज्य दूतावास रहेको छ ।

उत्तर कोरियाले प्रदर्शन गरेको यो एकलकाँटेपन र बारम्बारको आणविक शक्ति परीक्षणले कसरी राष्ट्रको समग्र बिकास र समृद्धि गर्न सकिन्छ भन्ने चिन्तनमा निरन्तर लाग्नु पर्ने नवनिर्वाचित दक्षिण कोरियाली राष्ट्रपतिलाई वाक्क बनाउने र उहाँको उत्तर कोरियाप्रतिको सकारात्मक सोचाईलाई कतै प्रतिशोधको नकारात्मक ज्वालामा बदलिदिने त होइन भन्नेमा चिन्तित छन् विश्वका बुद्धिजिवी तथा बिश्लेषकहरु । निरन्तर आणविक शक्ति तथा क्षेप्यास्त्र परीक्षणको यो शृङ्खला कहिलेसम्म जारी रहने हो, यसले विश्व लाई तेश्रो विश्वयुद्धतर्फ धकेल्ने त होइन भन्ने त्रासको चर्चा एकातिर चल्छ भने अर्कातिर यसैका कारण कोरियाली प्रायद्वीपमा आतङ्कवादले नङ्ग्रा फैलाउने पो हो कि भन्ने चिन्ताले सताउने गर्छ ।

आशा गरौं, सैयौं चरम राजनीतिक बाधा, ब्यबधान तथा आरोह अवरोह पार गरी आईपुगेको आजको दक्षिण कोरियाले पाएको नरमपन्थी र पूर्ण प्रजातान्त्रिक राष्ट्रपतिले कोरियाली प्रायद्वीपमा मडारिइ रहेको झैझगडा निर्मूल पार्दै शान्ति कायम गरी विश्वलाई एक अनुकरणीय सन्देश प्रवाह गर्न सफल रहनु हुनेछ ।

(बिभिन्न समाचार समितिहरुको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित सामाग्री