नेपाल र श्रीलङ्काका राष्ट्रपतिबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी, उहाँको सम्मानमा श्रीलङ्काका राष्ट्रपति सिरिसेनाले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुँदै । तस्बिर ः शीतलप्रसाद महतो, श्रीलङ्का (कोलम्बो), रासस

कोलम्बो (श्रीलङ्का), ३१ वैशाख । श्रीलङ्काको भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाबीच आज कोलम्बोस्थित होटल हिल्टनमा भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई आतिथ्य दिइएको होटल हिल्टनमा नै श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना भेटघाटका लागि आउनुभएको थियो ।

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एसियामा तीव्ररुपमा आर्थिक समृद्धि गर्नुपर्ने चुनौती रहेकाले लामो सङ्घर्षपछि प्राप्त राजनीतिक उपलब्धिलाई स्थायित्व प्रदान गर्न तथा सामाजिक–आर्थिक क्षेत्रमा वास्तविक रुपान्तरण ल्याउनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले गौतम बुद्धको जन्मस्थल, शान्तिको दर्शनको मुलुक नेपालका तर्फबाट स्वागत गर्दै दिगो आर्थिक विकासको लक्ष्यमा पुग्न उपयुक्त वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

आन्तरिक स्रोतको परिचालन तथा अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्यबाट हामीले सामाजिक–आर्थिक विकास गर्न चाहेका छौँ, उहाँले भन्नुभयो – “हामी महिला तथा सबै क्षेत्रका जनतालाई मूलधारमा ल्याई गरिबी, अशिक्षा र विभेद अन्त्य गरी महिला, सीमान्तकृत, अल्पसङ्ख्यक समुदायलाई निर्णय गर्ने मुख्य स्थानमा ल्याउन चाहन्छौँ ।”

राष्ट्रपति भण्डारीले संविधानबमोजिम सबै तहका निर्वाचन गरी नेपाललाई तीव्र आर्थिक वृद्धितर्फ केन्द्रित गर्ने नेपाल सरकारको योजना रहेको चर्चागर्दै सोही बमोजिम आज नेपालमा स्थानीय तहको निर्वाचन भइरहेको र त्यसमा आम जनताको उल्लेखनीय सहभागिता रहेको बताउनुभयो ।

उहाँले दुई वर्षअघि नेपालमा गएको विनासकारी भूँइचालोले निम्त्याएको विपत्मा मित्र राष्ट्र श्रीलङ्काले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै पुनःनिर्माण अभियानमा पनि श्रीलङ्काले पुरयाएको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

उहाँले राष्ट्रपति सिरिसेनालाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिनुभयो ।

यसअघि, भेटघाट कार्यक्रममा राष्ट्रपति भण्डारीको स्वागत गर्दै श्रीलङ्काका राष्ट्रपति सिरिसेनाले राष्ट्रपति भण्डारीको भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको बताउँदै दुई मुलुकबीचको सम्बन्ध आगामी दिनमा अझ व्यापक र प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।

यस प्रकारको उच्च तहको भ्रमणले नेपाल र श्रीलङ्का बीच ऐतिहासिक आर्थिक, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउँदै नेपालको विकास र समृद्धिमा श्रीलङ्काले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

श्रीलङ्काका राष्ट्रपति सिरिसेनाले दुवै देशका जनता आतङ्कवादका सबै रुप र प्रकारको विरोध गर्दछन् भन्दै आफूहरुका लागि विकास र प्रगति नै सर्वाधिक महत्वपूर्ण रहेको र साझा उद्देश्य प्राप्त गर्न एकआपसमा सहयोग जारी रहने बताउनुभयो ।

क्षेत्रीय र उपक्षेत्रीय सहयोगको माध्यमबाट हाम्रा साझा हितको विषयमा इमान्दारीपूर्वक लाग्न श्रीलङ्का चाहन्छ भन्दै उहाँले दुवै देशका जनता र समग्र क्षेत्रको अझ राम्रो भविष्यका लागि दुवै देश मिलेर काम गर्न चाहन्छन् भन्नुभयो ।

भेटघाट कार्यक्रममा नेपालका सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी र श्रीलङ्काका न्याय तथा वुद्ध शासन मन्त्री डा विजेयादासा राजपाक्षेले दुवै देशको व्यापार तथा वाणिज्य क्षेत्रको विकासका लागि द्विपक्षीय सहयोगको आवश्यकतावारे चर्चा गर्दै दुवै देशका जनताको प्रत्यक्ष सरोकार राख्ने विषयमा मिलेर कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

भेटमा राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया महाशाखा) भृगु ढुङ्गाना, शिष्टाचार महापाल दीपक अधिकारी लगायत भ्रमण टोलीका उच्चपदस्थ व्यक्तित्वको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री