
काठमाडौँ, २६ वैशाख । वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।
गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।
नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो ।
छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । ३६ वर्षको उमेरमा सारनाथमा उहाँले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन गर्नुभएको बौद्ध दर्शनको खोज–अनुसन्धानमा लाग्नुभएका बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बताउनुभयो ।
“सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गर्नुभयो, जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय थियो”–उहाँले भन्नुभयो ।
बौद्ध दर्शनका प्राध्यापक शान्तरत्न बज्राचार्य भगवान् बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गर्नुभएको मुख्य कुरा चार आर्य सत्य रहेको उल्लेख गर्नुहुन्छ । जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गर्नुभएको उहाँको भनाइ छ ।
“भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ, त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्छ, दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठवटा मार्ग छन् भनी बुद्धले हामी सबैलाई ज्ञान दिनुभएको छ”–उहाँले भन्नुभयो ।
यसलाई बुद्धले दिनुभएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।
यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ ।
हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् । काठमाडौँको बौद्ध, स्वयम्भू, चावहिलस्थित चारुमति विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तुप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति ¥याली निकालिन्छ ।
यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरि एवम् शोभा यात्रा निकालिन्छ । प्रभातफेरि र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि’ को नारा लगाइन्छ ।
यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त