लन्डनको केन्द्र ट्राफलगर स्क्वायरमा वुद्धम शरणम गच्छामी गुन्जंदा…

लन्डन । ‘वुद्धम शरणम गच्छामी…।’ पृष्ठभूमिमा यही मन्त्र गुन्जिरहेको छ । अरु बेला बिरक्तलाग्दो देखिने ब्रिटेनको मौसम खुलेको छ ।
लन्डनको केन्द्र ‘ट्राफलगर स्क्वायर’ मा मानिसहरु एकत्रित छन् एउटा भिन्न उद्देश्यले । भगवान गौतम वुद्धको शान्ति उपदेश र उनी नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमाझ फैलाउन नेपाली समुदाय एकत्रित छ ।

वुद्धका तस्विर र पोस्टरले सजिसजाउ छ स्टेज । यत्रतत्र नेपाली झण्डा फहराइरहेका छन् । नेपालको नक्सा आकृतिभित्र दीप 
प्रज्वलनले सूर्यास्तका बेला प्रकाश थपिरहेको छ । धर्मगुरु पूजा पाठ गर्न व्यस्त देखिन्थे । नेपालीमात्र होइन, विदेशीलाई समेत यस्तो दृश्यले आकर्षित गरिरहेको छ । रमिता हेर्न विदेशी वरपर घुमिरहेका छन् ।

देशप्रेमले ओतप्रोत त्यो क्षणका साक्षी छन् करिब ५ सय नेपाली । त्यही माहोलमा गायिका शर्मिला बर्देवा र सपनकुमार राई गाइरहेका छन् ‘जहां छन् बुद्धका आंखा, स्निग्ध, शान्त र सुन्दर ।’

बुद्ध जयन्ती मनाउन आइतबार ट्राफलगर स्क्वायरमा भेला भएका नेपालीले वुद्ध नेपालमै जन्मिएको तथ्य फेरि स्मरण गरे । स्वतस्फूर्त 
रुपमा कार्यक्रममा सहभागी हुन बेलायतका विभिन्न शहरबाट ओइरिएका थिए नेपाली । अमेरिकाको बोस्टनबाट लन्डन 
भ्रमणमा आइपुगेका सुरेश वाग्ले र रोशनी खनाल त्यहांको माहोल देखेर दंग थिए । ‘कार्यक्रमले वुद्ध जन्मस्थानबारेको भ्रम चिर्न पक्कै 
सघाउने छ’, खनालले भनिन् ।

बुद्ध फाउण्डेसन यूकेले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड यूके र कपिलवस्तु समाज यूकेको सहकार्यमा बुद्ध जयन्ती मनाएको हो । अघिल्लो वर्ष बेलायती संसद भवन अगाडि मनाइएको वुद्ध जयन्ती यसपटक ट्राफलगर स्क्वायर रोजिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथी कृषि विकास राज्यमन्त्री राधिका तामाङले नेपाललाई चिनाउने महत्वपूर्ण आधार मध्ये वुद्ध एक भएको जनाइन् । मन्त्री तामाङले वुद्ध जन्मिएको देश नेपाल हो भन्ने चिनाउन यस कार्यक्रम सफल भएको बताइन् । नेपाली माटोमा जन्मिएका शान्तिका अग्रदूत गौतम वुद्ध नेपालको गहना भएको समेत उनको धारणा थियो ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सर्वोच्च शिखर सगरमाथा, बहादुर गोर्खा र भगवान गौतम वुद्धको जन्मभूमिले विश्वमा नेपालको चिनारी दिइरहेको बताए । विश्व आतंकवादले त्रसित भइरहंदा वुद्धको शान्ति सन्देश अहिले झन् आवश्यक भएको पनि राजदूतले उल्लेख गरे । वुद्ध नेपालको लुम्बिनीमा जन्मिएको सन्देश विश्वभर फैलाउन समेत उनको सबैमा आग्रह थियो ।

आयोजक फाउण्डेसनका अध्यक्ष दीपक श्रेष्ठले कार्यक्रम भव्य, सभ्य र सार्थक बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

गणेश खड्काले सञ्चालन गरेको उक्त कार्यक्रममा श्रीलंकाकी हाइ कमिश्नर अमारी वीजेवार्डिन, पूर्व सांसदहरु बीरेन्द्र शर्मा र सिमा मल्होत्रा, एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके उपाध्यक्ष हिराधन राई, नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि पशुपति भण्डारी र कपिलवस्तु समाज यूके अध्यक्ष महेन्द्र कुंवरले वुद्धको सन्देशबारे बोले । भिक्षु सुमन शाक्यले वौद्ध धर्म दर्शन र संयोजक एभरेष्ट गौतमले कार्यक्रम उद्देश्यबारे 
प्रकाश पारेका थिए ।

उक्त अवसरमा स्थानीय कलाकारहरुबाट विभिन्न सांस्कृतिक प्रस्तुति समेत भएको थियो भने नेपाल पर्यटन बोर्ड यूकेले विदेशी आगन्तुकहरुलाई लुम्बिनी, बुद्ध तथा सर्वोच्च शिखर सगरमाथाका पोस्टरहरु वितरण गरेको थियो ।

स्विरहरु सौजन्यः निक्को प्रताप गुरुङ, सुरेश वाग्ले

प्रतिक्रिया

सम्बन्धित सामाग्री