बेलायतमा सवारी चालकलाई थप कडा नियम

लन्डन । संयुक्त अधिराज्यको इंग्ल्याण्ड र वेल्समा तोकिएभन्दा बढि गतिमा सवारी हांके तलबबाटै जरिवाना गरिने नयां कानुन कार्यान्वयनमा आएको छ । यसै साता २४ अप्रिल २०१७ बाट लागू भएको यूके स्पिडिङ ल अनुसार नियम मिच्ने सवारी चालकले आफ्नो साताको तलवबाट एकसय पचास प्रतिशतसम्म जरिवाना र प्वाइन्ट पेनाल्टी सामना गर्नुपर्ने भएको हो ।

बेलायतमा गाडी हांकेको बेला फोनमा कुरा गरिरहेको भेटिए जरिवानासहित लाइसेन्स नै रद्द हुने नियम लागू भएको दुई महिना नपुग्दै गति नियन्त्रण सम्वन्धि कडा कानुन ल्याइएको हो ।

बेलायत सरकारले तीन ब्याण्डमा वर्गीकरण गर्दै ब्याण्ड ए अन्तर्गत २० माइल स्पिड लिमिट क्षेत्रमा २१ देखि ३० माइल प्रति घण्टा, ३० लिमिटमा ३१ देखि ४० माइल प्रति घण्टा र ४० लिमिटमा ४१ देखि ५५ माइल प्रतिघण्टा गाडी कुंदाए साताको तलबबाट ५० प्रतिशत जरिवाना गरिने छ ।

त्यसैगरि, ब्याण्ड बी अन्तर्गत २० माइल स्पिड लिमिटमा ३१ देखि ४० माइल प्रतिघण्टा, ३० लिमिटमा ४१ देखि ५० माइल र ४० लिमिटमा ५६ देखि ६५ माइल प्रति घण्टा गाडी कुंदाए साताको शतप्रतिशत तलब काटिने, ७ देखि २८ दिनसम्म सवारी चलाउन अयोग्य वा ४ देखि ६ पेनाल्टी प्वाइन्ट दिइने नयां कानुनमा छ ।

ब्याण्ड सी अन्तर्गत २० लिमिटमा ४१ माइल माथि, ३० मा ५१ माथि र ७० लिमिटमा १०१ प्रतिघण्टा कुंदे साताको १५० प्रतिशत तबल कटाइने र ७ देखि ५६ दिनसम्म अयोग्य ठहर वा ६ प्वाइन्ट पेनाल्टी दिइने उल्लेख छ ।

लन्डनस्थित सोलिसिटर राजु थापाले दुर्घटना नियन्त्रण र राजश्व संकलनका लागि यस्तो कडाइ गरिएको बताए । उनले जरिवाना तिर्न नसके अदालतमा उपस्थित भएर जेल समेत जानुपर्ने बताउंदै चालकहरुलाई नयां नियम पालना गर्न सुझाए । थापाले अहिले स्थानीय निकायलाई थप अधिकार प्रत्यायोजन गर्दै सडकमा थुके, चुरोटको ठुटा फाले वा फलफूल खाएर बोक्रा र अन्य फोहोर फाले ८० पाउण्डसम्म जरिवाना गर्न थालिएको समेत जानकारी दिए ।

तर, नयां कानुनबारे करिब ६० प्रतिशत चालकहरु अनभिज्ञ रहेको एक अध्ययनले जनाएको छ । २५ वर्ष माथिका ३८ प्रतिशत चालकले मात्र नयां परिवर्तनबारे थाहा पाएको अध्ययनमा उल्लेख छ ।

गत १ मार्च देखि इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा सवारी चालकका लागि नयां कडा नियम लागू भएको थियो । यहां गाडी हांकेको बेला फोनमा कुरा गरिरहेको भेटिए लाइसेन्स नै रद्द हुन सक्ने, जरिवाना एवं प्वाइन्ट पेनाल्टी छ । ट्राफिक बत्तिमा 
रोकिएको बेला सामाजिक सञ्जाल वा टेक्स्ट म्यासेज हेर्न पनि नमिल्ने नियममा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री