टर्की प्रशासनद्वारा असफल ‘कु’ प्रयासका एक हजार समर्थक पक्राउ

तस्विरः एपी

इस्तानबुल (टर्की), १३ वैशाख । टर्कीको प्रशासनले अमेरिकामा स्वघोषित निर्वासनमा रहनुभएका मुस्लमान धर्मगुरु फेतुल्लाह गुलेन समर्थक करिब एक हजार नागरिकलाई बुधबार पक्राउ गरेको छ ।

यो टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले हालै भएको जनमतसङ्ग्रहमा आफ्नो शक्ति बढाउनसक्ने गरी परिणाम आएको केही दिनभित्र एर्डोगानको प्रशासनले लिएको प्रतिपक्षी विरुद्धको कडा कदम हो ।

राष्ट्रपति एर्डोगानले राष्ट्रपतिलाई थप शक्तिशाली बनाउने वा नबनाउने भन्ने विषयमा भएको जनमतसङ्ग्रहपछि टर्की छिरेको बताइएका गुलेन समर्थक करिब तीन हजार नागरिकलाई बुधबार बिहानै गरिएको खोजी पछि पक्राउ गरिएको थियो ।

टर्कीका सबै ८१ राज्यमा गरी बुधबार एक हजार १३ शङ्कास्पद गुलेन समर्थक नागरिकलाई पक्राउ गरिएको टर्कीको सरकारी समाचार संस्था अनादोलुले जनाएको छ ।

प्रशासनले टर्कीमा पछिल्लो समय गुलेन समर्थक चार हजार ६७२ नागरिकमाथि पक्राउ पूर्जी जारी गरेकोमा एक हजार ४४८ यसअघि नै जेलमा छन् ।

टर्कीको सरकारले गुलेनलाई सन् २०१६ को जुलाई १५ मा भएको असफल ‘कु’ प्रयासका मुख्य योजनाकार बताउँदै उनका समर्थकलाई नियन्त्रणमा लिने क्रम अझै जारी छ । कैयौँ नागरिक जर्मन, फ्रान्स, अमेरिकालगायतका मुलुकमा शरणार्थीका रुपमा बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री