मंगलबार, जेठ ४ २०७८ | Tue, May 18, 2021
नेपालको समय: ०१:०८ | UK Time: 20:23

बेलायती संसदमा ‘भाग्यले बांचेकाहरु’

वीनेपाली
२०७४ वैशाख १२ गते १०:५९

लन्डन । दुई वर्ष अघि आजकै दिन (अप्रिल २५) नेपाल 
महाभूकम्पको चपेटामा परयो । ७.८ म्याग्निच्यूडको उक्त भूकम्पले करिब ९ हजार मारिए भने झण्डै २४ हजार घाइते भए । ५ लाख बढि भवन क्षतिग्रस्त भएको अनुमान छ ।

उक्त प्राकृतिक विध्वंशमा चमत्कारिक रुपमा बांचेका ९ जनाको कथा समेटेर तयार पारिएको वृत्तचित्र पहिलो पटक लन्डनमा प्रदर्शन भएको छ, त्यो पनि बेलायती संसद भवनभित्र । निर्देशक गणेश पाण्डे संसद भवनभित्र आफ्नो वृत्तचित्रबारे बेलिविस्तार 
लगाउंदा सपना झैं ठानिरहेका थिए । ‘बेलायतको संसद भवनमा मेरो वृत्तचित्र देखाइएला भन्ने त कल्पना पनि थिएन’, पाण्डेले भने, ‘यस्तो ऐतिहासिक अवसर दिलाइदिने एसएनपी सांसद स्टेफेन गेथिन्स् र आयोजकप्रति आभारी छु ।’

कमिटी रुम ६ भित्र वृत्तचित्र प्रदर्शनीका क्रममा बेलायती सांसद भने सहभागी हुन पाएनन् । बेलायतमा जुन ८ मा आमनिर्वाचन 
गर्ने तयारी तीव्र भइरहंदा सांसदहरुलाई आचारसंहिताले रोकेर 
डकुमेन्ट्री हेर्न उनीहरु अनुपस्थित रहे ।

कार्यक्रममा निर्देशक पाण्डेले करिब ४५ मिनेट लामो र १३ विभिन्न भाषामा सबटाइटल भएको उक्त वृत्तचित्रले १५ वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको बताए । ३२ मुलुकका ६० भन्दा बढि चलचित्र महोत्सवमा छानिइसकेको पाण्डेले जनाए । उक्त वृत्तचित्र अमेरिका, अष्ट्रेलिया र केही युरोपेली देश गरि एकसय भन्दा बढि स्थानमा प्रदर्शन भइसकेको छ । वृत्तचित्रले महाभूकम्पको त्रासदी, बांचेकाहरुको रोदन, तिनले स्मृतिमा सांचेका कहालीलाग्दो अनुभव र भूकम्प इतिहास खोतल्ने प्रयास गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले आफू महाभूकम्पको प्रत्यक्ष साक्षी भएको स्मरण गर्दै नेपाल सरकारले पुनर्निर्माणलाई विशेष प्राथमिकता दिएको बताए । उनले सरकारको नीतिगत र व्यवस्थापकीय प्रवन्धपछि पुनर्निर्माण प्राधिकरण पुनर्निर्माणमा जुटिसकेको उल्लेख गरे ।

वृत्तचित्र प्रदर्शनीपछि भूकम्पमा परेर दिवंगत भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्न मौनधारण समेत गरियो । प्रदर्शनीपछि भावुक देखिएका केही सहभागीले वृत्तचित्रमा समेटिएका पात्रलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने चासो समेत देखाएका थिए ।

उक्त अवसरमा कार्यक्रम संयोजन गरेका यूके नेपाल 
फ्रेण्डसीप सोसाइटीका कार्यकारी निर्देशक एलान सान्का र नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारी, लिटिल शेर्पा फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत जेम्स् ल्याम्ब लगायतले भूकम्प अनुभव सांटेका थिए । कार्यक्रममा नेपाल पर्यटन सम्वन्धि भिडियो पनि देखाइयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक