आइतबार, असोज ११ २०७७ | Sun, September 27, 2020
नेपालको समय: १४:१७ | UK Time: 09:32

जनकपुरका पर्यटकीय सम्पदा विश्व सम्पदा सूचीको प्रतीक्षामा

वीनेपाली
२०७३ चैत २५ गते १:४९

जनकपुरधाम, २४ चैत । जनकपुरघामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न क्षेत्र निर्धारण, दायित्व र एकीकृत व्यवस्थापन संरचनाको स्पष्टताको खाँचो महसूस गरिएको छ ।

यस क्षेत्रमा अद्वितीय साँस्कृतिक परम्परा जीवन्त रुपमा विद्यमान रहेकाले विश्व सम्पदामा सूचीकूत गराउन प्रक्रियागत रुपमा क्षेत्रको कानूनी जिम्मेवारी र सरोकारवालाको दायित्व बारे स्पष्टताको खाँचो देखिएको हो ।

राज्यले नेपालका १५ वटा सम्पदालाई सम्भाव्य सूचीमा समावेश गरी युनेस्कोमा पठाइसकेकोमध्ये जनकपुर पनि एक हो । राज्यले आगामी वर्षहरुमा विश्व सम्पदा सूचीमा मनोनयन गर्न चाहेका सर्वश्रेष्ठ विश्वव्यापी महत्व भएका सांस्कृतिक सम्पदाहरुको नाम सम्भाव्य सूचीमा समावेश गर्ने अवधारणा अनुरुप जनकपुर क्षेत्रस्थित रामजानकी मन्दिरलाई सम्भाव्य सूचीमा समावेश गरेको छ ।

पुरातत्व विभागकाअनुसार हाल सम्म विश्वका १६३ देशका एक हजार ३१ स्थल विश्व सम्पदा सूचीमा सूचीकृत छन् । सोमध्ये नेपालका चार वटा रहेका छन् ।

पुरातत्वविद् भीम प्रसाद नेपालले मैथिल सभ्यताको अतूलनीय विशिष्ट प्रमाण बोकेको र मानव इतिहासमा महत्वपूर्ण अवस्था दर्शाउने सम्पदा जनकपुर क्षेत्रमा विद्यमान छ भन्नुभयो ।

यस क्षेत्रको विकासलाई यहाँका सांस्कृतिक स्रोतहरुले सम्भव बनाएको हो भनि बुझ्नु जरुरी छ, उहाँले भन्नुभयो– यहाँका सम्पदा लुम्बिनि र पशुपतिनाथ झै अद्वितीय छ ।

वैदिक वाङ्मय पुराण तथा धार्मिक साहित्यहरुमा जनकपुरको अस्तित्व अनादिकाल देखि नै रहेको उल्लेख छ । त्रेता युगमा उत्कर्षमा रहेको मिथिला, द्वापर युगमा महाभारतको युद्धपछि लोप भएर पृष्ठभूमिमा पुगेको र कलियुगमा सोह्रौ शताव्दी पछि पुनः प्रकट भएको भनिन्छ ।

जनकपुर क्षेत्रका मठ–मन्दिर र तिनमा सुरक्षित मूर्तिहरु, गढ, गढीहरु इतिहासका अनेक उत्थान पतनका तथ्य अहिले पनि गर्भ मै छ । पुराना कथाहरु, सनातन मूल्य, सभ्यताको प्राचीनता र चरमोत्कर्ष जनककालीन जनकपुरको कथा, बज्जिसङ्घको प्रभाव, मिथिलाको प्राचीन इतिहास, नान्यदेव वंशीय, सेन र पालकालीन अवस्थाका ती मठ, मन्दिर, मूर्ति र गढ–गढीको गर्भमा लुकेको बताइन्छ ।

यहाँ मूर्तिहरु केही पालकालीनका छन् भने केही मध्यकालीन छापका छन् । केही भने अयोध्यामा रहेका मूर्तिहरु जस्ता देखिन्छन् । पुरातात्विक अंश भएका केही मन्दिरहरु– राम, लक्ष्मण, जनक, कुपेश्वरनाथ, जानकी, हनुमानगढी, कपिलेश्वर र रत्नसागर उल्लेखनीय छन् ।

जनकपुरका ऋषि–मुनि दूरदर्शी थिए, उनीहरुले इतिहास लेख्नका लागि यस्तो कैनभासको परिकल्पना गरी त्यसलाई मूर्तरुप दिए, जो नष्ट भएर पनि नष्ट हुने खालको थिएन, त्यो कैनभास थियो– पत्थर । हरेक युगमा यहाँ पत्थरका मूर्ति उत्कीर्ण हुँदै आएको छ ।

यस क्षेत्रमा पाइने मूर्त र अमूर्त पुरातात्विक सम्पदा सामान्यतः मोर्य, शुँग , कुषाण, गुप्त, पाल, सेन राज्यवंश र पछि मकवानपुरका सेन राजाहरुको समयलाई बोध गराई रहेका छन् भने विभिन्न गढीले मानव सभ्यताको विकासक्रमलाई अगाडी बढाइराखेका छन् ।

जनकपुर क्षेत्रका मठ– मन्दिरहरु शिखर शैलीका छन् भने केही गुम्वाकार वास्तु शैली, पैगोडा शैली र मैथिल वास्तु शैलीका छन् । जानकी मन्दिर मैथिल, राजपूत र इस्लामी वास्तु शैली, राम मन्दिर र विवाह मण्डप नेपाली वास्तु शैलाी र जनक, लक्ष्मण मन्दिर गुम्वाकार वास्तु शैलीमा तथा कुपेश्वरनाथको मन्दिर मैथिल वास्तु शैलीमा बनेको पाइन्छ ।

पुरातत्वविद् नेपालले यस क्षेत्रका धरोहरहरु वर्तमान पुस्ताका लागि जति आवश्यक छन्, भावी पुस्ताका लागि त्यतिकै आवश्यक भएकाले यस क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्नु पर्नेमा जोड दिनुहुन्छ ।

प्राध्यापक डा. भोगेन्द्र झा विश्व सम्पदामा समावेशले गौरव, सम्मान र पर्यटकीय गतिविधिमा वृद्धि र आर्थिक लाभ जस्ता पक्ष गाँसिएकाले यस कार्यलाई इमान्दारितापूर्वक अगाडि बढाउनुपर्ने बताउनुहुन्छ ।

अर्का प्राध्यापक डा. सोनफी यादव राम मन्दिरको पश्चिम– दक्षिण दिशामा मन्दिरसंग टाँसिएर रहेको शिशुनारीको मूर्ति पाल कालको भएको र सो मूर्ति सम्भवतः यस नगरको प्रचीनतम् हुन् भन्नुहुन्छ ।

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष राम कुमार शर्माले यस क्षेत्रलाई राष्ट्रिय गौरवका क्षेत्रमा राख्दै विश्व सम्पदामा समावेशका जटिलताको प्रयासको खाँचो औल्याउनुभयो ।

यस क्षेत्रमा अहिले सम्म पुरातात्विक उत्खनन्को प्रयास खासै नभएको अवस्थामा मूर्ति र एक्कासी माटो खन्दा प्राप्त सामग्रीहरुले पनि दुर्लभ जानकारी दिइ रहेकाले विश्व सम्पदामा सूचीकृत गराउनमा सहायक सिद्ध हुने विश्वास गरिएको छ ।

बावन्न कुटी बहत्तर पोखरीको नगरको नामले प्रसिद्ध यस क्षेत्रलाई आदर गरी एक उत्कृष्ट नमुनाको प्रतिनिधित्वका रुपमा विश्वको मान चित्रमा स्थापित गराउनु पर्ने प्राध्यापक महेन्द्र नारायण मिश्र बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक