लन्डनमा साहित्य सन्ध्या र पुरस्कार सुशोभन

लन्डन । नेपाली साहित्य विकास परिषद यूकेले नेपाली नयां वर्ष २०७४ लाई साहित्य सन्ध्या र पुरस्कार सुशोभन कार्यक्रम गरि स्वागत गरेको छ ।

लन्डनको वेम्ली तन्दुरी रेष्टुरेन्टमा सोमबार सांझ २८ औं साहित्य सन्ध्या र सम्मान कार्यक्रम गरिएको हो । समारोहमा परिषदले नेपालका वरिष्ठ कवि गोपाल पराजुलीलाई स्वर्ण पदकले सम्मान गरेको छ । पराजुलीलाई परिषदका पदेन संरक्षक राजदूत डा. दुर्गा बहादुर सुबेदीले गत वर्षको एनएलडिसी गोल्ड मेडल (२४ क्यारेट सुन र ५ तोला चांदीको पदक) 
द्वारा सम्मान गरेका हुन् । साथै राजदूतले त्रिमुर्ती निकेतन काठमाण्डौं नेपालको सत्य मोहन जोशी शताब्दी महोत्सव २०७३ स्वर्ण पदकबाट कविहरु कोमल प्रसाद श्रेष्ठ मल्ल र वसन्त राय क्षेत्रीलाई सम्मान गरे । मंगल धुनबीच श्रष्टाहरुलाई स्वर्ण पदक र सम्मानपत्रद्वारा सुशोभन गराइएको थियो । यस वर्ष परिषदका उपाध्यक्ष कवि गोकुल भन्डारी तथा श्रीमती बिन्दु भन्डारी अर्याल र उपाध्यक्ष कवि रेशम अर्याल र श्रीमती सीता अर्याललाई विशिष्ठ सम्मान प्रदान गरियो ।

यस अघि परिषदका निवर्तमान अध्यक्ष खगेन्द्र नेपाली, पूर्व अध्यक्ष हरिसिंह थापा, वरिष्ठ सहअध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल र सहअध्यक्ष ध्रुब केसीले मंगल धुनबीच पुरस्कार तथा सम्मान सुशोभन स्तुति वाचन गरेका थिए ।

 

कार्यक्रमका प्रमुख अतिथि परिषदका पदेन संरक्षक राजदूत सुबेदीले नेपाली नयां वर्षको शुभागमनसंगै साहित्यिक माहोलमा कविहरुलाई सम्मान गर्न पाउंदा खुशी लागेको बताए । उनले परिषद्ले बेलायतमा नेपाली भाषा, साहित्य र पहिचान जोगाउन अत्यन्त उदाहरणीय भूमिका निर्वाह गरिरहेको उल्लेख गरे । उनले नेपालका वरिष्ठ कवि पराजुलीलाई सम्मान गर्न पाउंदा खुशी लागेको बताउंदै पराजुलीको साहित्यिक योगदानको चर्चा गरे । राजदूतले पुरस्कृत तथा सम्मानित व्यक्तित्वमा वधाई र नयां वर्षको शुभकामना पनि अर्पण गरे ।

कार्यक्रममा परिषदका सल्लाहकार एवं यती संस्थाका पूर्व अध्यक्ष वरिष्ठ समाजसेवी डा. राघवप्रसाद धिताल (ओबीइ) ले कवि पराजुलीसहित अन्य श्रष्टाहरुलाई पुरस्कृत गरेर परिषदले साहित्यिक सृजनामा थप प्रोत्साहित गरेको बताए ।

डा. धितालले नेपाली साहित्यको संस्थागत विकास गर्न परिषदको ऐतिहासिक महत्व रहेको धारणा पनि राखे । त्यसैगरी अर्की वक्ता यती नेपाली एसोसिएसन यूकेकी अध्यक्ष श्रीमती पिपला देवानले विदेशी भूमिमा नेपाली भाषा, साहित्यको उजागर गर्न र साहित्यिक माहोल थालनी गर्ने कार्यमा परिषदको भूमिका उल्लेख्य रहेको बताइन् ।

कार्यक्रमका सभापति परिषदका संस्थापक तथा अध्यक्ष साहित्यकार सुरेशजंग शाहले वरिष्ठ कवि
पराजुलीलाई बेलायतमा गोल्ड मेडलले सम्मान गर्न पाउंदा गर्व लागेको र यसले परिषदमा एउटा गरिमामय इतिहास थपिएको बताए । अध्यक्ष शाहले नेपाली भाषा, साहित्यमा योगदान गर्ने व्यक्तित्वलाई विगत २३ वर्षदेखि सम्मान गर्न थालिएको पनि जनाए ।

समारोहमा परिषदका सहअध्यक्ष वरिष्ठ समाजसेवी कवि ध्रुव केसीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम सञ्चालन 
गर्दै वरिष्ठ सहअध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्ल र महासचिव डा. सुधा श्रेष्ठले पराजुली र उनकी धर्मपत्नी लक्ष्मी पराजुलीलाई बेलायतमा स्वागत गर्न पाउंदा खुशी र गौरव लागेको बताए ।

समारोहको दोस्रो चरणमा पराजुली, वसन्त रायक्षेत्री, रिता गौतम, घन बहादुर थापामगर, गोपाल शाही, वासु शर्मा, मनोज अन्जान, रेशमलाल अर्याल, गोकुल भन्डारी, बाचस्पति रेग्मी, ध्रुब केसी, खगेन्द्र नेपाली, सुधा श्रेष्ठ, रेशम अर्याल, कोमल प्रसाद श्रेष्ठ मल्ल, हरिसिंह थापा, मन्दिरा प्रसाई, पिपला देवान, फडिन्द्र भट्टराई, विमला गौतम, लक्ष्मी राई र ध्रुब केसीले आ आफ्ना कविता वाचन गरे भने नेपालबाट आएका द्वारिका शर्माले रोचक हास्यव्यंग प्रस्तुत गरे ।

कार्यक्रमको तेश्रो चरणमा रश्मी गौतमले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री