क्षयरोगबारे लण्डनका नेपालीलाई निशुल्क सचेतना

लण्डन । साउथ ईस्ट लण्डनमा बस्ने नेपालीहरुमाझ लाटेन्ट टिवी (निस्क्रिय क्षयरोग) बारे सचेतना जगाउने उद्धेश्यले एक कार्यक्रम सम्पन्न भएको छ । एडभोकेसी फर नेपालिज अर्गानाइजेसन (आफ्नो) ले ग्रिनविच काउन्सिलसंगको सहकार्यमा शनिबार वीलवीचमा सो कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा साउथ ईस्ट लण्डनमा बसोबास गर्ने भूपू गोर्खा र तिनका परिवारसहित कुल एक सय बढि नेपालीको सहभागिता थियो । सहभागीहरुलाई लाटेन्ट टिवी, यसका लक्षण, असर, बच्ने उपाय, परिक्षणको महत्व लगायतका विषयमा सम्बन्धित विषयका विज्ञहरुबाट जानकारी गराइयो । बेलायतका नेपालीहरुमा लाटेन्ट टिवीका बारेमा गरिएको केस स्टडीबाट प्राप्त तथ्यहरुबारे प्रिजेन्टेसन समेत गरिएको थियो ।
निस्क्रिय क्षयरोगका कारण सन् २०१५ मा १५ लाख मानिसले ज्यान गुमाएका थिए । बेलायतमा पनि यो रोगबाट प्रभावितहरुको संख्या अत्याधिक छ । लण्डनमा यो रोगबाट पीडितहरुमध्ये ८० प्रतिशत आप्रवासी रहेको तथ्यांक छ । नेपालीहरुको हकमा यो रोगको संक्रमण हुने जोखिम उच्च रहेको तथा ४५ प्रतिशत जनसंख्या यसबाट पीडित रहेको जानकारी पनि दिइयो । लाटेन्ट टिवीको उच्च जोखिम रहने १६ देखि ३५ वर्ष उमेर समूहको लागि बेलायतमा निशुल्क परिक्षण उपलब्ध हुने साथै अन्य उमेर हुनेहरुको लागि पनि जिपी सर्भिसमा सम्पर्क राख्न सकिने बताइएको थियो ।
कार्यक्रमको अन्तिम चरणमा सहभागीहरुले राखेका विभिन्न जिज्ञासामा डा. मोहम्मद तामिमले जवाफ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री