लन्डन । ब्रिटेनको सत्तारुढ दल कन्जरभेटिभका एकजना प्रभावशाली सांसद तथा भूतपूर्व मन्त्री सर जेराल्ड होवार्थले ब्रिटिश प्रधानमन्त्री टेरेजा मेको नेपाल भ्रमणकालागि आफूले पहल गर्ने वचन दिएका छन् ।
नेपाल ब्रिटेन सम्बन्धको २०० वर्ष पुरा भएको अवसरमा लन्डनस्थित नेपाली दूतावासद्वारा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि होवार्थले उक्त आश्वासन दिंदै नेपाल ब्रिटेनको एक भरपर्दो मित्र रहेको बताए । बेलायत नेपाल सम्वन्धको २०० वर्ष गांठ समापन भइरहंदा कुनै पनि ब्रिटिश प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छैनन् ।
भूतपूर्व गोर्खाहरुको बाक्लो बसोबास रहेको अल्डरसट क्षेत्रको प्रतिनिधित्व गर्ने होवार्थले भूतपूर्व गोर्खा सैनिक र तिनका परिवारले नगरको विकासमा ठूलो योगदान पुरयाएको बताए । स्कूल, कलेजमा पढ्ने भूतपूर्व गोर्खाका छोराछोरीहरुले राम्रो गरिरहेको र त्यसबाट अरु ब्रिटिश बालबालिकालाई पनि उत्प्रेरणा मिलेको उनले बताए ।
सर होवार्थले सन् १९६० यता ब्रिटिश सरकारले नेपाललाई झण्डै दुई अर्ब डलर बराबर सहायता दिएको स्मरण गर्दै नेपालको विकासमा सघाउन पाएकोमा खुसी व्यक्त गरे । गत बीस वर्षदेखि सांसद रहेका होवार्थ अन्तर्राष्ट्रिय सुरक्षा रणनीति हेर्ने भूतपूर्व मन्त्री पनि हुन् । ब्रिटेनले युरोपेली संघ छाडनु पर्छ भन्ने पक्षमा मतदान गरेका होवार्थले ब्रेक्जिटपछि ब्रिटेनले नेपालजस्ता मित्रहरुसंग अरु निकट सम्बन्ध कायम राख्ने पनि बताए । उनले प्रधानमन्त्री मे ले राम्रो काम गरेको भन्दै उनको प्रशंसा समेत गरे ।
कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले सुगौली सन्धि अघि पनि नेपालको ब्रिटेनसंग सम्बन्ध रहेको स्मरण गरे । नेपालमा प्रजातन्त्रको सुदृढीकरणकालागि ब्रिटेनले दरिलो सहयोग र समर्थन दिंदै आएको बताउंदै सुवेदीले नेपालीहरुको मनमा पनि बेलायतप्रति न्यानो सद्भाव रहेको बताए ।
कार्यक्रममा बोल्दै लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदीले नेपाल भारत सम्बन्धबारे जान्न चाहने जो कोहीले पहिले नेपाल ब्रिटेन सम्बन्धको अध्ययन गर्नुपर्ने बताए । सुगौली सन्धि विजेता ब्रिटिस इन्डियाले नेपालमाथि थोपरेको भएपनि दुई देशबीच सन् १९२३ मा सम्पन्न सन्धिले नेपाललाई एक स्वतन्त्र र सार्वभौम सम्पन्न मुलुकको रुपमा स्थापित गरेको बताए । सन् १९९० पछि पढ्न र काम गर्न बेलायत आउने नेपालीहरुको संख्या बढेको र यसले गर्दा दुई देशबीचको सम्बन्ध विकेन्द्रिकृत बन्न पुगेको उनको निचोड थियो । लन्डन विश्वकै वित्तीय केन्द्र भएकाले प्रा. सुवेदीले नेपालमा लगानी भित्र्याउन ठूला ब्रिटिश कम्पनीहरुसम्म पहुंच पुरयाउन नेपाल सरकारले थप पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा डा. कृष्ण अधिकारीले लन्डनमा बसोबास गर्ने पहिलो नेपाली मोतिलाल सिंहबारे, डा. मारा मालागोडीले नेपालको संवैधानिक विकासबारे तथा सेवानिवृत्त कर्णेल जेरी बर्चले ब्रिटिश सेनामा गोर्खा भर्तीको इतिहासबारे बोलेका थिए । अन्तरक्रिया सञ्चालन अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डा. डेविड गेलनरले गरेका थिए ।
सोही अवसरमा ब्रिटिश चित्रकार स्टेफेन किङले नेपालको लाङटाङ क्षेत्रमा गएर खिचेका तस्वीरहरुको प्रदर्शनी गरेका थिए भने अस्मिता श्रीसको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।
नेपाल पत्रकार महासंघ बेलायत र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलले संयोजन गरेको उक्त कार्यक्रमको पहिलो चरण उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेका थिए ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय