सोमबार, कार्तिक १० २०७७ | Mon, October 26, 2020
नेपालको समय: २१:२५ | UK Time: 15:40

विश्वका तीस करोड बालबालिका बिषाक्त सास फेर्न बाध्य

वीनेपाली
२०७३ फागुन १४ गते ११:०५

काठमाण्डौं, १४ फागुन । हिजोआज विश्वका करिब तीस करोड बालबालिका तीब्र बिषाक्त स्थितिमा रहेको वायुमण्डलमा सास फेर्न बाध्य रहेको तथ्य संयुक्त राष्ट्र सङ्घीय वालवालिका कोष (युनिसेफ)ले हालै जनाएको छ ।

यस्तो बिषाक्त वायुले ती बालबालिकाको मुटु, मस्तिष्क र सामान्य शारीरिक विकासमा गम्भीर भौतिक क्षति पुगिरहेको समेत युनिसेफद्वारा हालै प्रकाशित एक अध्ययन प्रतिबेदनमा उल्लेख गरिएको छ ।

विश्वका सातजना बालबालिकामध्ये औसत करिब एकजनाले सास फेरेको हावा अन्तरराष्ट्रिय मापदण्डले तोकेको गुणस्तरभन्दा छ गुणा बढी फोहोरी वा प्रदूषित बिषाक्त वायु हुने गरेको छ । साथै, अत्यन्त प्रदूषित वायुमण्डल नै विश्व वाल मृत्युदर बढाउनमा समेत मुख्य कारक तत्व बनिरहेको पनि युनिसेफ उल्लेख गर्छ ।

मोरक्कोको आतिथ्यमा राजधानी रबातमा गतः नोभेम्बर ७ देखि १८ सम्म आयोजित विश्वब्यापी जलवायु सम्मेलनको बार्षीक वार्ताबैठक सम्पन्न भएको थियो । उक्त वार्ता सुरु हुनुभन्दा एक हप्ता पूर्व युनिसेफद्वारा प्रकाशित सो अध्ययन प्रतिबेदनलाई वार्ताका धेरै बिषय बस्तुमध्ये एक गम्भीर र प्रमुख बिषयका रुपमा प्रस्तुत गरी यस उपर लामो छलफल पनि भएको थियो ।

विश्वभरी बस्ने बालबालिकाको स्वास्थ्य, शिक्षा, पौस्टिक आहार र कल्याणको रक्षा, प्रबद्र्धन एवम् सुनिश्चितता गर्ने तथा विश्व बालअधिकारको पक्षमा वकालत गर्ने एकमात्र सर्वमान्य र ठूलो संस्था युनिसेफले विश्वका ठूला नेता तथा सरकार प्रमुखलाई आ–आफ्ना राष्ट्रका वायुमण्डलमा प्रदूषण शून्य गराउनेतर्फ गम्भीर ध्यान दिई यस विषयमा पहिले गरेका वचनबद्धता पूर्णकार्यान्वयनमा ल्याउन बारम्बार घचघच्याई रहेको छ ।

‘हरेक वर्ष विश्वका पाँच वर्ष मुनिका करिब छ लाख बालबालिकाको अकाल मृत्यु गराउने प्रमुख कारकतत्व नै वायुमण्डलको प्रदूषण हो र यही प्रदूषणले थप दशौं लाख ब्यक्तिको दैनिक जीविका र सुनौलो भबिष्यलाई समेत जोखिममा पारिरहेको छ’ युनिसेफका कार्यकारी निर्देशक एन्थोनि लेकको कथन छ ।

प्रदूषणकर्ताले जानाजानी वालवालिकाहरुका कलिला फोक्सोमा क्षति पुरयाइ रहेका मात्र छैनन् अपितु उनीहरुका मुटुदेखि मस्तिष्कसम्म रक्त सञ्चार हुने मूल प्रणालीमै आघात पारी मस्तिष्क विकासको क्रमलाई स्थायी हानी पुरयाउँदै यसको परिणाम स्वरुप उज्ज्वल भविष्यलाई नै चरम जोखिमयुक्त तुल्याइरहेका छन् । आज विश्वको कुनै पनि समाजले वायु प्रदूषणलाई केही होइन भनी वेवास्ता गर्ने स्थिति विल्कुलै नरहेको भन्ने टिप्पणी गर्छन् कार्यकारी निर्देशक लेक ।

त्यस्तै, भू–उपग्रहबाट खिँचिएको विश्व वायुमण्डलको वर्तमान फोटोचित्रबाट युनिसेफ चिन्तित छ । मानवलाई सास फेर्न आवश्यक पर्ने स्वच्छ वायुको, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको न्यूनतम गुणस्तरभन्दा निकै खराब स्तरको वायुमण्डलीय क्षितिज भित्र करिब सात अर्बको विश्व जनसङ्ख्यामध्ये लगभग दुई अर्ब बालबालिका बाँच्न विवस र बाध्य भएको युनिसेफ ठोकुवा गर्दछ ।

यस्ता क्षेत्रका वायुमण्डल क्षितिजलाई विषाक्त पार्ने मुख्यमुख्य तत्वहरुमा सवारी साधनले बिसर्जन गर्ने कार्बनयुक्त काला धुवाँ, पेट्रोलियम पदार्थजन्य बिभिन्न खाले इन्धन र उर्जा (फोस्सिल फ्युल), थरी थरीका कारखानाबाट उत्सर्जित धुवाँ तथा रासायनिक ग्यास, धूलोका कण, फोहोर मैला जलाउँदा निस्कने कार्बनयुक्त धुवाँ, बन जङ्गलमा लागेको डँढेलोबाट उत्पन्न हुने धुवाँको मूस्लो, सङ्ग्राममा प्रयोग गरिने हातहतियार र बिस्फोटक पदार्थ पड्काउँदा निस्कने रासायनिक ग्यास, खाना पकाउँदा बाल्न प्रयोग गरिने दाउरा, कोइला ईत्यादिबाट उत्सर्जित कार्बनयुक्त धुवाँ तथा हरितगृह ग्यास उत्सर्जनलगायत अन्य वायुमण्डल विनाशकारक तत्वहरु रहेका युनिसेफले जनाएको छ ।

श्वास प्रश्वासका दृष्टिले डब्लुएचओले तोकेको न्यूनतम गुणस्तरभन्दा निकै खराबस्तरको वायुमण्डलीय क्षितिजभित्र बसोबास गर्ने बालबालिकाको सङ्ख्या दक्षिण एसियाली क्षेत्रमा सबभन्दा ठूलो रहेको पनि उक्त अध्ययन प्रतिवेदनले औंल्याएको छ । विश्वका सम्पूर्ण बालबालिका सङ्ख्यामध्ये दक्षिण एसियाली क्षेत्रको सङ्ख्या ६२ करोड, अफ्रिकाली क्षेत्रको सङ्ख्या ५२ करोड र पूर्वी एसिया तथा प्रशान्त महा–सागरीय क्षेत्रको सङ्ख्या ४५ करोड रहेको छ ।

युनिसेफको अध्ययन प्रतिबेदनमा खाना पकाउन वा चोटा, कोठा तताउन घरभित्र बालिने कोइला, दाउरा, लिक्विड पेट्रोलियम ग्यास (एलपिजि), मट्टितेल वा डिजेलजस्ता इन्धनबाट बिसर्जन हुने वायु प्रदूषणको पनि छोटो चर्चा गरिएको छ । चाहे घर भित्रबाट बिसर्जित हुन् वा खुल्ला आकाशमुनिबाट उत्सर्जित, यी सबै प्रकारका प्रदूषणहरु सीधै श्वासप्रश्वास सम्बन्धि र निमोनिया रोगका प्रमुख श्रोत हुन् । पाँच वर्ष मुनिका प्रत्येक दश बालमृत्युमध्ये यिनै श्वास प्रश्वास सम्बन्धि र निमोनिया रोगबाट एक जनाको मृत्यु हुने गरेको तथ्य स्थापित भएको छ । तसर्थ, वायु प्रदूषण नै वालमृत्युको एक खतरनाक कारकतत्व सिद्ध भएको छ ।

ईश्वरको लीला वा अपरिहार्य प्राकृतिक गुण–यसलाई जे सुकै भनौं, स्वभाविक छः स्वास्थ्य वा रोग प्रतिरोध गर्न सक्ने क्षमताका हिसाबले बालबालिका बयस्कभन्दा अवश्य नै बढी संबेदनशील हुन्छन् । सानो आकारको फोक्सो, सानै आकारको मस्तिष्क, भर्खर भर्खरै मात्र बढ्दै गरेको रोग प्रतिरोधात्मक प्रणाली, बिस्तारै बिकसित भइरहेको श्वास प्रश्वास नली इत्यादि कारणले गर्दा घर भित्रको होस् खुल्ला आकाश मुनिको, उनीहरुमा प्रदूषणलाई पचाउने वा प्रतिरोध गर्न सक्ने क्षमता वा शक्ति ज्यादै न्यून हुन्छ । यस्तै, न्यून क्षमता वा अल्पशक्तियुक्त बालबालिका उपर वायु प्रदूषणको कडा प्रहार थपिन जाँदा कस्तो अवस्थामा उनिहरु बाँच्न विवश वा वाध्य पारिइने छन् त्यो हामी बयस्कले सोच्दा कसैको पनि आंग सिरिङ्ग नभइ रहन सक्दैन ।

अर्को कुरा, वायु प्रदूषणबाट सिर्जित बाल स्वास्थ्य विनाश नियन्त्रण गर्नमा ध्यान पुरयाउन नसक्नुमा गरिबीले पनि अहम् भूमिका निर्बाह गरिरहेको छ । गरिबीका कारण वाल स्वास्थ्य संरक्षणमा बेवास्ता हुन जाँदा धेरै वालवालिकाले अकाल मृत्यु वरण गर्नु परिरहेको पाइएको छ । जत्ति गरिबी, उत्ति नै उपचार र स्वास्थ्य सेवामा पहुँच हुन नसक्नुको कारण त्यस्ता बालबालिका बढी पीडित हुने गरेको पाइन्छ । यही कुरा बुझेर नै विश्व बालस्वास्थ्य संरक्षण र प्रबद्र्धनका लागि, जान्ने बुझ्ने सबै जागरुक हुनुपरयो, विश्वका बालबालिकाको संरक्षणका निमित्त वायु प्रदूषण शून्यमा झार्न, बालमृत्यु दर अति न्यूनतम अङ्कमा झार्न, संसारको कुनै पनि कुनाको स्वास्थ्य सेवामा वालवालिकाहरुको पनि समुचित पहुँच पुरयाउन क्रान्तिकारी उपाय अबलम्बन गर्नुपरयो भनी युनिसेफ एकोहोरो कराएको करायै छ ।

आशा गरौं, युनिसेफको घाँटी सुक्न नपाउँदै, उसको स्वर बस्न नपाउँदै, यस विश्वमा वायु प्रदूषण कम गरी बालबालिका बचाउ अभियानमा सहृदय अघि बढ्न कोही न कोही त अवश्य आउलान् ।

(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक