लन्डन । आफ्ना केन्द्रिय नेता लन्डन आएका बेला बेलायती कांग्रेसीले यहांको विवाद छताछुल्ल पारेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री तथा सभामुख रामचन्द्र पौडेललाई साक्षी राखेर बेलायत कांग्रेसहरुले आफ्नो विवाद मिलाइदिन आग्रह पनि गरे । कार्यक्रम वहिष्कार गर्नुपर्ने बताउंदै आएको विरोधी समूह भने त्यहां उपस्थित थिएन ।
नेपाली जनसम्पर्क समिति, बेलायतले सोमबार लन्डनस्थित रिगल स्पाइस रेष्टुरेन्टमा आयोजना गरेको कांग्रेस पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको पूण्यतिथी कार्यक्रममा समितिका सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए युरोप संयोजक कुल आचार्य, समाजसेवी डा. कपिल रिजाल, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, समितिका संस्थापक सभापति डा. पुरुषोत्तम पौडेल, भूपू सभापति विनोद मोक्तान, सल्लाहकार शिवजी श्रेष्ठ, विजन भटट्, केशबहादुर गुरुङ, शेरबहादुर सुनारलगायत दर्जन बढि वक्ताले बोलेका थिए । सहभागीले नेता पौडेलसंग समितिको विवाद र विभिन्न जिज्ञासा समेत राखेका थिए ।
अधिकांश वक्ताहरुले सन् २००९ देखि जनसम्पर्क समितिको अधिवेशन हुन नसकेको बताउंदै जनसम्पर्क समितिको काम नेपालबाट नेता आउंदा एयरपोर्ट गएर स्वागत र सम्मान गर्ने मात्र रहेको बताए । कतिपयले घर झगडा घरभित्रै मिलाउन सुझाव दिए । केही वक्ताले विभिन्न देशका समितिमा विवाद निम्त्याउन केन्द्रिय तहबाटै प्रमुख भूमिका निर्वाह भएको आरोप समेत लगाएका थिए ।
समाजसेवी डा. कपिल रिजालले आफू पहिलोपटक यस्तो कार्यक्रममा सहभागी भएको उल्लेख गर्दै संस्थाभित्रको विवाद नेतासमक्ष त्यसरी पोखिंदा लाज लागेको बताए ।
समितिका सभापति लोक गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा सल्लाहकार विश्वआदर्श पण्डितले नेता आउंदा मात्र पछि लागेर संगठन नबन्ने बताउंदै छिट्टै एकतामय समिति बनाउने वाचा गरे । एनआरएनए युरोप संयोजक कुल आचार्यले समितिको विवादतर्फ इंगित गर्दै एकले अर्कालाई सम्मान गर्ने परिपाटी नभएको धारणा राखे ।
पौडेलले विगतमा जापान, बेल्जियम लगायत देशमा रहेका समितिको विवाद आफू जांदा मिलाएर फर्कने तर अर्को केन्द्रिय नेता फेरि गएर आफ्ना मान्छे राखेर समिति बनाउंदा विवाद कहिल्यै साम्य नभएको दृष्टान्त समेत पेश गरेका थिए । नेता पौडेलले अधिवेशन नै विवाद समाधानको उपयुक्त विकल्प भएको सुझाउंदै निर्वाचन र विधान समितिमार्फत प्रक्रिया थाल्न आग्रह गरेपछि सभापति लोक गुरुङले भेलाबाटै निर्वाचन र विधान समिति बनाउन सैद्धान्तिक प्रस्ताव राखेका थिए । सभापतिले समितिको ‘डेडलक’ फुकाउन आफू सधैं तयार रहेको पनि बताए ।
यसैबीच, उक्त कार्यक्रमलाई सम्वोधन गर्दै नेता पौडेलले नेपालमा चुनाव नहुने आशंका बढेको बताएका छन् । पौडेलले मंसिरभित्र तीनवटा चुनाव गर्नुपर्नेमा अहिलेसम्म एउटै टुंगो नलागेको बताए ।
‘मधेशी मोर्चा संशोधन नगरि निर्वाचनमा भाग लिन्नौं भन्ने, एमाले संशोधन गर्नै नमान्ने अनि प्रधानमन्त्री प्रचण्ड मधेशीले नमानेसम्म म चुनाव घोषणा गर्दिन भन्ने अनि कसरी हुन्छ चुनाव’, उनको प्रतिप्रश्न थियो ।
नेपालको राजनीति अहिले माखेसाङलोमा अड्किएको बताउंदै नेता पौडेलले गुटबन्दीमा राजनीति गर्ने जमात बढिरहेको दाबी समेत गरे । ‘शान्तिका अग्रदूत बुद्धको देशमा द्वन्द्व र विखण्डन बढाउने काम भइरहेको छ’, पौडेलले भने, ‘कांग्रेसभित्रै ग्रयाण्ड डिजाइन बनिरहेकाले ति खलपात्रलाई चिन्न जरुरी छ ।’
डेनमार्कमा जनसम्पर्क समितिको अधिवेशन सकेर लन्डन आएका पौडेलले नेपालमा राजनीतिक अधिकार प्राप्तिपछि सबैले जनदायित्व एवं कर्तव्य भुलेको गुनासो पनि गरे । ‘देश बनाउने चिन्ता कसैलाई भएन’, उनले थपे, ‘अधिकार मात्र खोजियो । अहिलेको संविधानमा यति मौलिक अधिकारका कुरा लेखिएको छ कि त्यो संसारमै छैन् ।’
देशमा संघीयता, समावेशीता, गणतन्त्र र लोकतन्त्र जस्ता मुख्य उपलब्धि भइसकेपछि सानातिना बखेडा झिकेर झगडा मात्र नगर्न उनको आग्रह थियो ।
जनसम्पर्क समिति बेलायतको विवाद आफैं समाधान गर्न सुझाउंदै उनले बेलायतवासी नेपालीलाई राजनीतिक खिचातानी भन्दा स्वदेशको आर्थिक समृद्धि, सामाजिक विकास, कृषि क्रान्ति, प्रविधि र अनुभव हस्तान्तरणतर्फ सोच्न एवं पर्यटन तथा जलश्रोतमा लगानी गर्न आग्रह गरे ।
महामन्त्री राजकुमार त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा सहमहामन्त्री डा. मिन रानाभाटले स्वागत मन्तव्य र वरिष्ठ उपाध्यक्ष युवराज गुरुङले धन्यवाद मन्तव्य दिएका थिए ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय