काठमाडौँ, २३ माघ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण गर्न लागिएको छ ।
धादिङ तथा गोरखाका जिल्ला प्रशासन कार्यालयले मुआब्जा वितरणका लागि रु पाँच अर्ब ५० करोड प्राप्त भएको जनाएको छ । बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत मुआब्जा वितरणका लागि पहिलो चरणमा उक्त रकम प्रदान गर्न केही दिन पहिले अख्तियारी दिएको थियो ।
गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले रु दुई अर्ब २५ करोड रकम मुआब्जाका लागि प्राप्त भएको जानकारी दिँदै निवेदन दिएका प्रभावितलाई वितरणको अन्तिम तयारी गरिएको बताउनुभयो । गोरखाका घ्यालचोक, भुम्लीचोक, दर्बुङ गाविसका लागि पहिलो चरणमा मुआब्जा वितरणको प्रक्रिया सुरु गर्न लागिएको उहाँले बताउनुभयो ।
प्रजिअ बस्नेतले पाँच सयको हाराहारीमा मुआब्जा पाऊँ भनी प्रशासन कार्यालयमा निवेदन दर्ता भएको र ती निवेदनमाथि छानबिनको क्रम अन्तिममा पुगेकाले केही दिनभित्रै वितरण सुरु गरिने उल्लेख गर्नुभयो । तीन गाविसको करिब दुई हजार बढी प्रभावितले मुआब्जा लिनुपर्ने भए पनि कमैको मात्र निवेदन परेको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मुआब्जा वितरणका लागि रु दुई अर्ब ५० करोड प्राप्त भएको र निवेदन आउने क्रम पनि जारी रहेको बताउनुभयो । पहिलो चरणमा धादिङको सलाङ, मैदी र खरी गाविसका प्रभावितलाई मुआब्जा वितरण गर्ने तयारी गरिएको छ । करिब चार हजार रोपनी जमिनको मुआब्जा वितरणको प्रक्रिया अगाडि बढाउने आयोजनाको तयारी छ ।
गोरखा जिल्ला प्रशासन कार्यालयले गत मङ्सिर ११ गते विभिन्न ११ खण्डमा मुआब्जा वितरणको आधार तयार पारेको थियो । न्यूनतम रु पाँच लाख २५ हजारदेखि अधिकतम रु आठ लाख ३५ हजारसम्म मुआब्जा लिन पाउने गरी निर्णय गरिएको थियो ।
यस्तै धादिङ जिल्ला प्रशासन कार्यालयले पनि गत पुस १९ गते मुआब्जा वितरण मापदण्ड तय गरेको थियो । धादिङको खहरेबजार र गोरखाको आरुघाट बजारको मात्रै मुआब्जा निर्धारण गरिएको छैन । बजार क्षेत्र भएकाले ती दुई स्थानको केही समयपछि मात्रै मुआब्जा निर्धारण गरिने बूढीगण्डकी जलविद्युत् आयोजनाले जनाएको छ ।
आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतले मुआब्जा वितरणका लागि दुवै जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी गरेको जानकारी दिनुभयो । उहाँले चालु आवको बजेटअनुसार नै पहिलो चरणमा रु पाँच अर्ब ५० करोड रकम मुआब्जाका लागि पठाइएको बताउनुभयो । आयोजनाबाट धादिङ र गोरखाका २७ गाविस प्रभावित हुनेछ । कुल एक हजार दुई सय मेगावाट क्षमताको उक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका प्राविधिक काम भइसकेको छ ।
यस्तै आयोजनाका लागि नेपाल आयल निगमले भन्सार बिन्दुमा नै लगाएको पूर्वाधार शुल्कबाट हालसम्म रु तीन अर्ब ४० करोड रकम सरकारी खातामा जम्मा भइसकेको छ । आयोजनालाई सरकारले आफ्नै लगानीमा निर्माण गर्ने जनाएको छ । बूढीगण्डकी सरोकार समितिका अध्यक्ष हरेराम ढकालले भने मुआब्जा पुनरावलोकनका लागि आफूहरुले गृह मन्त्रालयमा निवेदन दिएको र त्यसको सुनुवाइ हुनुपर्ने बताउनुभयो ।
गृहमन्त्रालयले भने मुआब्जाका बारेमा के भएको हो र कसरी समस्याको निरुपण गर्न सकिन्छ भन्ने बारेमा राय पठाउन गोरखा जिल्ला प्रशासन कार्यालयलाई केही दिनपहिले पत्राचार गरेको छ । ऊर्जा मन्त्रालयले भने मुआब्जा वितरण गर्न संयोजक नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुरयाएको र चालु आवमा नै आयोजना सुरु गर्ने जनाएको छ ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान