गाम्बियाका राष्ट्रपतिद्वारा दश मन्त्री नियुक्त

बान्जुल, २० माघ । गाम्बियाका राष्ट्रपति आडामा ब्यारोले बुधबार दश जना मन्त्री नियुक्त गरी बिहीबार उनीहरुलाई सपथग्रहण गराउनुभएको छ ।

उहाँको अस्थाई कार्यालयका रुपमा रहेको कैराब होटलमा सपथग्रहण समारोह भएको थियो । उहाँ अझैपनि राष्ट्रपतिको कार्यालय जानुभएको छैन ।

राष्ट्रपतिको कार्यालय अझैसम्म पनि पश्चिम अफ्रिकी देशको आर्थिक समूह (इकोवास)का सेनाको नियन्त्रणमा रहेको छ । निवर्तमान राष्ट्रपति याह्य जमेहले कार्यालय त्यागेको केही समयपछि राष्ट्रपति कार्यालय उनीहरुले नियन्त्रणमा लिएका हुन् ।

“यो नयाँ गाम्बिया हो, गाम्बियाको वास्तविकता यो मन्त्रीपरिषद्मा झल्कीएको छ,” समारोहमा राष्ट्रपति ब्यारो भन्नुभयो ।

उहाँले सञ्चार तथा जनसम्पर्क निर्देशकमा अमै बोजाङ सिसोहोलाई नियुक्त गर्नुभएको छ ।

एक हप्ता अगाडि सेनेगलबाट फर्किएपछि उहाँले अहिलेसम्म १२ जनालाई नियुक्त गर्नुभएको छ ।

ब्यारोले सात ओटा राजनीतिक दल र एक जना स्वतन्त्र सांसद रहेका दल तथा सांसदसँग गठबन्धन बनाउनुभएको छ ।

अधिकांश पार्टीका नेतालाई गठबन्धन सरकारको मन्त्री बनाइएको छ । स्वतन्त्रता र समाजवादका लागि जनताको लोकतान्त्रिक सङ्गठन नामक पार्टीका नेता हालीफा साल्लाहलाई भने मन्त्री बनाइएको छैन । उहाँलाई पुनःब्यारोको प्रवक्ता बनाइएको छ ।

अहिले नियुक्त भएका मन्त्रीमा एक जना मात्रै महिला पर्नुभएको छ । महिला मन्त्री डा इसाटौ टौरीलाई व्यापार, उद्योग तथा रोजगार मन्त्रालयको जिम्मेबारी दिइएको छ ।

गाम्बियाका निवर्तमान राष्ट्रपति याह्या जामेहले करिब १० दिन अगाडि राजधानी बन्जुलबाट आफ्ना सरसामान, झोलितुम्बासहित गिनीको राजधानीतर्फ निर्वासनका लागि पलायन हुनुभएको थियो

गाम्बियामा सत्ता हस्तान्तरण सम्बन्धमा धेरै दिनसम्मको उतार–चढाव, खिँचातानी र झन्डै सुरु हुनलागेको रक्तपातपूर्ण विद्रोहपश्चात् पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनको मध्यस्थतामा निवर्तमान राष्ट्रपति जामेहले अन्ततोगत्वा सत्तामोह त्याग गर्नुभएको थियो ।

राष्ट्रपति जामेह सन् १९९४ को जुलाई महिनामा भएको रक्तपातपूर्ण सैनिक विद्रोहको माध्यमबाट शक्ति हातमा लिई जबर्जस्ती गाम्बियाको शासन सत्तामा आउनुभएको थियो ।

चारैतर्फबाट यसको विरोध भएको र पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनको दबाबपछि उहाँले देशमा देखावटी निर्वाचनको प्रणाली बसाल्नुभएको थियो ।

तर गत डिसेम्बरको राष्ट्रपतीय निर्वाचनमा प्रतिपक्षी दलका उम्मेदबार आडामा ब्यारोको अप्रत्याशित विजय हुनुभएको थियो ।

उहाँ सुरु सुरुमा उक्त निर्वाचन परिणाम स्वीकार गर्न तयार हुनुभएको थियो । तर, पछि गएर कसैको उक्साहटमा लागेर हो वा अन्य कुनै कारणवश, उहाँले निर्वाचन परिणाम स्वीकार गर्ने प्रजातान्त्रिक आचरण र संस्कार प्रदर्शन गर्नु सट्टा निर्वाचनमा धाँधली गरी आफूलाई हराइएको, आफूविरुद्ध षड्यन्त्र रचिएको जस्ता गैर जिम्मेवार र अनर्गल प्रलाप गर्न पट्टि लाग्नुभएको थियो ।

यता, नवनिर्वाचित विजेता राष्ट्रपति आडामा ब्यारो भने राष्ट्रपति जामेहले उत्पन्न गराउन सक्ने खतराबाट बच्न छिमेकी राष्ट्र सिनेगल पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री