गाम्बियाका पूर्वराष्ट्रपतिले देश छाडे

बन्जुल, ८ माघ । २२ वर्ष लामो शासन गरेका गाम्बियाका पूर्वराष्ट्रपति याहया जम्मेहले देश छाडेका छन् । उनले परिवारसहित शनिबार राती देश छाडेको समाचारहरुमा जनाइएको छ । उनी अहिले गिनीमा पुगेपनि उनले कहां राजनीतिक शरण लिने हुन् खुलेको छैन् ।

यसअघि जम्मेहले राष्ट्रपतीय शक्ति परित्याग गर्न तयार भएको बताएका थिए । पश्चिम अफ्रिकी देशहरुको समूहले शान्तिपूर्ण रुपले पद त्याग गर्न अन्तिम चेतावनी दिएको भोली पल्ट शनिबार जम्मेहले पद त्याग्ने घोषणा गरेका हुन् । “गाम्बियाका जनताको हित र राष्ट्रिय स्वार्थलाई ध्यानमा राख्दै मैले पद त्याग्ने निर्णय आज गरेको छु” उनले शनिबार सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै भने ।

सम्बोधनका क्रममा उनले थपे, “शान्तिपूर्ण तरिकाले नै हामीले समस्या समाधान गर्नेछौं, यहाँ एक थोपा पनि रगत बगाउनु आवश्यक छैन् ।” उनले पद त्याग गर्ने आफ्नो निर्णय कसैको दवावमा नगरेको दावी गर्दै गाम्बियाका जनता र प्यारो देशको सर्वोच्च हितका लागि त्यस्तो निर्णय गरेको बताए ।

सन् १९९४ देखि लगातार राष्ट्रपति भएका अनुभवी नेता जम्मेहले गत महिना भएको राष्ट्रपतिय निर्वाचनमा भएको पराजयलाई अस्वीकार गर्दै आएका थिए ।

मौरिटेनियन राष्ट्रपति मोहम्मद उल्ड अब्देल अजिज र गायनका राष्ट्रपति अल्फा कोण्डेको मध्यस्थतामा बन्जुलमा भएको वार्तापछि जम्मेहले पद त्याग्ने घोषणा गरेका हुन् । जम्मेहले पद त्याग गर्ने घोषणालाई मौरिटेनियन राष्ट्रपति अजिजले गाम्बियाका लागि हिंसाविरुद्धको विजय भएको बताएका छन् ।

पश्चिम अफ्रिकी देशहरुको समूह इकोवासले शुक्रबारसम्म शान्तिपूर्ण रुपले पद त्याग गर्न अन्तिम अल्टिमेटम दिँदै नटेरेमा जबर्जस्ती हटाउने चेतावनी दिएको थियो ।

गत महिनाको राष्ट्रपतीय निर्वाचनमा विजयी भएका अदाम बर्रोले आफ्नै देशमा शपथ लिन नपाएपछि बिहीबार सेनेगलको राजधानी डाकारस्थित गाम्बियाको दूतावासमा शपथ लिएका थिए । शपथ लिएपछि पहिलोपटक राष्ट्रपतिका रूपमा सम्बोधन गर्दै बर्रोले आफूलाई निर्वा्चित गरेकामा जनतालाई धन्यवाद दिंदै राष्ट्रिय एकताका लागि आह्वान गरे ।

गत डिसेम्बरमा भएको निर्वाचन मतपरिणामलाई पूर्वराष्ट्रपति जम्मेहले एक हप्तापछि अस्विकार गर्दै निर्वाचनमा धाँधली भएको आरोप लगाएका थिए । उनले मतपरिणाम अस्विकार गर्दै आए पनि संयुक्त राष्ट्रसङ्घ, इकोवास लगायत अन्तर्रा्ष्ट्रिय निकायबाट चर्को दबाब परेपछि शनिबार पद त्याग्ने घोषणा गर्न बाध्य भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री