बुधबार, कार्तिक १२ २०७७ | Wed, October 28, 2020
नेपालको समय: ०५:११ | UK Time: 23:26

जीवन दर्शन र परदेश मोहमा बोन्स्री 

वीनेपाली
२०७३ पुष २५ गते १२:४०

आचार्य

हालै प्रकाशित उपन्यास बोन्स्रीमा साहित्यकार बलदेव मजगैयाँले नेपाली समाजको वर्तमान परिवेशको चित्रण सहित जीबन दर्शनको धेरै कुरा उजागार गरेका छन् । आफ्नै जीवनको अनेक उतारचढाव, अनुभव तथा अध्ययनले खारिएर आफ्नो छुटै छवी बनाएका लेखकको यस उपन्यासले जीवनका धेरै आयाम रोमान्चकारी तथा ज्ञानवर्धक किसिमले पस्केको छ ।

पूर्वीय दर्शनमा क्षमाको महत्व तथा सत्व, रज, तम गुणको महिमा, आफनो स्वयम् कर्मको निरिक्षण आदिमा आध्यात्मिक आखाँले नियाले सन्तुष्टको कुरा र जीवनको उद्धेश्य आदिबारे लेखकको कलमले गहिरो ज्ञानको अभिव्यक्ति गरेको छ ।

उपन्यासको अर्को भागले नेपालको सामाजिक परिवर्तनमा पहिलो र दोस्रो पिंढीबीच विद्यमान रहेको चिन्तनको खाडल तथा देशमा अवसरको अभाव र राजनीतिक अस्थिरताको कारणले विदेशिने युवाको कथा यथार्थ रुपमा वर्णन गरेको छ । नेपालीहरु अधिकांसको विदेश पलायनको प्रमुख कारण गरिबी नै हो, चाहे त्यो आर्थिक, शैक्षिक या अरु कुनै । एउटा नेपाली युवाले पराइ भूमिमा आफ्ना सपना पुरा गर्न के कस्ता बाधा, अड्चन, उतारचढाव भोग्नुपर्छ, अर्काको संस्कार र बुझाइलाई आत्मसात गर्दा आइपर्ने झमेलाले कसरी विवश पार्दोरहेछ , सफलता तथा असफलताको दृस्टान्त र कहानीलाई उपन्यासले सटिक तबरले केलाएको छ ।

परदेशको बसाइमा के कस्तो परिवेशको सामना गर्नु पर्ने हुन्छ, कति अकल्पनीय तगाराहरु आगाडी आउंछन्, मिलन र बिछोडले जीवनको यथार्थतालाई बुझ्न कसरी कर लाग्दो रहेछ आदिबारे पनि उपन्यासले धेरै कुरा बताएको छ । परदेशमा सहि संगत, लगनशीलता तथा इमान्दारिताले सफलताको सगरमाथा पनि चुमेका छन् भने कतिका सपनाको संसार चकनाचुर भएको कुरा पनि यसमा बुझ्न सकिन्छ ।

सन्तानको अर्थ आफ्नो रगतको निरन्तरता भन्ने हो । अर्को शब्दमा सन्तानलाई उतराधिकारी भनेर पनि बुझिन्छ, जसको अर्थ आफ्नो वंशज तथा यसको धर्म, परम्परा, संकृतिको मूल्य र मान्यतालाई हमेसा बुझी यसको सधै आत्मसात गर्न सक्षम हुनु र पछिल्लो पिढीलाई पनि यसको महत्व बुझाउन सक्ने भन्ने हुन्छ । यसैले हाम्रो समाजमा सन्तानको चाहना महिमा धेरै छ ।

उपन्यासको मूल पात्रहरु जीबन र पूजा सन्तानको लागि चाहाना राखेको धेरै समयपछि छोरो बिबेक जन्मन्छ । आफ्नो उमेर ढल्कदै गएको बेला भएपनि आफ्नो सन्ततिको जन्मले उनीहरुमा अपार आनन्द आउंछ । तर, बिबेकले नेपालमा आफ्नो भविष्य कुनै देख्दैन, बाबुआमाको चाहना बिपरित नै प्लस टुको पढाइ पछि विदेश हानिन्छ । बिदेशमा अनेक अड्चनहरु आइपर्छन् । यसै बिचमा उसको बोन्श्री नाम गरेको थाई मुलकी केटीसंग विवेकको भेट हुन्छ । उसंगको सामिप्यता बढ्दै गएपछि अरु उपाय न्यून भएपछि बिबेक बोन्स्रीको फ्ल्याटमा कोठा भाडामा लिन पुग्छ । बोन्स्रीसंगको भेट र सम्बन्धको शुरुवात चाहि अलि नाटकीय लाग्नेछ ।

आफ्नी आमाको देहान्तको खबर पनि भिसाको कारणले नेपाल जान नसकी आमासंग सदाको बिछोड पनि उसले पचाउन बाध्य हुनुपर्छ । धेरै नेपालीको परदेशी जीवन भोगाइको वास्तविक परिवेश यस उपन्यासले उजागार गरेको छ । आफ्नो ज्यान नै जोखिममा राखेर मोटो रकम दलाललाइ खुवाएर अलपत्र परेका थुप्रै नेपालीका व्यथाहरु झलक्क मन र मस्तिष्कमा आइपुग्छ । अनेक बेदना र दुखको आँसु पिएर बिदेशमा स्थायीत्वको लागि तड्पेका थुप्रै नेपालीहरुको कथालाई लेखकले राम्ररी छोएका छन् ।

समयले बेग हान्दै जादा यता बोन्स्रीसंग विवेकको बिबाह भइ दुवै व्यवसायमा हात हाल्छ भने उता नेपालमा उसको पिताले आफ्नो जीवनको उत्तरार्धमा आध्यात्मिक चिन्तनले धेरै मुखरित हुदै गुरुको सल्लाह अनुरुप छोरा विवेकको अंश राखी बाँकी सम्पत्ति गुरुकुलमा दान दिन्छन् । बाबु र छोराको बिचमा शुरु देखि नै रहेको दुई पिढीको चिन्तनको समस्या आफ्नी स्वयम् आमाको मुत्युमा पनि नआएको भनि बाबुको बुझाइले बिबेकसंगको सम्बन्धमा अरु चिसो आउछ । बाबुले आफ्नो छोराको वास्तविक परिबेशमा अनभिज्ञ जनाउछन् ।

ब्यापारले खुट्टा टेकेको अवस्था र बोन्स्रीसंग बिहे गरकोले आफ्नो भिसा मिलेपछि दुवै जना नेपाल घुम्न जान्छन । आफ्नो घरमा टेकेको बेलामा नै  बिना भेटघाट आफ्नो बाबुको देहावसान हुन्छ । बाबुआमाको सालिक गुरुकुलमा खडा गरेर विवेक आफ्नो होलिडे सकिए पछि पुनः फर्किन्छ ।

उपन्यासको पात्र विवेक र म आफू स्वयम् पढाइको लागि परदेश हिडेको करिब एकै उमेर भएकोले उसको विदेशको मनोदशा, सोचाइ, परिवेश धेरै कुरा म आफै स्वयम्ले भोगेको सत्यता जस्तो भइ नोस्टाल्जिक बनाउन सफल हुनु लेखकको विशिष्ट कला हो भन्ने मैले ठानेको छु । विवेकको मात्र नभएर भविष्यलाई खोकिलामा राखेर आफ्नो तथा परिवारको सुमधुर भविष्यको चाहना राखी देश बाहिर काम गरेर पढ्ने सबै नेपालीको साझा कहानी हो भन्दा अत्युक्ति नहोला ।

जीवनको उद्देश्य, महत्व अनि कर्मको बारेमा सामान्यतया मानिसलाई आध्यात्मिक चेत जीवनको अन्त स्पर्शको अनुभूति देख्न थालेपछि बढी हुन्छ । अहिलेको आधुनिक समयमा  भौतिक विकासको उन्नति जति चरम रुपले हुदैछ, त्यति नै मान्छेमा अशान्ति, विचलन र बेखुशीले नै धेरै गाँजिरहेको रहेको देख्न सकिन्छ । त्यसैले आध्यात्मिक ज्ञान तथा जीवनको उद्देश्य शुरुमा नै अरु थाह भए मानिसको जीबन अरु सहज र शान्ति मिल्न सक्छ भन्ने तात्पर्य पनि लगाउन सकिन्छ ।

उपन्यासमा लेखकले गीतमा आफ्नो ज्ञानको प्रस्तुति गर्दै “मनुष्य आफ्नो अन्त कालमा जुन भावलाई सम्मान गर्दै देह त्याग गर्दछ, उसलाई त्यहि भाब प्राप्त हुन्छ” भनेर अर्जुनलाई कृष्ण भनेका कुरा स्मरण गराएका छन् । जीबनमा प्रबृत्ति भन्दा निबृति उत्तम हो । तामसी र राजसी कर्महरु अनि सात्विक कर्महरुलाई पनि त्याग्दै जाने प्रक्रियाबाट नै हामी निस्त्रैगुण्य बन्दै जाने हो भन्ने कुरा बताएका छन् ।

आफ्ना कुरा सन्ततिले नबुझेको या बुझ्न नचाहेको ठान्ने तथा आफ्नो परिवेश र बाध्यता बाबुआमाले ग्रहण गर्न नसकेको, सामाजिक बिचलन आएको, आफ्नो परम्परा तथा धरोहरको महत्वमा कमिको आभास आदि कुरा हालैको बर्षमा नेपाली समाजले देख्दै आएको छ ।

बिदेशमा बस्नको लागि बिबेकले बोन्स्रीसंग बिबाह गर्नु पर्ने भयो । व्यवसायमा पनि सफल गर्ने लक्षणहरु प्रसस्त देखिएको छ । बोन्स्रीको आफ्नो पीडादायी इतिहास बाबजुद पनि विवेकलाई अपार माया गर्छे । प्रेम र भाइचाराको एक अनुपम उपमा यिनीले प्रस्तुत गरिकी छिन । तर, जति सफलताको शिखर चढे पनि विवेकले आफ्नो बाबुआमा गुमायो, देशबाट टाढा हुनपर्यो, अर्काको देशमा मान्छेको भिडमा पहिचानको लागी आक्रान्त हुनपर्ने  बास्तविकताले उसको मन र मस्तिष्कमा नोस्टाल्जिक सम्झनाले हरदम बल्झिरहने सक्ने तथ्यलाई पनि मनन गर्नु नै छ ।

पहिलो पुस्ताका बिदेशमा बस्ने नेपालीको जीबन हमेसा स्वदेशको मायाले तानि ह्रदयमा केहि हराएको तथा गुमाएको अनुभब गरि जन्मभूमि र कर्मभूमिको मायाको दोसाँधमा नै जकडिएको यथार्थ देख्न सकिन्छ । पहिलो आफू परदेशमा टेक्न ठूलो परिश्रम गर्नुपर्ने, दोश्रो नेपालमा आफ्ना घर परिवारको सपनालाई पुरा गर्न प्रयास गर्नु, तेस्रो परदेशमा नै स्थायीत्व भएपछि बढी याँहाको न्यूनतम आवश्यता परिपूर्ति गर्न नै सारा समय खटिनुपर्ने गरी तीन चरणको संघर्षको साझा कहानी नै प्रायको हुने गरेको तथ्य छदैछ ।

कथाको माधुर्यतामा रसोस्वदान गर्दा गर्दै एक्कासी सकिएको जस्तो लाग्छ, अरु तन्किएको भए ज्ञानको सागरमा डुबुल्की मार्ने अरु पाइनेथियो भन्ने लोभ चाहि लागि रहन्छ ।

यस्तो सुन्दर कृति लेख्ने साहित्यकार मजगैयाँलाई बधाईको र निरन्तरताको कामना गर्दै  स्नेहपूर्वक यस उपन्यास उपलब्ध गराइदिनु भएकोमा मित्र भगिरथ योगीलाई सहृदय धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक