दक्षिण कोरियामा बिग्रंदो पारिवारिक स्थिति

south_korea_8046682

सिओल, २० पुस । दक्षिण कोरियाको राजधानी सहर सिओलमा कार्यरत एकजना ४० वर्षीया जो चो दुई दशकदेखि एक्लो जीवन बाँचिरहेकी छिन् । उनी पारिवारिक जिम्मेवारीको बोझबाट मुक्त रहेको र पेशागत करिअरलाई निरन्तर अघि बढाएको बताउँछिन् ।

कहिलेकाँहि, विदेश यात्रामा निस्कँदा साथीसँगीको साथ नपाउँदा दुखित हुन्छिन्, तर उनी बन्धनमुक्त जीवनशैलीबाट सन्तुष्ट छिन् । उनको विचारमा विवाहपछि यो सन्तुष्टी हराउँछ – किनभने उनका धेरै साथीहरु काममा र शिशुस्याहारमा अल्झिएका छन् ।

“साँचो कुरा के भने मेरा धेरै साथीहरु बालबच्चा हुर्काउनेजस्तो चुनौतीपूर्ण कामले थिचिएका छन्, र केहीले त घरायासी कामले जागिरबाटै राजीनामा दिएका छन्,” चोले बताइन् । “मेरा साथीहरुको तुलनामा मैले बढी स्वतन्त्र जीवन बिताउन सक्षम भएकी छु, र यसमा म खुशी छु ।”

दक्षिण कोरियामा चो एकजना प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्ता धेरै कोरियालीले आजभोलि एक्लो जीवन बिताउन थालेका छन् । यसका पछिल्तिर धेरै कारण छन्ः आर्थिक कठिनाई, सम्बन्ध बिच्छेद तथा पति वा पत्नीको आकस्मिक मृत्यु ।

कोरियाली तथ्याङ्क ब्यूरोको पछिल्लो विवरण अनुसार गत वर्षसम्म एकल रुपमा बस्ने व्यक्ति (परिवार) को संख्या ५२ लाख पुगेको छ, र यो संख्या देशभरका १ करोड ९१ लाख घरपरिवारको २७.२ प्रतिशत हो । सन् १९९० को तुलनामा यो ९ प्रतिशतको वृद्धि हो ।

उमेरका आधारमा, कूल एकल परिवारको १८.३ प्रतिशत ३० वर्ष उमेरको हाराहारीका छन् भने ७० वर्ष वा सोभन्दा बढी उमेरका १७.५ प्रतिशत तथा २० वर्षको हाराहारी उमेरका १७ प्रतिशत छन् ।

तीस वर्षको समूहमा रहेका एकल परिवार जोन किम पनि हुन् । सिओलको दक्षिणी नगर सुओनमा कार्यरत किम एक दशकदेखि एउटा घरमा एक्लै बस्छन् । उनी विश्वविद्यालयमा भर्ना भएसँगै बाबुआमासँग अलग्गिएर त्यहाँ बस्न थालेका हुन् । किमका लागि आफ्नै किसिमको स्वतन्त्र जीवन प्राप्त छ र समय तथा पैसा पूर्ण रुपमा आफ्नै लागि खर्चिने गरेका छन् ।

“अरुका कुरालाई लिएर तपाईंले आफूलाई बदल्नु पर्दैन,” उनले भने, “तपाईंले जहाँ, जहिले पनि धुमपान गर्न सक्नुहुन्छ, कुनै पनि बखत सुत्न सक्नुहुन्छ र आफूखुशी पैसा खर्च गर्न पाउनुहुन्छ ।”

तर यस्तो मनमौजी जीवनशैलीका पनि आफ्नै किसिमका समस्या छन् । “हो, तपाईं एक्लो हुनुहुन्छ भने सबैभन्दा ठूलो दुर्गुण नै समयसमयमा तपाईंले एक्लोपनको महसुस गर्नुपर्ने हुन्छ,” किम भन्छन् । “अर्को नकारात्मक पक्ष, केही नराम्रो भयो जस्तै बिरामी हुँदा तपाईंलाई हेरचाह गर्ने कोही हुँदैन ।”

एकल परिवार संख्याको लगातार बढ्दो स्थितिले खाना खाने ठाउँहरु, बारहरु, कफीसपहरुमा एकल व्यक्तिहरुको संख्या बढेको देखिएको छ । स्थानीय रेस्टुराँ लान्चेस्टर एफएन्डबी कम्पनीले सिओल र अन्य सहरहरुमा १६ वटा रेस्टुराँ सञ्चालन गरिरहेको छ जसले एकल व्यक्तिका लागि रात्रिकालीन खानाको विशेष प्रबन्ध गर्दछ ।

“यी प्रत्येक रेस्टुराँमा हामीले ठूलो बार स्थापना गरेका छौं जहाँ प्रत्येक एकल ग्राहकले आरामसँग बस्न र खाना लिन सक्छ । हामीले के पनि सुनिश्चित गरेका छौं भने एकअर्को सिटबीच निकै फराकिलो ठाउँ छाडिएको र त्यसबाट कोहीपनि ग्राहकलाई समस्या हुँदैन,” लान्चेस्टरका उपाध्यक्ष पार्क जिओन–ऊक बताउँछन् ।

सिओलमै एकल व्यक्तिहरुलाई लक्षित गरी बढीभन्दा बढी मदिरा पसल (पब) हरु खुल्न थालेका छन् । दुई वर्षअघि मध्य सिओलको होन्गीक विश्वविद्यालय नजिकै ली साङ–हूनले एटलान्टिस नामको पब खोलेका थिए । यो पबले एकल ग्राहकहरुका लागि कफी, बियर र अन्य मदिराजन्य पेयपदार्थ बिक्री गर्दछ ।

“मैले आफैं यो क्याफे–पबको आन्तरिक साजसज्जा गरेको हुँ । कुनै ग्राहक एक्लै यहाँ आए पनि कुनै किसिमको अप्ठ्यारो अनुभव गर्नु नपरोस् भन्नेमा विशेष ध्यान दिइएको छ,” लीले भने, “म उनीहरुको साथी हुने कोसिस गर्दछु र घरकै वातावरण यहाँ उपलब्ध गराउने प्रयत्नमा छु ।”

एकल व्यक्ति परिवारको वृद्धिलाई ध्यानमा राखी डोङ्बु डेऊ इलेक्ट्रोनिक्स कर्पोरेसनले रेफ्रिजेरेटर, वासिङ मेसिन र माइक्रोवेभ ओभन समेतका साना घरेलु उपकरणहरुको उत्पादनलाई तीव्रता दिएको छ । “आफ्नो आर्थिक क्षमताका आधारमा एकल जीवन बाँच्न चाहनेहरुको संख्या बढेसँगै घरयासी उपकरणहरुको बजार वृद्धि भएको छ,” डेऊका प्रवक्ता ग्वोन डाई–हून बताउँछन् ।

व्यापारिक व्यक्तिहरुका लागि, एकल व्यक्तिहरुले व्यापारिक अवसरहरु पनि सिर्जना गरिदिएका छन् । तर केही अध्येताहरुको विचारमा यो निकै संवेदनशील र सरोकारको विषय हो । उनीहरु यसले मुलुकमा जनसांख्यिक चुनौतीहरु निम्त्याउँछ, खासगरी न्यून जन्मदरलाई यसले बढावा दिनेछ । कोरियाको हाल जन्मदर १.२ को हाराहारीमा छ, र सन् २००५ मा यो दर सबैभन्दा न्यून १.०८ रहेको थियो ।

“वयस्क व्यक्तिहरुले विवाह गर्न नरुचाउनाले मुलुकको प्रजनन दरमा असर पर्नेछ, र यसले ठूलो सामाजिक समस्या निम्त्याउनेछ,” कोरियाली स्वास्थ्य तथा सामाजिक मामिला इन्स्टिच्यूटका एसोसिएट अनुसन्धान फेलो ली साङ–लिमले बताए । “दीर्घकालीन दृष्टिकोणबाट विचार गर्दा, यी एकल व्यक्तिहरु विस्तारै बुढ्यौलीमा प्रवेश गर्नेछन्, र उनीहरुकै लागि सामाजिक कल्याण लागतमा वृद्धि हुनेछ ।”

उनको विचारमा सरकारले बढ्दो हाउजिङ लागत र अस्थिर रोजगारीका कारण सिर्जित समस्यामा ध्यान दिनुका साथै विवाहसँग सम्बन्धित सरोकारलाई न्यून गर्न विस्तृत, दीर्घकालीन नीतिहरु ल्याउनेतर्फ तत्कालै आवश्यक कदमहरु चाल्नु पर्दछ ।
(योन्हाप न्यूज एजेन्सी, रासस । अनुवादः सोमनाथ लामिछाने)

प्रतिक्रिया

सम्बन्धित सामाग्री