बेलायतमा ‘नेपाल हाउस’ बनाउन जुट्यो सिंगो नेपाली समुदाय

15724752_1754513584869354_4319453636503858502_o

लन्डन । एनआरएनए यूकेको महत्वाकांक्षी प्रोजेक्ट ‘नेपाल हाउस’ निर्माणमा समस्त बेलायतवासी नेपाली जुटेका छन् । एनआरएनए यूकेले नेपाल हाउस निर्माणका लागि आर्थिक सहयोग जुटाउन सोमबार सांझ अल्डरसटमा गरेको च्यारिटी डिनरमा एकै दिन एक लाख १२ हजार दुई सय ३० पाउण्ड, ५५ पेन्सको प्रतिवद्धता आएको छ ।

च्यारिटीपछि एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठले उक्त रकमको प्रतिवद्धता आएको जानकारी दिएका हुन् । एनआरएनए यूकेले नेपाल हाउसकै लागि गरेको यो दोश्रो च्यारिटी हो । यसअघि एकलाख ५१ हजार पाउण्ड हाराहारीको प्रतिवद्धता आइसकेको थियो ।

बेलायतवासी सबै नेपालीको साझा घर (कम्युनिटी सेन्टर) का रुपमा निर्माण गर्न लागिएको नेपाल हाउसको कुल अनुमानित लागत २ मिलियन पाउण्ड 
(बीस लाख पाउण्ड) छ । तर, संघले पहिलो चरणमा जग्गा खरिद गरि 
प्लानिङ परमिसन लिएर बिस्तारै भवन बनाउने लक्ष्य लिएको छ ।

15724643_1754512831536096_6396972145573157573_o

एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी माननीय सांसद कृष्ण भक्त पोखरेल, विशेष अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी, अतिथीहरु एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक सूर्य गुरुङ लगायतले नेपाल हाउसको महत्व र आवश्यकताबारे चर्चा गरेका थिए । वक्ताहरुले नेपालको पहिचान दिलाउने यस्तो घर निर्माणमा सबैको सहयोग आवश्यक 
रहेको औंल्याए । उनीहरुले बेलायतमा हाल करिब डेढ लाख नेपाली रहेकामा सबैले आफ्नो गच्छे अनुसार सहयोग गरे प्रोजेक्ट चुनौतीपूर्ण भएपनि सम्भव रहेको धारणा राखेका थिए ।

पहिलो चरणको कार्यक्रम एनआरएनए यूके महासचिव विजयविक्रम लिंग्देनले सञ्चालन गरेका थिए । संरक्षक सूर्य गुरुङले नेपाल हाउसमै केन्द्रित कविता वाचन गरेपछि साझा घर किन आवश्यक छ भन्नेबारे प्रष्ट्याएका थिए । उनले नेपाल हाउसले नेपाली कला, संस्कृति र परम्परा जीवन्त राख्ने मात्र नभइ दोश्रो पुस्तालाई मातृभूमिसंगै जोडिराख्ने पनि उल्लेख गरे ।

15732064_1754511948202851_8980346971079852963_o

नेपाल हाउसका टेक्निकल डिरेक्टर इन्जिनियर राजेश पाठकले प्रोजेक्टबारे प्रिजेन्टेसन दिएका थिए । पाठकले नेपाल हाउसमा गोर्खा संग्रहालय, ६ सय जना अट्ने सम्मेलन कक्ष, २ सय कार क्षमताको पार्किङ, सोभिनर सप, सूचना केन्द्र, संघको कार्यालय आदि समावेश हुने जानकारी दिए । पाठकले एकै चोटी भवन निर्माण कार्य सम्भव नभएकाले शुरुमा जग्गा खरिद गरेर प्लानिङ परमिसन लिइ कन्फेरेन्स हल निर्माण गर्न सकिने बताउंदै हलको लागत एक मिलियन पाउण्ड हाराहारी हुने जनाए । ०१७ को मार्चसम्म जग्गा खरिद गर्ने, ०१७ अन्त्यसम्म प्लानिङ परमिसन लिइ ०१८ बाट निर्माण कार्य थालेर २०२० मा नेपाल हाउस उद्घाटन गर्ने लक्ष्य रहेको पाठकले अवगत गराएका थिए ।

दोश्रो चरणको कार्यक्रम सञ्चालन गर्दै आइसीसी सदस्य संगिता मरहट्ठाले सहभागीलाई आर्थिक सहयोगका लागि प्रेरित गरेकी थिइन् ।

कार्यक्रममा संघका अध्यक्ष, प्रमुख अतिथी, अतिथी, आइसीसी सल्लाहकारहरु लगायतले संस्थाको मुखपत्र एनआरएन भ्वाइस विमोचन समेत गरे । कार्यक्रममा उक्त पत्रिकाका प्रधान सम्पादक खुशी लिम्बुले पत्रिका प्रकाशनको अनुभवबारे संक्षिप्त प्रकाश पार्दै सम्पादन मण्डल, लेखक, विज्ञापनदाता सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरण, एनआरएनए आइसीसी सल्लाहकारहरु मेजर (रि.) डमर घले, विश्वआदर्श पण्डित, डा. हेमराज शर्मा, एनआरएनए यूके पूर्व अध्यक्षहरु योगेन्द्र क्षेत्री, महेन्द्र कंडेल, बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिसहित सयौं सहभागी थिए । कार्यक्रममा मिस यूके नेपाल २०१६ टेनिसा राना र सयपत्री कल्चरल ग्रुपले विभिन्न नृत्य देखाएका थिए ।

एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठले दाताहरुलाई प्रतिवद्धता बमोजिमको रकम निम्न बैंक खातामा यथाशक्य छिटो डिपोजिट गरिदिन पनि आग्रह गरेका छन् ।

सहयोग जम्मा गर्ने बैंक विवरण:
NRNA UK
A/C- 50757760
Sort Code- 309988
Lloyds Bank
गैर-आवासीय नेपाली संघ यूके

15776735_1754513664869346_9154219035923407463_o

तस्विरहरुः शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री