बान कि मुनले दक्षिण कोरियाली राष्ट्रपतिमा उम्मेदवारी दिने

Ban-Ki-moon

सोल, ११ पुस । पदावधि समाप्त भएर संयुक्त राष्ट्र सङ्घबाट आगामी वर्षको सुरुवातदेखि बिदावादी लिन लाग्नुभएका वर्तमान महासचिब बान कि मुन निकट भविष्यमै हुन गइरहेको दक्षिण कोरियाली राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारीमा लाग्नुभएको छ ।

संयुक्त राष्ट्र सङ्घमा लगातार दुई पटक गरी दश वर्षसम्म सफलतापूर्वक महासचिव पदको भूमिका निर्वाह गर्नुभएका मुनले दक्षिण कोरियाली राष्ट्र तथा राज्यप्रमुख पदमा सजिलै विजयी हुने अनुमान स्थानीय सर्वेक्षणहरुले देखाएका छन् ।

सोलको बहुचर्चित स्थानीय एक सर्वेक्षण संस्थाः रियल मिटरले गत १९ देखि २३ डिसेम्बरसम्म देशभरिका विभिन्न समुदायका दुईहजार पाँचसय २८ जना मतदाता माझ सञ्चालन गरेको एउटा सर्वेक्षणमा अधिकतम अर्थात् २३ दशमलब ३ प्रतिशत बानले हासिल गर्नुभयो ।

यो अङ्क यसको एक हप्ताअघि सोही संस्थाले गरेको सर्वेक्षणमा प्राप्त अङ्कभन्दा २ दशमलब ८ प्रतिशतले बढेको पनि जनाइएको छ ।

गतः डिसेम्बर– ९ मा दक्षिण कोरियाली संंसद्ले महाअभियोग प्रस्ताव पारित गरेपछि सत्ताबाट आंशिक बेइज्जतिपूर्वक बाहिरिनै लाग्नुभएकी दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन हाईको गृहजिल्ला वा सत्तारुढ साएनुरी पार्टीको पकेट भोट क्षेत्रः उत्तरी ग्योङ्गसाङग प्रान्तबाट बानलाई अधिकतम समर्थन प्राप्त भएको तथ्य सो सर्वेक्षणको चाखलाग्दो पक्ष रहेको जनाइएको छ ।

बानको पक्षमा देशभरीको समग्र औसतमा २३ दशमलब ३ प्रतिशत अङ्क प्राप्त भएकोमा उत्तरी ग्योङ्गसाङग प्रान्तको मात्र अङ्क छुट्ट्याउँदा ३५ दशमलब ८ प्रतिशत रहेको र यो अङ्क अघिल्लो सर्वेक्षणमा प्राप्त अङ्कभन्दा ९ दशमलब ३ प्रतिशतले बढेको छ ।

निवर्तमान राष्ट्रपति पार्क गेयुन हाईपछि राष्ट्रपति पदमा उम्मेदवारी दिन लायक नेताको खडेरी परेपछि बान कि मुननै सत्तारुढ साएनुरी पार्टीका मतदाताका अन्तिम आशाको केन्द्रविन्दुमा रहनुभएको पनि जनाइएको छ ।

सो पछिल्लो जनमत सर्वेक्षणमा दक्षिण कोरियाली अन्य चर्चित नेतामध्ये संसद्मा सबैभन्दा ठूलो विपक्षी दल – मिञ्जो पार्टीका नेता मुन जाए–इनले २३ दशमलब १ प्रतिशत, मिञ्जो पार्टीकै अर्का नेता ली जाए–म्युङ्गले १२ दशमलब ३ प्रतिशत, संसद्को अर्को विपक्षी दल – पिपुल्स पार्टीका नेता आङ् चिओल– सूले ८ दशमलब २ प्रतिशत अङ्क हासिल गर्नुभएको छ ।

मिञ्जो पार्टीका नेता मुन जाए–इनले आगामी निर्वाचनमा राष्ट्रपतीय पदका लागि विजयी हुने भनी यस अघिको जनमत सर्वेक्षणले ठम्याएकोमा दक्षिण कोरियाली उच्च राजनीतिमा बान कि मुनको पुनरागमनपछि भने मुन जाए–इनको स्थिति स्वाट्टै तल झरेको पनि जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री