लन्डन स्टक मार्केटमा देखियो उत्साह

london_stock_exchange_reclad_3

लन्डन । विगत केहि दिन देखि लन्डन स्टक मार्केटको अंक सात हजार भन्दा बढिले नाघेको छ । इयू बहिर्गमनपछि बेलायती अर्थतन्त्रमा भइरहेको उतारचढाव र अस्थिरताबीच यस हप्ता लन्डन स्टक मार्केटमा उत्साह थपिएको हो । ठूला १०० कम्पनीको सेयर 
अंकले सात हजारको घेरा नाघेपछि मनोवैज्ञानिक हिसाबले लगानीकर्तामा अरु उत्साह आउने गरेको विश्लेषकहरुले बताउंदै आएका छन् ।

६ ट्रिलियन (६ हजार अरब) पाउन्ड भन्दा बढि जम्मा सेयर मूल्य 
रहेको लन्डन स्टक मार्केट अमेरिकाको डाओ जोन र नास्डाक पछि संसारको तेश्रो ठूलो मार्केट मानिन्छ । यहां औसत दिनमा करिब ६ अरब पाउन्ड मुल्यको सेयर कारोबार हुनेगर्छ । यसमा ६० भन्दा बढी मुलुकका तीनहजार भन्दा बढी कम्पनी सूचीवद्ध छन् ।

परम्परागत रुपमा डिसेम्बरमा स्टक मार्केटको अंक बढ्ने गरेको देखिन्छ । क्रिसमसमा केटाकेटीहरुलाई उपहार लिएर आउने फादर क्रिसमसलाई ‘सान्टा क्लाउज’ भनेर नामाकरण भए अनुरुप क्रिसमस महिनामा बढ्ने स्टक मार्केट वृद्धिलाई फाइनान्स क्षेत्रमा ‘सान्टा र्याली’ भनेर उपनाम दिइन्छ ।

युरोपियन केन्द्रिय बैंकले कायम गरेको मौद्रिक उत्साह कार्यक्रम 
निरन्तर, इटालीको अस्थिर राजनीतिक अवस्था भएपनि नियन्त्रित प्रतिक्रिया र अमेरिकामा डोनाल्ड ट्रम्पको कर र खर्च नीतिले पनि 
स्टक मार्केट बढ्न सहयोग गरेको विश्लेषकहरुको बुझाइ छ । त्यसैगरी अमेरिकाको स्टक मार्केट वाल स्ट्रिट पनि अहिले सम्मकै रेकर्ड अंकले बढेको छ ।

डिसेम्बरमा सान्टा र्यालीले कसरी स्टक मार्केटको अंक बढाउंछ भन्नेबारे अर्थ व्यवस्थापनका जानकार लन्डनस्थित विकलचन्द्र आचार्यले भने, ‘खासगरी चाडपर्वको उल्लास र मौसमी सद्भावनाका साथै अरु तत्वहरु जस्तै वर्षको अन्तिममा फन्ड म्यानेजरहरुले आफ्नो विभागको हिसाबकिताब मिलाउंदा यो बढ्न जान्छ । यसै समयमा बैंक, वित्तीय संस्था लगायत अन्य व्यवसायमा काम गर्नेले मोटो रकम बोनस पाउंछन् । धेरैले उक्त रकम स्टक मार्केटमा नै लगानी गर्नाले पनि अंक बढ्न सहयोग गर्छ ।’

हालै अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको अनपेक्षित विजयले लगानीकर्तामा अमेरिकी अर्थतन्त्रप्रति नयां उत्साह आएकाले 
पनि स्टक मार्केट अंक बढ्न सफल भएको आचार्यले टिप्पणी गरे ।

बेलायत इयूबाट बहिर्गमन (ब्रेक्जिट) पछि पाउन्ड स्टर्र्र्लिङको भाउमा आएको भारी गिरावटले बेलायतको विदेशस्थित कम्पनीहरुको कमाइ पाउन्डमा रुपान्तरण गर्दा बढेकाले स्टक मार्केट बढ्न सहयोग पुगेको छ । कमजोर पाउन्ड बेलायती स्टकका लागि खराब समाचार भएपनि लन्डन स्टक मार्केटमा भएका ठूला १०० कम्पनीको करिव ७० प्रतिशत बिक्रीको कारोबार बेलायत बाहिर हुन्छ । त्यसैले गत अक्टोबरमा पाउन्डको विनिमय दर अमेरिकी डलरसंग ३१ वर्षकै तल झरेपछि लन्डन स्टक मार्केटको ठूला १०० कम्पनीको 
अंक ७१२९ को रेकर्डमा पुगेको थियो ।

सन् २०१६ को जनवरीमा नै लन्डन स्टक मार्केटको ठूला १०० कम्पनीको अंक भने तीन वर्षकै कम ५५०० अंकबाट शुरुवात भएको थियो । तर, सन् १९८४ देखि प्रत्येक डिसेम्बर महिनामा औसत २ दशमलव तीन प्रतिशतले बढ्दै आएको छ । सान्टा र्याली भनेर पहिलोचोटी सन् १९७२ मा याल हिर्च भने व्यक्तिले स्टक 
मार्केटको जानकारी दिन प्रयोग गरेका थिए । क्रिसमस र नयां वर्षको छुट्टीको बीचमा पर्ने समयमा स्टकको मुल्य वृद्धिलाई जनाउन यो शब्द प्रयोग गरिएको थियो ।

सन् १८०१ मा आधुनिक लन्डन स्टक मार्केटको स्थापना गरिएपनि यसको इतिहास सन् १५७१ मा रानी एलिजावेथ प्रथमले रोयल एक्सचेन्ज भनेर उद्घाटन गरे पछि नै शुरु भएको ठानिन्छ ।

स्टक मार्केट बढेपछि सुनको भाउ प्राय घट्ने गर्छ । सेयर बजारमा अस्थिरता आएपछि लगानीकर्ताले सुनलाई सुरक्षित लगानी ठान्ने हुनाले सुनको भाउ बढ्ने हुन्छ । सन् २००८ को आर्थिक मन्दीपछि बैंक अफ इंग्ल्यान्डले ब्याजदर निकै कम गरि लगानीलाई अरु उत्प्रेरित गर्ने कदम चाल्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री