लन्डन । बेलायतस्थित नेपाली महिलालाई सशक्त बनाउन रातदिन जुटिरहेकी छन् उनी । यहांका नेपाली महिला सशक्तिकरणका लागि सन् २०१४ मा स्थापित नेपलिज वुमन एसोसिएसनकी अध्यक्ष हुन् आरती श्रेष्ठ । काम र परिवारिक रेखदेखको वाध्यताबीच समाजसेवा र उनी एक अर्काका पर्याय हुन् । २७ वर्ष यता बेलायत कर्मथलो बनाएकी आरती श्रेष्ठलाई नचिन्ने नेपाली समुदायमा कमै होलान् । नेपाली भन्दा बढि बेलायतीसंग निकट रहेर उनले मातृभूमिका लागि च्यारिटी गरिरहेकी छिन् ।
इलिङ क्षेत्रमा स्थायी बसोवास भएपनि उनको मन, मस्तिष्क नेपालतिरै छ । भूकम्प होस् वा प्राकृतिक विपत्ति । आर्थिक सहयोग जुटाउन अग्रसर भइहाल्छिन् आरती । उनको नेपलिज वुमन एसोसिएसनले भूकम्प पीडितलाई आफ्नै खाता र चन्दादाताबाट संकलित ६ हजार पाउण्ड पठायो । एसोसिएसनले आगामी १० डिसेम्बरमा अटिजम केयर नेपालको सहयोगार्थ लन्डनमा च्यारिटी गर्दैछ । कफी मर्निङ होस् वा तीज कार्यक्रम । संकलित रकम च्यारिटीमै खर्चिरहेको छ
एसोसिएसनले ।
हरेक जाडो मौसममा नेपाल गएर कीर्तिपुरवासी गरिब बालबालिकालाई न्यानो कपडा बांड्छिन् उनी । अवकास प्राप्त वृद्धवृद्धालाई बी एण्ड बी अस्पतालमा निशुल्क स्वास्थोपचारको चांजोपांजो मिलाइदिने काम पनि उनको जिम्मामा छ । नेपालमा पुस्तकालय खोलिदिएकी छन् ।
श्रेष्ठका लागि समाजसेवा गर्ने माध्यम बनेका छन् उनी आवद्ध विभिन्न सामाजिक संघसंस्था । नेपलिज क्याटरिङ एसोसिएसन यूके उपाध्यक्ष, यती नेपलिज एसोसिएसन यूके सल्लाहकार, ब्रिटेन नेपाल सोसाइटी कार्यकारी सदस्य हुन् आरती । ‘बेलायत आइसकेपछि राम्रो कुरा सिकेर देशका लागि पनि केही गरौं न भन्ने लाग्छ’, उनी भन्छिन्, ‘देशप्रति कसलाई माया नहोला, मिलेर गरौं धेरै काम गर्न सकिन्छ ।’
उनका पति रत्न शंकर श्रेष्ठ (आर एस) तत्कालिन आरएनएसीमा सिनियर अपरेसन डिरेक्टर र इन्सट्रक्टर पाइलट थिए । आर एसले पनि आरतीको समाजसेवामा साथ दिएका छन् । परिवारको सपोर्ट नहुंदो हो त उनी हरेक ठाउंमा अगाडि बढ्न कदापी सक्थिनन् ।
बाबा डाक्टर थिए, भैरहवाका खान्दानी । घरमा हात्ती, घोडा पालिन्थ्यो । आरतीलाई बाल्यावस्थामा अभाव कहिल्यै भएन । १३ वर्षमै एसएलसी पास भएपछि आरती काठमाण्डौं आइन् उच्च शिक्षा लिन । होस्टेल बस्दा चाहिं उनले धेरै संघर्ष गर्नु पर्यो । दाईहरुले पैसा नपठाएपछि अमेरिकी पिस कोरमा जागिर गर्न थालेको उनले सम्झिइन् । ३ वर्ष कमलादी होस्टेलमा बिताएपछि बिहे भएको प्रसंग आउंदा उनी अलिक भावुक भइन् । श्रीमान् नेवार, आफू क्षेत्री । त्यतिबेला अन्तरजातीय बिहे धेरै गार्हो थियो समाज र परिवारमा । धेरै जोखिम मोलेर बिहे गरेपछि पाइलट श्रीमानसंग बेलायत आएकी थिइन् उनी । बेलायत टेक्ने बित्तिकै आम मानिसले झेल्ने सास्ती उनले पनि भोगिन् । नेपाली ज्यादै कम थिए त्यस ताका । बेलायत आएर अध्यागमन, नेशनल हेल्थ सर्भिस (एनएचएस) मा नेपाली, हिन्दी र बंगाली भाषामा अनुवादको काम गरिन् उनले । यतैको समाज र हावापानीमा घुलमिल भएपछि उनलाई पछाडि फर्केर हेर्नु परेन ।
नेपाल छंदा आरतीले अमेरिकन पिस कोर्पसमा लामो समय काम गरिन् । काठमान्डूस्थित अमेरिकी र ब्रिटिश दूतावासमा कुटनीतिज्ञहरुलाई नेपाली भाषा पढाउने काम समेत गरिन् । उनले १८ वर्ष अफिसियल ट्रान्सलेटर (अनुवादक) को जिम्मेवारी पनि सम्हालिन् ।
बेलायतमा रेष्टुरेन्ट व्यवसाय पनि चलाएकी छिन् उनले । हिमालयन स्पाइस रेष्टुरेन्ट मार्फत नेपाली खाना र नेपालको पर्यटन प्रवर्धन गर्न सानै भएपनि भूमिका निर्वाह गरेको उनी स्मरण गर्छिन् । उनको प्रोपर्टी बिजनेश छ लन्डनमा, चारवटा घर छन् । नेपालमा कोलम्बस कलेज छ, अब होटल खोल्ने योजना छ । देशमै केही रोजगारी सृजना गरौं भनेर नेपालमा व्यवसायमा शुरु गर्न लागेको उनले जनाइन् ।
एक छोरा, एक छोरी र चार नाति नातिनीकी अभिभावक उनी अझैं सक्रिय र तन्दुरुस्त छन् । पारिवारिक साथ, पतिको मार्गदर्शन र सकारात्मक सोचले काम गर्न जोस जांगर बढेको उनी बताउंछिन् ।
उनको बानेश्वर नजिक शंखमुल मार्गमा १० कोठाको घर छ चार रोपनी जग्गामा फैलिएको । बांसबारीको आलिसान घर भाडामा छ । यसले पुष्टि हुन्छ आरतीलाई नपुग्ने केही छैन् । त्यो अथाह सम्पत्तिकी हकदार आरती बांकी जीवन अरुलाई दिएर, ख्वाएर ‘पिस अफ माइन्ड’ मा व्यतित गर्ने मनस्थितिमा छन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी