शनिबार, कार्तिक १५ २०७७ | Sat, October 31, 2020
नेपालको समय: ०६:५४ | UK Time: 01:09

खस्कंदो पाउन्ड र अवमुल्यनको इतिहास

वीनेपाली
२०७३ कार्तिक १२ गते २२:४९
आचार्य

आचार्य

अस्थिरता, स्पष्ट आर्थिक नीति तथा मार्गचित्रको अभावले देशको मुद्राको विनिमय दरमा ठूलो असर गर्दछ । यहि परिप्रेक्ष्यमा इयुबाट बेलायत बहिर्गमन के कस्तो शर्तमा हुने तथा यसपछि बेलायतको अर्थतन्त्रमा कति असर पर्ने हो भन्ने सन्त्रासको माझमा पाउन्ड स्टर्लिंगको भाउमा निकै गिरावट आएको छ । ब्यवसायलाई अस्थिरताले पिरल्छ, जसको कारणले निर्यात, लगानी र जम्मा वृद्धिलाई असर गर्छ, जसले पाउण्डको भाउ कमजोर बनाउछ ।

आयात र निर्यात गरि करिब ५० प्रतिशत ब्यापार गर्ने बेलायतले इयुको कमन मार्केटमा रहिरहने या छोड्डा कस्तो ब्यापार तथा आर्थिक नीति अबलम्बन गर्ने हो भन्नेले अर्थ ब्यबस्थापनमा ठूलो महत्व राख्दछ । हाल स्टर्लिंग कमजोर हुनु भनेको लगानीकर्ताहरु माझ बेलायतले युरोपियन युनियन छोडेपछि अर्थतन्त्रमा पर्न सक्ने प्रभावको एकिन नहुनु नै प्रमुख कारण मान्न सकिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा कमजोर पाउन्डको कारणले आयातित सामानको मुल्य वृद्धि हुन्छ । पेट्रोलियम लगायत अरु सामानको भाउ बढेपछि यसले समग्र मुल्यमा असर गर्छ । लगातार सामानको भाउ बढेपछि मुद्रास्फिती अहिले बेलायती सरकाले राखेको २ प्रतिशत लक्ष भन्दा बढी रहन सक्छ । अर्को अर्थमा पाउन्डको क्रयशक्ति कमजोर हुन्छ र आम्दानी त्यहि अनुपातमा नबढेपछि जीबनस्तरमा असर गर्छ । उच्च मुद्रास्फितीले समग्र अर्थतन्त्रमा प्रतिकुल प्रभाव पार्दछ । तर, कमजोर पाउन्डको फाइदा सामान निर्यात गर्दा बेलायती सामानको मूल्य कम हुने, बिदेशी पर्यटकलाई सस्तो पर्ने हुने गर्छ ।

विनिमय दर, मुद्रास्फिती र ब्याजदर

ब्याजदर र मुद्रास्फितीपछि विनिमय दरले देशको आर्थिक हैसियतको निर्णय गर्न महत्वपूर्ण भूमिका खेल्दछ । विनिमय दरले देशको ब्यापारको लेभलमा प्रभावकारी कार्य गर्छ । अझ खुला बजार अर्थतन्त्र अंगालेको देशको लागि यसले ठूलो असर पार्छ । त्यसैले विनिमय दरलाइ धेरै निगरानी गर्ने, बिश्लेषण गर्ने र सरकारले आफु अनुकुल पार्न गर्ने गरि आर्थिक अवस्था नाप्ने पनि गरिन्छ ।

मुद्रास्फिती र ब्याजदरको सन्तुलन गर्न प्रयास गरिन्छ । तर, यी दुबैको सम्बन्ध जटिल र प्राय ब्यबस्थापन गर्न गाह्रो हुन्छ । उच्च ब्याजदरले बिदेशी लगानी आकर्षण गर्छ, जसले गर्दा देशको मुद्राको माग बढी हुन्छ । तर, उच्च ब्याजदर प्राय मुद्रास्फिर्तीको कारण बन्छ । फलस्वरुप देशको मुद्रामा नकारात्मक प्रभाब पार्छ । कम ब्याजदरले उपभोक्ताको खर्च गर्न र आर्थिक वृद्धि गर्न प्रोत्साहित गर्छ र मुद्राको मुल्यमा साधारणतया सकारात्मक असर पार्छ ।

जब बैंक अफ इंग्ल्यान्डले ब्याजदरमा परिबर्तन गर्छ, यसको मतलब अर्थतन्त्रमा माग र आपूर्तिमा बराबर प्रभाब पार्न खोज्नु हो । यस्तो प्रभावको परिणामले बैंकले टार्गेट गरेको दुई प्रतिशत मुद्रास्फिती सधै रहन सक्छ भन्ने हो । जब सामान र सेवाको माग आपूर्ति भन्दा बढी हुन्छ, तब मुद्रास्फिर्ती बढ्छ । अर्को तर्फ भने जब माग भन्दा आपूर्ति बढी हुन्छ, तब मूल्यस्फ्रिर्ती कम हुन्छ ।

उच्च विनिमय दरले देशको निर्यात अरु महँगो हुन्छ भने बिदेशी बजारमा निर्यात सस्तो हुन्छ । कमजोर मुद्राले देशको निर्यात सस्तो र बिदेशी बजारमा आयात महँगो हुन्छ । उच्च विनिमय दरले देशको ब्यापार सन्तुलन कम राख्ने र  कम विनिमय दरले बढाउने आशा गरिन्छ ।

विनिमय दर निर्धारण गर्ने तत्वहरु 

धेरै कुराहरुले विनिमय दरको निर्क्योल गर्छ र दुई देशहरु बिच हुने ब्यापार सम्बन्धसंग सरोकार रहन्छ । विनिमय दर सापेक्षिक हुन्छ र दुई देशहरुको तुलनाको रुपमा प्रस्तुत हुन्छ । खासमा विनिमय दरलाई प्रभाब पार्ने तत्वहरु मुद्रास्फिती, ब्याजदर, वर्तमानमा ब्यापारको सन्तुलन, सार्बजनिक ऋण, व्यापारको शर्त, राजनीतिक स्थायीत्व तथा आर्थिक प्रदर्शन आदिले पार्दछ ।

साधारण नियममा जहाँ लगातार कम मुद्रास्फिती हुन्छ, त्यस देशमा मुद्राको मूल्य बढी रहन्छ किनभने यसको क्रयशक्ति अरु मुद्राको तुलनामा उच्च रहन्छ ।

ब्याजदर, मुद्रास्फिती र विनिमय दरको एक आपसमा अन्तरसम्बन्ध छ । ब्याजदर परिबर्तनले मुद्रास्फिती र विनिमय दर दुबैलाई प्रभाब पार्छ ।

बिदेशी लगानीकर्ताहरुले जुन देश स्थायीत्व भइ राम्रो आर्थिक अबस्था रहन्छ, त्यहाँ आफ्नो पुंजी लगानी गर्दछन् । राजनीतिक अस्थिरता तथा अग्रगामी नेतृत्व भएन भने मुद्रामा बिश्वासको कमि आउनाको कारण बन्छ । जसले गर्दा पुंजी स्थायी मुद्रा भएको देश तर्फ जान्छ ।

मुद्राको विनिमय दरले थोक लगानीको लाभांस निर्धारण गर्दछ । कमजोर हुदै गरेको विनिमय दरले लाभांसबाट पाउने आम्दानि र पुँजीको प्राप्तिको क्रय शक्ति कम हुन्छ ।

विनिमय दरको निर्धारण गर्ने अनेक तत्वहरु भएपनि लगानीकर्ताहरुलाई आफ्नो लगानीको प्रतिफल कति आउछ भनेर बुझि त्यहि अनुरुप पुँजीको परिचालन गर्न सक्छन् ।

विनिमय दरलाई आधारभूत माग र आपूर्तिको तत्वहरुले निर्धारण गर्दछ । उदाहरणको लागि यदि बेलायती सामानहरुको माग बढी भयो भने यसले पाउन्ड स्टर्लिंगको मूल्य बढाउछ ।

त्यस्तै उच्च ब्याजदरले पनि मुद्राको विनिमय बढी हुने गर्छ किनकी उच्च ब्याजदरले संचित गरिएको देशमा बढी आम्दानी दिन्छ । त्यसैले लगानीकर्ताहरुले प्राय आफ्नो संचित रकम उच्च ब्याजदर भएको देशमा लैजान चाहन्छन् । तर, उच्च ब्याजदरले ऋण महँगो हुनुको साथै लगानी गर्न उत्प्रेरित गर्दैन । त्यसैले सन्तुलन राखि ब्याजदर निर्धारण गर्नुपर्छ । सन् २००८ को आर्थिक मन्दी पछि लगानीलाई अरु उत्साहित पार्न ब्याजदर युरोप तथा अमेरिकामा निकै नै कम पारिएको छ ।

जानाजान विनिमय दर घटबढले कुल आर्थिक वातावरण प्रभाव पार्नेलाई एक आर्थिक  नीतिको किसिम मानिन्छ । विनिमय दर बिदेशी विनिमय बजारमा किनेर या बेचेर  विनिमय दरलाइ आफ्नो अनुकुल बनाउन पनि सकिन्छ । पाउन्डको मूल्य बढाउन बैंक अफ इंग्ल्यान्डले पाउन्ड किन्छ, यसको बिपरित पाउन्डको मुल्य कम गर्नको लागि पाउन्ड बेच्छ ।

पाउन्ड स्टर्लिंगको इतिहास हेर्दा 

बेलायती पाउन्डको इतिहास करिब १२०० वर्ष पुरानो छ । जब एंन्ग्लो स्याक्सनको अधिराज्यमा सन् ७७५ तिर स्टर्लिंग या चादीको पैसाहरु नै मुख्य मुद्रा थियो ।

सन् १६९४ मा राजा विलियम तेश्रोले फ्रान्ससंग लडाई गर्ने क्रममा बैंक अफ इंग्ल्यान्डको स्थापना गरेका थिए । यद्यपि सुनारहरुले सुन जम्मा गरेबापत बैंकको नोटको शुरुवात सोह्रौं शताब्दि देखि गरेपनि इतिहासमा बैंक नोट निकाल्ने पहिलो केन्द्रिय बैंक नै  बैंक अफ इंग्ल्यान्ड हो । सन् १७२५ देखि केहि भागमा प्रिन्ट गर्न थालिए पनि पहिलाको बैंक नोट हातले लेखिएको हुन्थ्यो ।

औद्योगिक क्रान्तिको कारणबाट संसारको सबैभन्दा ठुलो अर्थतन्त्र भएको बेलायतलाई सन् १८७२ मा अमेरिकाले उछिनेको थियो ।

पहिलो बिश्व युद्दपछि सन् १९२५ मा ४.८६ पाउन्ड बराबर १ डलर थियो । तर, पाउन्डको मूल्य दस प्रतिशतले बढाईएको थियो । यस विनिमय दर अठारौं शताब्दिका बैज्ञानिक सर आइज्याक न्युटनले गरेका थिए, जुन स्वयम् मुद्राको अनुमान गर्न खप्पिस थिए ।

पहिलो बिश्वयुद्दपछि बढ्दो कामदारको असन्तोष, अप्रजातान्त्रिक आर्थिक लक्ष, पाउन्डको उच्च मुल्यले बेलायती अर्थतन्त्रमा प्रभाब पार्यो । सन् १९२५ पछि लगातार आर्थिक अस्थिरताले बेलायती अर्थतन्त्र गाजिरह्यो ।

सन् १९४४ मा ब्रेंन्टन उड कन्फरेन्समा अन्तर्राष्ट्रिय ब्यापारमा पाउन्ड स्टरर्लिंगको सट्टामा अमेरिकन डलरको जीत भयो । सयुक्त राष्ट्रसंघको मौद्रिक र आर्थिक यो कन्फरेन्समा ४४ देशका ७३० प्रतिनिधि अमेरिकाको न्युहाम्सायेरमा भाग लिएका थिए र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइ याम अफ) को स्थापना गर्ने सहमति भएको थियो । यस सम्मेलनको सहमतिमा पाउन्ड र डलरलाइ आरक्षित मुद्राको रुपमा परिभाषित गरिएको थियो । तर, पाउण्ड आरक्षित मुद्राको रुपमा लोकप्रिय हुन सकेन । बेलायतका आफनै पुर्ब साम्राज्यहरुमा पाउन्डको अबमुल्यन हुने भन्ने हावा फैलियो । यिनीहरु मुख्य पाउन्डमा व्यापारको साझेदारी थिए । तर, बेलायतले पाउन्डको आपूर्ति गर्न नै सकेन । यी देशहरु आफ्नो उपभोग्य सामानको लागि अमेरिकी डलर प्रयोग गर्न थाले ।

पाउन्डको अबमुल्यन 

पाउन्ड पहिलोपटक १८ सेप्टेम्बर १९४९ मा तीस प्रतिशतले अबमुल्यन गरियो । दोस्रो बिश्वयुद्दपछि धेरै ऋणको फर्छ्यौट गर्न बेलायतलाई धेरै गाह्रो भयो । अमेरिकाको उधारो र ऋणले अरु पिरल्यो । जसको फलस्वरुप पाउन्ड कमजोर भइ मुल्यमा अबनती भएको स्पष्ट भयो । बेलायतका बैंकहरुले पनि डलर चाहने अवस्था आयो । यस्तो अबस्थामा निर्यात कम भएपछि उत्पादन पनि कम भयो । उता अमेरिकामा भने धेरै आर्थिक वृद्धि हुन थाल्यो । यसै पृष्ठभूमिमा सन् १९६७ मा पुन: पाउन्डको अबमुल्यन १४.३ प्रतिशतले गरियो ।

सन् १९७१ मा अमेरिकी राष्ट्रपति निक्सनले भियतनाम युद्दले गरेको हानीलाई मध्यनजर गर्दै डलरको अबमुल्यन गरे, जसले चलायमान विनिमय दरको ढोका खोल्यो र दोस्रो बिश्वयुद्द पछिको स्थिरता समाप्त भयो ।

सन् १९७६ मा पहिलो चोटी पाउन्ड स्टर्लिंग दुई डलर भन्दा कम भएपछि बेलायती सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइ याम एफ) मा ऋणको लागि  पुग्यो । त्यसबेलामा आइ याम एफको सहमति बेलायतले अपमानजनक ठानेपनि यसको ऋणले पाउन्डको मूल्य बढ्यो ।

युरोपियन एक्चेन्ज रेट मेकानिजम भनि युरोपियन मुद्रामा स्थायित्व ल्याउन सन् १९७९ मा स्थापना गरियो । तर, यसमा बेलायत बस्न अस्वीकार गर्यो । बिभिन्न राजनीतिक र आर्थिक कारणबाट सन् १९९० मा यस मेकानिजममा बेलायत सामेल भयो ।

डलरको बढ्दो मुल्यले धेरै केन्द्रिय बैंकहरुले सन् १९८७ मा  यसको मुल्य रोक्न कदम चाले । फेब्रुअरी १९८७ मा पेरिसमा अन्तर्राष्ट्रिय मुद्रा बजारमा स्थायीत्व ल्याउने हेतुले प्रभावशाली राष्ट्रहरुले सहमति जनाएका थिए, जसलाई लुभ्र एकर्ड भनिन्छ ।

जर्मनीको आर्थिक नीति लगायत अरु बिबिध कारणले १७ सेप्टेम्बर १९९२ मा बेलायतले एक्चेन्ज रेट मेकानिजम भन्ने युरोपियन युनियनको विनिमयबाट अलग हुने घोषणा गर्दै पाउन्डको अबमुल्यन गरिएको थियो । जसलाई ब्ल्याक ओइनस्डे (बुधबार) को नामले परिचित छ । यस कदमबाट त्यसबेला बेलायती अर्थतन्त्रमा प्रतिकुल असर परेपनि यसले पाउन्डको मुल्यमा स्थायित्व करिब २००८ को आर्थिक मन्दीसम्म ल्याउन सफल भएको थियो ।

पाउन्ड अरु कमजोर होला ?

इयुबाट बहिर्गमनको स्पष्ट मार्गचित्र नहुन्जेल बेलायती अर्थतन्त्रले अरु कठोर परिवेशको सामना गर्नुपर्ने लक्षणहरु छन् । तर, आर्थिक जग बलियो भएको बेलायतमा केहि समयपछि स्थिरता आउने नै छ । कति समय लाग्ने हो, त्यो इयु बहिर्गमनको सम्झौता र यसपछि आर्थिक नीति तथा नेतृत्वले अग्रगामी भूमिका खेल्ने छ ।

यहि अन्योलको बिचमा चाहि पाउन्डको भाउ अरु कमजोर भएमा आश्चर्य मान्नु पर्दैन । इतिहासको कालखण्डमा धेरैपटक परिक्षण गरि खारिएको पाउण्ड स्टर्लिंगको मुल्यको अस्थायी अस्थिरता केहि समयमा हट्ने नै छ । यस बिचमा भने मुद्रास्फिर्तीले अरु पिरोल्न सक्छ ।

धेरै बिदेशी ठुला कम्पनको सेयर भएको हुनाले पाउन्डको भाउमा गिरावट आएपछि लन्डन स्टक मार्केटको ठूलो १०० कम्पनीको सेयर अंक बढ्छ । यी ठूला कम्पनीहरुले बेलायतबाहिर कमाएको नाफाको मूल्य पाउन्ड स्टर्लिंग कमजोर भएपछि अरु बढ्छ । सेयर मार्केट बढेपछि सुनको भाउ कम हुनेपनि प्राय हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक