
गोरखा, ६ कात्तिक । गोरखाको पुरानो रेडियो, ‘रेडियो गोरखा ९२.८ मेगाहर्ज’ मा क्रियाशील रेडियोकर्मी ८७ वर्षीय नेत्रमणि शर्मा आचार्यको आज निधन भएको छ ।
रेडियोमा नियमित बज्ने धार्मिक कार्यक्रमका प्रस्तोता गोरखा नगरपालिका–५ हिलेपोखरीका आचार्यको आज (शनिबार) काठमाडौँमा निधन भएको हो ।
राजधानीको प्रदशर्नीमार्गस्थित मानविकी क्याम्पसमा आयोजित नियमित मासिक साहित्यिक श्रृङ्खला ‘साहित्य सन्ध्या’ मा कविता वाचन गरेपछि अर्धचेत (बेहोस) हुनुभएका आचार्यको मोडल अस्पतालमा उपचारका क्रममा आज निधन भएको उहाँका नाति सञ्जय अधिकारीले जानकारी दिनुभयो ।
‘झल्को लाग्छ कुन्नी किन हो मलाई त्यो १७, १८ वर्षको’ शब्द रहेको छन्दले भरिएको कविता सुनाएपछि बेञ्चमा बस्नुभएका आचार्य बेहोस भई ढलेपछि आयोजकको सक्रियतामा उपचारका लागि अस्पताल पुरयाइएको थियो । कविता वाचन गर्न मञ्चमा पुग्दा हँसिलो र ताजा देखिएका आचार्य कविता वाचनपछि एक्कासी ढलेको बताइएको छ । उहाँको निधन के कारणले भएको भन्नेबारे जानकारीमा आइनसकेको पारिवारिक स्रोतले जनाएको छ ।
आचार्यले ‘रेडियो गोरखा’मा दिनहुँ धार्मिक कार्यक्रम प्रस्तुत गर्दै आउनुभएको थियो । आचार्य बिरामी श्रीमतीको उपचारका लागि केही समयदेखि काठमाडौँमा रहँदै आउनुभएको थियो । आचार्यले रेडियोका साथै गोरखाको पहिलो दैनिक ‘दरौँदी’ दैनिकमा पनि साप्ताहिकरुपमा धार्मिक लेख, कविता प्रकाशित गर्दै आउनुभएको थियो । “आचार्यको निधनले गोरखाली साहित्यिक क्षेत्रमा ठूलो क्षति पुरयाएको छ”– साहित्य सङ्गम गोरखाका अध्यक्ष शिव अप्रियले भन्नुभयो, “एउटा साहित्यिक धरोहरको विलय भयो ।”
देशभरका रेडियोको छाता संस्था सामुदायिक रेडियो प्रशारक सङ्घ (अकोराव) का वरिष्ठ उपाध्यक्ष एवम् रेडियो गोरखाका स्टेशन म्यानेजर किशोरजङ्ग थापा आचार्यको निधनले रेडियो, पत्रकारिता र साहित्यिक क्षेत्रमा ठूलो क्षति पुगेको बताउनुहुन्छ । थापाले भन्नुभयो, “८७ बर्से आचार्यले रेडियोमा नियमित कार्यक्रम गरिरहनुहुन्थ्यो । नेपालभरका रेडियोमा कार्यक्रम गर्ने रेडियोकर्मीमध्ये सम्भवतः आचार्य एक्लो जेष्ठ व्यक्ति हुनुहुन्थ्यो ।” आचार्यले विसं २०६४ देखि नियमित रेडियोमा धार्मिक कार्यक्रम गर्दै आउनुभएको थियो ।
विसं २०३१ मा श्री ५ वीरेन्द्र राज्याभिषेक पदक प्राप्त गर्नुका साथै नेपाल प्रज्ञा–प्रतिष्ठान, हरि सांस्कृतिक केन्द्र गोरखा, तथा साहित्य सङ्गम गोरखालगायतबाट सम्मान तथा पुरस्कार प्राप्त आचार्यले पच्चीस थुङ्गा, शिलान्यासलगायत दर्जन भन्दाबढी पुस्तक प्रकाशित गर्नुभएको थियो ।
आचार्यका श्रीमती, तीन छोरा र तीनजना छोरी छन् । उहाँ नेपाल सरकारका पूर्वकर्मचारी पनि हुनुहुन्थ्यो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते