
यस बर्षको दसैंका लागि हिमाल पारीको जिल्ला मुस्ताङबाट पोखरामा ल्याइएका च्याङग्रा । तस्विरः वासुदेव पौडेल, पोखरा, रासस
पोखरा, २० असोज । यस वर्षको दसैँका लागि पोखरामा १६ हजार च्याङ्ग्रा भित्रिएका छन् ।
विशेष गरी मुस्ताङबाट त्यहाँका स्थानीय कृषकका साथै अन्य ठाउँबाट गएका व्यवसायीले दसैँका लागि भेडा तथा च्याङ्ग्रा खरिद गरी पोखरामा ल्याएर बिक्री गर्ने गरेका छन् ।
दसैँका लागि पोखराको टुँडिखेलमा ल्याइने च्याङ्ग्रा यतिखेर हेमजा, सुइखेत, याम्दीलगायत स्थानमा राखिएकामा यही फूलपातीसम्म पोखराको टँुडिखेलमा ल्याइसक्ने व्यवसायीको तयारी छ ।
जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत महेन्द्र मल्लका अनुसार व्यवसायीले पोखरामा बिक्रीका लागि मुस्ताङबाट २१ हजार १० वटा च्याङ्ग्रा हिँडाएको भए पनि हालसम्म १६ हजार च्याङ्ग्रा पोखरा र आसपासका क्षेत्रमा भित्रिसकेका छन् । कतिपय व्यापारीले बाटोमा नै च्याङ्ग्रा बिक्री गरिसकेका छन् ।
जोमसोमबाट यही असोज ९ गते पोखराका लागि २५५ वटा च्याङ्ग्रा लिएर आएका व्यवसायी युवराज नेपाल १७ गते पोखराको हेम्जा आइपुग्नुभएको थियो । हेम्जा आइपुगेपछि ४३ वटा च्याङ्ग्रा बेचिसकेको जाकारी दिँदै उहाँले आफूले रु २५ हजारका दरले च्याङ्ग्रा बेचेको बताउनुभयो ।
व्यवसायी नेपाल जस्तै मुस्ताङको घिलिङबाट २०० च्याङ्ग्रा ल्याएका मानबहादुर तामाङ पोखरा ल्याएसँगै दिन प्रतिदिन च्याङ्ग्रा लिन आउने सर्वसाधारणको चाप बढ्दै गएको बताउनुहुन्छ । “मैले ल्याएको बथानमा रु २२ हजारदेखि २५ हजारसम्मका च्याङ्ग्रा छन्,”–उहाँले भन्नुभयो,–“च्याङ्ग्रा खरिद गरी व्यापार गर्ने कुरामा जोखिम मोल्नै पर्छ, हिमाली भेगको च्याङ्ग्रा पोखरा ल्याएर बेच्ने कुरा त्यति सजिलो छैन ।”
विगत सात वर्षदेखि मुस्ताङबाट च्याङ्ग्रा ल्याएर पोखरामा व्यापार गर्दै आएका कास्की ल्वाङघलेलका सोम तामाङले यस वर्ष उपल्लो मुस्ताङको लोमन्थाङबाट १०० वटा च्याङ्ग्रा ल्याउनुभएको छ । च्याङ्ग्राको व्यापारबाट केही फाइदा हुने भएपनि यो जोखिमको व्यापार भएको उहाँको भनाइ छ ।
“चिसो ठाउँको च्याङ्ग्रा गर्मी ठाउँमा ल्याउनुपर्ने भएएकाले कति त मर्ने पनि हुन्छ,” उहाँले भन्नुभयो, “हिँडाएर ल्याउनुपर्ने भएकाले कति त बाटैमा हराउने सम्भावना पनि हुन्छ ।”
च्याङ्ग्रा ल्याउने क्रममा पनि व्यापारीहरूले बाटोमा धेरै समस्या झेल्दै आएको अर्का व्यवसायी ज्योतीप्रसाद पुनले बताउनुभयो ।
कार्यालयको तथ्याङ्कअनुसार पोखरामा मात्रै दैनिकरुपमा सात हजार ५०० किलोग्राम खसिको मासु खपत हुन्छ भने ३५ हजार किलोग्राम कुखुराको मासु खपत हुने गरेको छ ।
जिल्लामा २२० बाख्रा फार्म अभिलेखीकरण भएको बताउँदै पशु विकास अधिकृत मल्लले ९१ हजार २५४ बाख्राको सङ्ख्या रहेको जानकारी दिनुभयो ।
मासिक पाँच हजारको सङ्ख्यामा पोखरामा खसी भित्रने गरेको बताउँदै मल्लले दसैँका समयमा हिमाली भेगबाट आउने भेडा तथा च्याङ्ग्राका कारण एक हजारदेखि एक हजार २०० सम्म कम भित्रिने गरेको उल्लेख गर्नुभयो ।
पछिल्ला वर्षमा कास्की जिल्ला विस्तारै कुखुरामा आत्मनिर्भर हुँदै गएको कार्यालयले जनाएको छ । जिल्लाका भरतपोखरीको चवादी, कुर्लिङका साथै निर्मलपोखरी, माझठाना, थुमाको डाँडालगायत स्थानमा पछिल्ला वर्षमा व्यावसायिक रुपमा कुखुरापालनका साथै बाख्रापालन गर्ने क्रम सुरु भएको स्थानीय कृषक बताउँछन् ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’