काठमाडौँ, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ ३० गतेबाट गर्न लाग्नुभएको भारतको राजकीय भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आज भएको भेटवार्तामा राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री दाहालले भारत भ्रमणका बारेमा हालसम्म भएका तयारीको जानकारी गराउनुभएको थियो ।
उपराष्ट्रपति नन्दबहादुर पुनको समेत उपस्थितिमा प्रधानमन्त्री दाहालले हालसम्मको तयारी तथा सरकारको पछिल्लो काम कारबाहीका बारेमा समेत राष्ट्रपतिलाई जानकारी गराउनुभएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
भेटका क्रममा राष्ट्रपति भण्डारीले उच्चस्तरीय वैदेशिक भ्रमण हुन लागेकामा खुसी व्यक्त गर्नुहुँदै असंलग्न राष्ट्रको सत्रौँ शिखर सम्मेलनको पूर्ण सफलताको कामना गर्नुभयो र दुवै भ्रमण फलदायी हुन सकून् भन्ने शुभेच्छासहित उपराष्ट्रपति र प्रधानमन्त्री दुवैलाई शुभयात्राको कामना गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धु्रवराज आचार्यले जानकारी दिनुभयो ।
सो अवसरमा उपराष्ट्रपति पुनले आगामी असोज १ गतेदेखि भेनेजुयलामा आयोजना गरिएको असंलग्न मुलुकको शिखर सम्मेलनमा सहभागी हुन लाग्नुभएको विषयमा समेत कुराकानी भएको थियो । उपराष्ट्रपति पुनको नेतृत्वमा एक प्रतिनिधिमण्डल उक्त सम्मेलनमा भाग दिन भेनेजुयला जाँदै हुनुहुन्छ ।
सो अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले उपराष्ट्रपति पुनलाई शिखर सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुन लाग्नुभएकामा बधाइ दिँदै भ्रमणको सफलताको कामना गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।
यस्तै राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले प्रधानमन्त्रीलाई भारत भ्रमणको शुभकामना दिनुभएको थियो ।
सो अवसरमा आजै स्वदेश फर्कनुभएका परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति भण्डारीसँग आफ्नो भारत भ्रमणका क्रममा भारतीय पक्षसँग भएको छलफलका बारेमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा परराष्ट्र मन्त्री डा महत, नेपाल सरकारका मुख्यसचिव, राष्ट्रपतिको कार्यालयका सचिव, परराष्ट्र मन्त्रालयका सचिवलगायत नेपाल सरकारका उच्च अधिकारीसमेतको उपस्थिति थियो ।
प्रधानमन्त्री दाहाल यही भदौ ३० गते चारदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहाल भारत जान लाग्नुभएको हो ।
प्रधानमन्त्री दाहाललाई भारतले विशेष अथितिका रुपमा राष्ट्रपति भवनमा राख्ने भएको छ । भ्रमणको तयारीका लागि भारत जानुभएका परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले आजै स्वदेश फर्किइसक्नुभएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, केही सांसद, विभिन्न मन्त्रालयका सचिव एवम् उच्चापदस्थ अधिकारी, सञ्चारकर्मी एवम् उद्योगी एवम् व्यवसायीको सहभागिता रहनेछ ।
भदौ ३१ गते प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ भने सोही दिन भारतीय समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।
सोही दिन केही भारतीय मन्त्रीले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।