सिरियामा युद्धविराम

राष्ट्रपति बसर अल असद

राष्ट्रपति बसर अल असद

बेरुत, २७ भदौ । रुस र अमेरिकाले संयुक्त रुपमा पहल गरेको युद्धविराम सम्झौता सिरियामा सोमबार सूर्यास्तपछि लागू भएको छ । सोमबार सूर्यास्तपछि हतियार नउठाउनमा सबै विद्रोही समूह सहमत भएका छन् भने सिरियाली सरकारी पक्षले पनि सकारात्मक मौखिक सम्मति दिएको छ ।

गतः शुक्रबार रसिया र अमेरिकाको अगुवाइमा युद्धविराम लागू गर्ने भन्ने सम्झौतामा हस्ताक्षर भएपछि पनि अलेप्पो र इद्लिब सहरहरुमा शनिबार भएको हवाई आक्रमणमा करिब १०० सयको सङ्ख्यामा सर्वसाधारणले ज्यान गुमाएका थिए ।

मुस्लिम समुदायको महान पर्व इद अल अदाको छट्टी सुरु भएको पहिलो दिन सिरियाली राष्ट्रपति बसार अल असद थोरै जना मात्र समर्थकलाई साथ लिई दरायाको ग्रामीण इलाकामा अवस्थित एक मस्जिदमा प्रार्थना गर्नगै बिरलै मात्र सार्वजनिक रुपमा जनसमूह माझ देखा पर्नुभयो । विद्रोहीको पकडमा रहेको दराया सहर चार वर्षपछि सरकारले कब्जामा लिएको थियो ।

गत हप्ता जेनेभामा अमेरिकी विदेशमन्त्री जोन केरी र रसियाली विदेशमन्त्री सर्गेई लाभरोभबीच सिरियाली युद्धविराम सम्बन्धी पछिल्लो सम्झौतामा सम्पन्न भएको थियो ।

यस सम्झौताले आगामी एकहप्ता अर्थात् अमेरिका तथा रुसले पुनः हात नहालेसम्मसम्मका लागि इस्लामिक स्टेट समूह र अल कायदा आवद्ध सशस्त्र लडाकू समूहलाई जुनसुकै प्रकारबाट आक्रमण गर्न सिरियाली सरकारलाई अनुमति दिएको थियो

अमेरिका र रसियाबीच भएको सो युद्धविराम सम्झौताको सिरियाली राष्ट्रपति बसर अल असदले शनिबार अनुमोदन गरेका थिए ।

राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सन् २०११ देखि सुरु भएको जनआन्दोलन सिरियामा केहीपछि गएर गृहयुद्धमा परिवर्तन भएको र यस गृहयुद्ध अद्यापि चालु भइरहेको छ ।

यस द्वन्द्वका कारण सन् २०११ देखि हालसम्म दुई लाख ९० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ, लाखौँ व्यक्ति घाइते भएका छन् भने लाखौँ व्यक्ति देशभित्र र बाहिर शरणार्थी बनी कष्टपूर्ण जीवन बिताइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री