संयुक्त राष्ट्र सङ्घ, २५ भदौ । उत्तरी कोरियालाई पुनःएक पटक शृङ्खलवद्धरुपमा प्रतिवन्ध लगाउने कार्य सुरु गर्न संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद् सहमत भएको छ ।
उत्तर कोरियाले गत शुक्रबार गरेको पाँचौँ पारमाणविक बम परीक्षणपछि अन्तर्राष्ट्रिय जगतले गरेको निन्दापछि सुरक्षा परिषद् सो सहमतिमा पुगेको हो ।
संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा शुक्रबार भएका गोप्य छलफलमा उत्तर कोरियाले शुक्रबार गरेको पारमाणविक बम परीक्षणको कडा शब्दको निन्दा गरेको छ ।
साथै संयुक्त राष्ट्र सङ्घको बडापत्रको ४१औँ धारा अन्तरगतरहेर नयाँ प्रस्तावको नमूना तयार गर्ने विषयमा सहमत भएको छ ।
दक्षिणी कोरिया, संयुक्त राज्य अमेरिका, जापान, रसिया, चीनले उत्तर कोरिया शुक्रबार गरेको शक्तिशाली पारमाणविक बम परीक्षणको कडा शब्दको निन्दा गरेको छ ।
लाओसको औपचारिक भ्रमणमा रहनुभएका दक्षिण कोरियाका राष्ट्रपति पार्क गेयुन हाईले यस परीक्षणको कडा शब्दमा निन्दा गर्नुभएको छ ।
लाओसको राजधानी भिएनटिएनमा पूर्वी एसियाली राष्ट्रहरुको शिखर सम्मेलन (इएएस) मा भाग लिने क्रममा त्यहाँ रहनुभएकी पार्कले यसै वर्षभित्र उत्तर कोरियाले गरेको यो दोस्रो पटकको पारमाणविक बम परीक्षण गरेको बताउनुभएको थियो ।
उत्तर कोरियाले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्का संकल्प प्रस्तावको बारम्बार अवहेलना र उल्लङ्घन गर्दै अन्तर्राष्ट्रिय जगतलाई सशक्त चुनौति दिइरहेको पनि राष्ट्रपति पार्कले आरोप लगाउनुभएको छ ।
उत्तर कोरियाले पुङग्येरीस्थित आफ्नो प्रमुख परीक्षण केन्द्रबाट शुक्रबार बिहान गरेको पारमाणविक शक्ति परीक्षण अत्यन्त शक्तिशाली भएको र यसपछि ५.३ रिक्टर स्केलका कृत्रिम भूकम्पको महसूस गरिएको थियो ।
उत्तर कोरियाले यसअघि सन् २००६, २००९, २०१३ र यसै वर्षको जनवरीमा गरी चारवटा शक्तिशाली परमाणु बम परीक्षण गरिसकेको छ ।
उत्तर कोरियाले गत सोमबार पनि आफ्नो पूर्वीसामुन्द्रिक तट बाहिर तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरेको थियो ।
उत्तर कोरियाको ह्वाङ्जु ग्रामीणक्षेत्रबाट जापानी सागर (सिअफ जापान)मा लगातार उक्त तीनवटै शक्तिशाली क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ताले बताएका थिए ।
दुई हप्ता जति अघि अर्थात् अगस्ट २४ का दिन उत्तर कोरियाले पनडुब्बी जहाजबाट प्रहार गर्न सकिने ५०० किलो मिटर प्रहार क्षमता दूरी भएको क्षेप्यास्त्र यसैगरी परीक्षण गरेको थियो ।
विश्व नेताद्वारा उत्तर कोरियाको पाँचौँ आणविक परीक्षणको निन्दा
सोल (दक्षिण कोरिया), २४ भदौ । उत्तर कोरियाद्वारा शुक्रबार गरेको पाँचौँ आणविक परीक्षणको विश्वका नेताद्वारा निन्दा भएको छ ।
उत्तर कोरियाले गरेको आणविक परीक्षणलाई लिएर अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा विदेशमन्त्री जोन केरी, जापानी प्रधानमन्त्री सिन्जो आवे, दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्युन हे, फ्रान्सका विदेशमन्त्री जाँ मार्क आयरुट, र नर्वेली विदेशमन्त्री ब्रोज ब्रेन्डलगायतका विश्वका नेताले निन्दा गरेका छन् ।
अमेरिकी राष्ट्रपति ओबामाले अमेरिकाले उत्तर कोरियालाई आणविक राष्ट्रका रुपमा कहिल्यै पनि स्वीकार गर्न नसक्ने बताउँदै उत्तर कोरियाविरुद्ध थप कडा एवम् महत्वपूर्ण कदम चाल्ने बताउनुभएको छ ।
उहाँले थप नयाँ किसिमका प्रतिबन्ध पनि उत्तर कोरियाले सामना गर्नुपर्ने बताउनुभयो ।
उत्तर कोरियाले शुक्रबार पाँचौँ आणविक परीक्षण गरेपछि जापानी प्रधानमन्त्री आवे तथा दक्षिण कोरियाली राष्ट्रपति पार्कसँग टेलिफोन वार्ता गर्नुभएको बताइएको छ ।
उक्त अवसरमा राष्ट्रपति ओबामाले आफू जापान तथा दक्षिण कोरियासँग सहकार्य गर्दै उत्तरका यस्ता गतिविधिलाई सामना गर्ने बताउनुभएको थियो ।
शुक्रबार उत्तर कोरियाले गरेको आणविक परीक्षणको रसियाले पनि निन्दा गरेको छ ।