शुक्रबार, कार्तिक १४ २०७७ | Fri, October 30, 2020
नेपालको समय: ०७:५४ | UK Time: 02:09

‘ओभरलोड’का कारण बस दुर्घटना, ३३ मृतकमध्ये २६ को सनाखत

वीनेपाली
२०७३ साउन ३१ गते १९:२९
काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा सोमबार दिउँसो भएको बस दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल ल्याइँदै । सौजन्यः नेपाली सेना, रासस

काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा सोमबार दिउँसो भएको बस दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल ल्याइँदै । सौजन्यः नेपाली सेना, रासस

काठमाडौँ, ३१ साउन । काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ ।

काठमाडौँबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा २ ख १०६ नंको बस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खहरेखोलामा खसेर दुर्घटना हुँदा बसमा सवार ३३ जनाको घटनास्थलमै मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

दुर्घटनामा ४३ जना घाइते भएका छन् । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कात्तिके देउराली, प्रहरी चौकी फलाँटे तथा दोलालघाट र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रजिअ, प्रहरी उपरीक्षकसहितको टोली उद्धारमा खटिएको छ ।

घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र २८ जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ ल्याइएको छ । उनीहरुमध्ये १८ जनाको ट्रमा सेन्टर काठमाडौँ र १० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धार जारी रहेको प्रहरीले जनाएको छ ।

 बस दुर्घटना ‘ओभरलोड’का कारण भएको प्रहरीले जनाएको छ ।

“बसभित्र खचाखच र छतमासमेत यात्रु सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ओभरलोड भएरै बसले लोडतान्न नसकी दुर्घटना भएको देखिन्छ’ काभ्रेका प्रहरी नायब उपरीक्षक नविन राईले रासससँग टेलिफोनमा भन्नुभयो ।

घटनास्थलमा रहनुभएका राईका अनुसार अहिलेसम्म घटनास्थलमा भेटिएका २७ जनाको शवमध्ये २६ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा कात्तिके देउराली–७ का ४५ वर्षीय दीपक गौतम, ६५ वर्षीय गोविन्द गौतम, ६५ वर्षीय सुनिल बर्देवा, मादनकुँडारी–५ का ६५ वर्षीय नीलकण्ठ गौतम, वर्ष नखुलेका विनोद गौतम, मादनकुँडारी–१ का आठ वर्षीया एलिसा तामाङ, ठेगाना तथा वर्ष नखुलेका औलात सिंह, पञ्जा तामाङ, सानुमाया तामाङ छन् ।

त्यसैगरी कात्तिके देउराली–३ का विष्णुप्रसाद बाँस्कोटा, कात्तिके देउराली–४ का उमेश बाँस्कोटा र वर्ष नखुलेका सीता बर्देवा, गोठपानी गाविसका २१ वर्षीय रेशम विक, मादनकुँडारी–५ का छविलाल चौलागाई र वर्ष खुल्न नसकेका सीता गिरी, कात्तिके देउराली–७ की कुनामाया परियार, सीता परियार, मादनकुँडारी–३ की माईली तामाङ, ठेगाना खुल्न नसकेका इन्द्रकुमारी लामा, लीलानाथ गौतम, कृष्ण दमै, ठुलीकान्छी सुनुवार, सुस्मा लामा, विष्णु सापकोटा, इन्द्रकुमारी तामाङ र रामेछाप लखनपुर–१ जुनकिरी गौतमको मृत्यु भएको छ ।

घटनास्थलमा भारी वर्षा भइरहेकाले शव सङ्कलन र उद्धारमा समेत समस्या भएको उहाँले जानकारी दिनुभयो । मृतकको शव अहिले घटनास्थलमै राखिएको छ । भोलि घटनास्थलमै मेडिकल टोली झिकाइ शवपरिक्षण गरी आफन्तलाई बुझाइने उहाँले जानकारी दिनुभयो ।

यसैबीच धुलिखेलमा उपचारार्थ १२ जनामध्ये दुईजनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये धेरैको टाउको र मेरुदण्डमा चोट लागेको छ ।

घाइतेमध्ये २८ जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ ल्याइएको छ । उनीहरूमध्ये १८ जनाको ट्रमा सेन्टर काठमाडौँ र १० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अरनिको यातायात सेवा समितिअन्तर्गत बा ३ ख १०६ नम्बरको सो बस बिहान ७ बजे पुरानो बसपार्कबाट काभ्रेको मादनकुँडारी जाँदै थियो । प्रत्येक दिन काठमाडाँैबाट मादनकुँडारीसम्म एउटा मात्र बस जाने भएकाले बसमा खचाखच यात्रुहरू रहेका स्थानीयवासीले बताएका छन् । दुर्घटनाग्रस्त बस २०–२२ टुक्रा भएको छ ।

यसैबीच गृह मन्त्रालयले साँझ एक विज्ञप्ति जारी गरी उक्त घटनामा २५ जनाको घटनास्थल र एकजनाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु तथा ४२ जना घाइते भएको जनाएको छ ।

मन्त्रालयले लामो रुटको यातायात सेवामा सिट क्षमताभन्दा बढी यात्रुहरू राख्न नदिने कार्यलाई कडाइका साथ कार्यान्वयन गर्न स्थानीय प्रशासन र प्रहरीलाई निर्देशनसमेत दिएको छ ।

घाइतेको उपचारमा सरकार प्रतिबद्ध ः गृहमन्त्री 

यसैगरी गृहमन्त्री विमलेन्द्र निधि साँझ ट्रमा सेन्टर पुगेर घाइतेहरूको उपचारमा सरकारकातर्फबाट कुनै कसर बाँकी नराखिने बताउनुभएको छ ।

उहाँले घाइतेको सम्पूर्ण उपचारखर्चसमेत सरकारले नै बहोर्ने बताउनुभएको गृह मन्त्रालका प्रवक्त यादव कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रेपलाञ्चोकको बिर्ता देउरालीमा आज भएको बस दुर्घटनामा परी दिवङ्गत हुनुभएका व्यक्तिको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै तत्काल उद्धार कार्यमा खटिने सबैलाई धन्यवाद दिँदै उहाँले तत्काल घाइतेको उपचारमा लाग्नसमेत स्वास्थ्यकर्मी एवम् सबैलाई निर्देशन दिनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँबाट काभ्रेको मादनकुडारीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएकोप्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा दुर्घटनामा परी निधन भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

काँग्रेसले यस दुःखद् घडीमा सम्पूर्ण पार्टी सङ्गठनलाई उद्धार र राहत कार्यमा खटिन निर्देशन दिँदै घाइतेको प्रभावकारी उद्धार, राहत र औषधोपचारका लागि सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक