सञ्चारमन्त्रीद्वारा पार्टीभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता

1471185513743_RS_KTM_160814_IMG_9559

काठमाडौँ, ३० साउन । सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्की (राम कार्की) ले आज पदभार ग्रहण गर्नुभएको छ ।

विस. २०१३ असोज २९ गते ओखलढुङ्गाको रूम्जाटार गाविसमा जन्मनुभएका मन्त्री कार्कीले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच पदभार ग्रहण गर्नुभएको हो । सो अवसरमा मन्त्रालयका सचिव, कर्मचारी र मातहतका विभागीय अध्यक्ष तथा महानिर्देशकहरूले मन्त्रीलाई स्वागत गर्नुभएको थियो ।

विसं २०२८ सालदेखि राजनीतिमा सक्रिय नेकपा (माओवादी केन्द्र) का नेता समेत रहनुभएका मन्त्री कार्कीले विसं २०२९–०३२, २०३९–०४०, २०४२–०४६ र २०५२ देखि २०६२ सम्म भूमिगत जीवन विताउनुभएको थियो । आमा रत्ना कार्की र बाबु अमृतबहादुर कार्कीको कोखबाट जन्मिनुभएका मन्त्री कार्कीले राजनीतिक जीवनमा एक वर्ष ६ महिना बन्दी जीवन विताउनुभएको छ ।

स्नातक सम्मको अध्ययन गर्नु भएका कार्की विगतमा शिक्षण र पत्रकारिता पेसामा सङ्लग्न हुनुभएको थियो । कार्की काठमाडौँबाट समानुपातिक सांसद हुनुहुन्छ ।
पदभार ग्रहणपछि मन्त्री कार्कीले आफू जुनसुकै पार्टीबाट आएपनि कुनै प्रकारको पूर्वाग्रह नराखी नेपाल र नेपाली जनताप्रति प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री कार्कीले आफूसँग प्रशासन सम्वन्धी खासै अनुभव नभएको बताउँदै आफ्नो कार्यअवधिभरी सन्तोषजनक काम गर्न सहयोगका लागि मन्त्रालयका कर्मचारी र विभागीय प्रमुखसँग आग्रह गर्नुभयो । उहाँले आफू मन्त्री रहुन्जेल सबैलाई सहज अनुभूति हुनेगरी काम गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राजनीतिक पार्टीलाई गाली गर्नुप¥यो भने ब्यूरोक्रेटिक भएछ भनिन्छ, भनेको अर्थ यसले बढी परम्परा वा नजिरलाई प्राथमिकता दिन्छ, यसले क्रियटिभ केही गर्दैन, तर कुनै एउटा राजनीतिकर्मी सत्तामा आउँछ, प्रशासनले त्यसको कुरालाई सहयोग नगर्दा उ तुरून्त असफल हुन्छ भन्दै मन्त्री कार्कीले सहयोगका लागि आग्रह गर्नुभयो ।

मन्त्री कार्कीले पहिले पहिले सञ्चारमाथि सिमित मानिसहरूको मात्र सहभागिता रहेपनि पछिल्लो पटक बढ्दै गरेको सञ्चारमाध्यमको सङ्ख्यासँगै अराजक भएको जस्तो पनि देखिएको अनुभूति हुन्छ भन्नुभयो ।

संसारको सबैभन्दा खतरनाक, शक्तिशाली हतियार पत्रकारसँग भएको र त्यसको असर दुरगामी र अत्यन्त घातक हुनेहुँदा त्यसलाई अत्यन्त संवेदनशील र गम्भीर भएर प्रयोग गर्न समेत मन्त्रीले सञ्चारमाध्यम तथा पत्रकारलाई अपिल गर्नुभयो । उहाँले नेपाली जनताहरूप्रति प्रतिबद्ध भएर काम गर्न पनि मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभयो ।

सो अवसरमा सञ्चार सचिव दिनेश कुमार थपलियाले मन्त्रीलाई स्वागत गर्दै मन्त्रीको निर्देशन अनुसार मन्त्रालय र मातहतका विभागले प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । सचिव थपलियाले मन्त्रालय र मातहतमा कार्यरत करिव २९ हजार देखि ३० हजारको सङ्ख्यामा कर्मचारी रहेको मन्त्रीलाई जानकारी गराउनुभयो ।

सङ्घीय संरचनामा मुलुक जाँदा पनि सूचना तथा सञ्चार मन्त्रालय रहने प्रतिवेदनले पुष्टी गरेको सन्दर्भमा संविधानको कार्यान्वयनसँगै मुलुकलाई सङ्घीय संरचनामा ढाल्नको निम्ति पनि सञ्चार मन्त्रालयको अत्यन्त ठूलो भूमिका हुने सचिव थपलियाले प्रस्ट पार्नुभयो ।

मन्त्री कार्कीलाई मन्त्रालयका सचिव थपलियासहित राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्ले, महाप्रबन्धक निर्मला आचार्य, प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्की र नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहाललगायतका मन्त्रालय मातहतका विभिन्न विभागीय अध्यक्ष तथा निर्देशकहरूले स्वागत गर्नुभएको थियो ।

मन्त्रालय मातहतका विभागीय प्रमुखहरूसँग परिचयात्मक कार्यक्रमको क्रममा मन्त्री कार्कीले सम्वन्धित निकायले गरिरहेको काम कारवाहीको वारेमा चासो व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री