मुस्लिम धर्मावलम्बी इद पर्व मनाउँदै

मुस्लिम समुदायको महान पर्व इद इदुल्ल फित्रका दिन बिहीबार नमाज पढ्दै इस्लाम धर्मावलम्बीहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस

मुस्लिम समुदायको महान पर्व इद इदुल्ल फित्रका दिन बिहीबार नमाज पढ्दै इस्लाम धर्मावलम्बीहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस

विराटनगर, २३ असार । मुस्लिम धर्मावलम्बीले आज इद–उलफितर पर्व उत्साहका साथ मनाइरहेका छन् ।

रमजानको एक महिनाको अवधि पूरा भएको रात्रिमा चन्द्रमाको अवलोकन गरेको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । यस पर्वको अवसरमा आज बिहानदेखि मोरङ, सुनसरीलगायत जिल्लामा मुस्लिम धर्मावलम्बीले बिहानैदेखि मस्जिद वा इदगाहमा पुगेर पर्वको शुभारम्भ गरेका छन् ।

सो अवसरमा बिहान नयाँ वस्त्र धारण गरेर मस्जिद वा इदगाहमा पुगेर अल्लाहलाई नमाज अदा गरी एकापसमा गला मिलाएर शुभकामना आदान–प्रदान गरिरहेका छन् ।

विराटनगरस्थित मस्जिदमा पनि हजारौँको सङ्ख्यामा मुस्लिम धर्मावलम्बी भेला भएर सामूहिक रुपमा नवाज अदा गरेर पर्व मनाइरहेका छन् । यसका साथै विभिन्न परिकारका भोजन पकाएर खाने, इष्टमित्रलाई खुवाउने, गरिबलाई अन्न, वस्त्र र नगद दान गर्ने यो पर्व तीन दिनसम्म मनाइन्छ ।

राष्ट्रपतिद्वारा इदको शुभकामना

काठमाडौँ, २३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदी बहिनी तथा दाजुभाइमा सुखशान्ति र समृिद्धका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।

धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने इद उल फित्रजस्ता विशेष पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्दै आफ्ना ऐतिहासिक एवम् मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्न महत्वपूर्ण योगदान पुरयाएको राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

रमादानका अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तबीच खुसी साटासाट गरी मनाइने यस पर्वले हाम्रो आत्मा शुद्ध भई आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्न अझ बढी सहयोग पुरयाउने हुँदा यो पर्वले हामी सबैमा भाइचारा, मेलमिलाप, एकता र शान्तिको प्रेरणा प्रदान गर्न सकोस् भन्ने राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीद्वारा इदको शुभकामना

काठमाडौँ, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदायका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले शुभकामना सन्देशमा यस पर्वले हामी सम्पूर्ण नेपालीमा शान्ति, समृद्धि, भ्रातृत्व, सद्भाव, सहिष्णुता र एकताका लागि प्रेरणा प्रदान गरोस् भनी शुभेच्छा व्यक्त गर्नुभएको छ । विभिन्न धर्म, संस्कृति, वेषभूषा, रहनसहन र पहिचानको विविधताले हाम्रो मुलुक सुसज्जित रहेको र यहाँका हरेक जातजातिका आ–आफ्नै मौलिक संस्कृति र पहिचान रहेको प्रधानमन्त्री कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हामी नेपालीले सदियौँदेखि एकअर्का समुदायका धर्मसंस्कृति र परम्पराको सम्मान गर्दै आएका र इतिहासदेखि कायम रहँदै आएको हामीबीचको सद्भावयुक्त संस्कृतिको निरन्तरता आवश्यक रहेको सन्देशमा उल्लेख गरिएको छ ।

अन्त्यमा, सम्पूर्ण नेपालीबीचको एकता, हार्दिकता र धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावका लागि यस पर्वका अवसरमा फेरि एकपटक मुस्लिम समुदायमा बधाइ तथा शुभकामना व्यक्त गर्दछु भनी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री