
काठमाडौँ, २५ जेठ । नेपाली गीत–सङ्गीत क्षेत्रको सगरमाथा आज नेपाली माझ छैन । उहाँको सिर्जना हाम्रो सामु छ तर भौतिक शरीरले विश्राम लिएको छ । धेरैका आँखा रसाएका छन् । धेरैले आफूलाई टुहुरो भएको अनुभव गरेका छन् ।
जीवनका कालखण्डमा अनेकौं हन्डर र ठक्कर बेहोरेका र स्पातिलो बनाएका व्यक्तित्व अम्बर गुरुङको भौतिक शरीरले अन्तिम श्वास फेर्दा धेरैलाई पत्यार लागेको थिएन । तर जुन पत्यार लागेको थिएन आखिर भइदियो त्यही । गुरुङ भौतिक रुपमा हाम्रो माझ छैनन् तर उहाँको सिर्जनाले नेपाली मात्रलाई युगौैंयुगसम्म सम्झने बनाइदिएको छ । ‘यो नेपाली शिर उचाली’ जस्ता राष्ट्रवादी गीत नै किन नहोस् पछिल्लो पटक नेपाली राष्ट्रगान बनाउन उहाँले दिनुभएको योगदान अविस्मरणीय रहेको छ ।
गीतकार, कवि तथा उहाँको जीवनकालमा सहयात्रा गरेका धेरैले उहाँलाई नेपाली गीत–सङ्गीतको सगरमाथाको विशेषण दिएका दिएका छन् । उहाँलाई महारथीको समेत पदवी अर्पण गरिएको छ । राष्ट्रगानका रचनाकार व्याकुल माइलाले उहाँलाई नेपाली सङ्गीत क्षेत्रको शिखर पुरुषको संज्ञा दिँदै भन्नुहुन्छ – “विसं २०६४ को जेठ महिनाको अन्तिमसाता वरिष्ठ सङ्गीतकार अम्बर गुरुङले आफ्नो निवासमा बोलाउनुभयो । मलाई सोध्नुभयो माइला लौ यस्तो हुने भयो है सङ्गीत ।”
माइलाले रासससँग भन्नुभयो – “उहाँले मलाई हार्मोनियम बजाएर गीत सुनाउनुभयो । मलाई लाग्यो यति मीठो र मधुर सङ्गीत कसरी बन्यो होला । खुसीको कुनै सीमा नै थिएन ।”
“मुलुक गणतन्त्रमा प्रवेश गरेको अवस्थामा सरकारले नयाँ राष्ट्र गानको माग गरयो म पनि सहभागी भएको थिएँ, सफल हुन्छु हुन्न भन्दा पनि सहभागिता जनाउने कुरा नै महत्वपूर्ण थियो,” माइला स्मरण गर्नुहुन्छ । गुरुङ छनोट समितिमा समेत हुनुहुन्थ्यो । उहाँले विभिन्न १४ वटा धुन बनाउनुभएको थियो । त्यसमध्ये तीनवटा धुन उत्कृष्ठ ठहर गरिएको थियो ।
“मेरो गीत छनोट भएको त्यसमाथि उहाँजस्तो सङ्गीत मर्मज्ञले सङ्गीत गर्ने कुराले ममा खुसीको सीमा थिएन,” – माइलाले भन्नुभयो ।
नेपाली गीत–सङ्गीत क्षेत्रले एउटा भीमकाय हस्ती गुमाएको माइला ठान्नुहुन्छ । उहाँले भन्नुभयो – “यति उच्च कोटिको सर्जक पाउन मुस्किल छ, नेपाली साङ्गीतिक क्षेत्र र मलाई आज असाध्यै पीडा भएको छ ।”
कवि तीर्थ श्रेष्ठको एउटा धोको बाँकी रह्यो गुरुङसँग । दुईवटा गीतमा सङ्गीत गराउने इच्छा उहाँको निधनसँगै सेलाएको छ । रासससँग कुरा गर्दै श्रेष्ठले भन्नुभयो – “विसं २०६८ मा उहाँको निवासमा गीतको कुरा भइरहेको बेला लौ तीर्थ तिम्रो गीत देउ सङ्गीत गर्नुप¥यो भन्नुभयो । मैले उहाँलाई दुईवटा गीत सुनाए । उहाँले लौ अब तत्कालै सङ्गीत गर्नुपरयो । उहाँको स्वास्थ्य अवस्थाका कारण त्यो सम्भव हुनसकेन । मेरा लागि ठूलो धोको बाँकी रह्यो ।”
गुरुङलाई सुनाउनुभएको गीतको एक अंश श्रेष्ठले राससलाई पनि सुनाउनुभयो । “कतै टाढा जानु थियो सँगै जान्छौ कि, जाने मन हुँदा हुँदा लाजै मान्छौ कि ।” कवि श्रेष्ठले उहाँलाई अर्को गीत पनि सुनाउनुभएको थियो । त्यो गीत यस्तो थियो – “तिमीले नसम्झदैमा म तिमीलाई कहाँ भूल्छु र”
नेपालको राष्ट्रिय सद्भाव खल्बलिएकामा समेत गुरुङ चिन्तित हुनुहुन्थ्यो । नेपालयले नेपालगन्जमा आयोजना गरेको ‘पलेटी’ शृङ्खलापछि उहाँ डाँको छोडेर नै रुनुभएको थियो कवि श्रेष्ठ स्मरण गर्नुहुन्छ । गीत–सङ्गीत र रचना तीनवटै क्षेत्रमा उहाँ सर्वज्ञ हुनुहुन्थ्यो । एउटै मान्छे तीनवटै विधामा पोख्त हुने कुरा सामान्य मान्छेका लागि सहज नहुनसक्छ तर गुरुङको हकमा भने सामान्य थियो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद् सदस्य भएर गुरुङसँगै काम गर्नुभएका यज्ञराज उपाध्याय आफ्नो स्वाभिमान कुनै पनि अवस्थामा डगाउन नचाहने व्यक्तिको रुपमा उहाँलाई स्मरण गर्नुहुन्छ ।
गीतकार चाँदनी शाहको गीतलाई गीत नै नभएको भनेर च्यातिदिनसक्ने क्षमता गुरुङमा थियो भन्नुहुन्छ उपाध्याय । गीतकार शाहको गीतमा सङ्गीत भर्ने र गाउने होडबाजी चलेको बेला दरबारका सचिवकै अगाडि गीत च्यातिदिएको आफूहरुसँग गुरुङले बताउनुभएको स्मरण गर्दै उपाध्यायले भन्नुभयो – “राजा महेन्द्रले दार्जिलिङबाट ल्याउनुभएको भए पनि दरबारको शक्ति र प्रभावमा कहिल्यै नपरेको र भेटघाट पनि त्यति धेरै नगरेको हामीलाई उहाँले पटक पटक सुनाउनुभएको थियो ।”
एउटै प्रतिष्ठानले गीत–सङ्गीत, कला क्षेत्रमा योगदान गर्न सक्दैन भन्दै उहाँले नीति निर्मातालाई पटक पटक सचेत गराउनु भएको थियो । विसं २०४२÷४३ देखि नै उहाँको माग थियो – प्रज्ञा प्रतिष्ठानले मात्रै सबै क्षेत्रमा योगदान दिन सक्दैन । विधागत विकास हुनसक्दैन । उहाँको यो मागले २०६७ वैशाखमा मात्रै साकार रुप पाउन सक्यो ।
उहाँले गीत–सङ्गतीलाई व्यवसाय बनाउनु भएन, सस्तो गीत पनि बनाउनुभएन । उपाध्याय भन्नुहुन्छ – “गीतलाई व्यवसाय नबनाएका कारण उहाँ जीवनको उत्तरार्धमा चेलाको सहयोगमा बाँच्नुपर्ने अवस्थामा पुग्नुभएको थियो । पैसा कमाउनु भएन नाम मात्रै कमाउनुभयो ।”
गीतलाई सस्तो बनाउनुभएको भए चलचित्रमा पनि सङ्गीत गरेर राम्रै पैसा कमाउन सक्नुहुुन्थ्यो तर गुरुङको स्वभावले दिएन । त्यसैले उहाँले सङ्गीत गरेको नौलाखे तारा उदाए भन्ने गीत जस्तै जीवनबाट उहाँ अस्ताउनुभयो । भौतिक रुपमा अस्ताए पनि नेपाली गीत– सङ्गीत क्षेत्रले उहाँलाई कहिल्यै अस्ताउन दिने छैन ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग