बुधबार, कार्तिक १२ २०७७ | Wed, October 28, 2020
नेपालको समय: ०२:३५ | UK Time: 20:50

शक्ति र पैसामा नबिक्ने स्रष्टा थिए अम्बर

वीनेपाली
२०७३ जेठ २५ गते १३:१८

 Ambar gurung

काठमाडौँ, २५ जेठ । नेपाली गीत–सङ्गीत क्षेत्रको सगरमाथा आज नेपाली माझ छैन । उहाँको सिर्जना हाम्रो सामु छ तर भौतिक शरीरले विश्राम लिएको छ । धेरैका आँखा रसाएका छन् । धेरैले आफूलाई टुहुरो भएको अनुभव गरेका छन् ।

जीवनका कालखण्डमा अनेकौं हन्डर र ठक्कर बेहोरेका र स्पातिलो बनाएका व्यक्तित्व अम्बर गुरुङको भौतिक शरीरले अन्तिम श्वास फेर्दा धेरैलाई पत्यार लागेको थिएन । तर जुन पत्यार लागेको थिएन आखिर भइदियो त्यही । गुरुङ भौतिक रुपमा हाम्रो माझ छैनन् तर उहाँको सिर्जनाले नेपाली मात्रलाई युगौैंयुगसम्म सम्झने बनाइदिएको छ । ‘यो नेपाली शिर उचाली’ जस्ता राष्ट्रवादी गीत नै किन नहोस् पछिल्लो पटक नेपाली राष्ट्रगान बनाउन उहाँले दिनुभएको योगदान अविस्मरणीय रहेको छ ।

गीतकार, कवि तथा उहाँको जीवनकालमा सहयात्रा गरेका धेरैले उहाँलाई नेपाली गीत–सङ्गीतको सगरमाथाको विशेषण दिएका दिएका छन् । उहाँलाई महारथीको समेत पदवी अर्पण गरिएको छ । राष्ट्रगानका रचनाकार व्याकुल माइलाले उहाँलाई नेपाली सङ्गीत क्षेत्रको शिखर पुरुषको संज्ञा दिँदै भन्नुहुन्छ – “विसं २०६४ को जेठ महिनाको अन्तिमसाता वरिष्ठ सङ्गीतकार अम्बर गुरुङले आफ्नो निवासमा बोलाउनुभयो । मलाई सोध्नुभयो माइला लौ यस्तो हुने भयो है सङ्गीत ।”

माइलाले रासससँग भन्नुभयो – “उहाँले मलाई हार्मोनियम बजाएर गीत सुनाउनुभयो । मलाई लाग्यो यति मीठो र मधुर सङ्गीत कसरी बन्यो होला । खुसीको कुनै सीमा नै थिएन ।”

“मुलुक गणतन्त्रमा प्रवेश गरेको अवस्थामा सरकारले नयाँ राष्ट्र गानको माग गरयो म पनि सहभागी भएको थिएँ, सफल हुन्छु हुन्न भन्दा पनि सहभागिता जनाउने कुरा नै महत्वपूर्ण थियो,” माइला स्मरण गर्नुहुन्छ । गुरुङ छनोट समितिमा समेत हुनुहुन्थ्यो । उहाँले विभिन्न १४ वटा धुन बनाउनुभएको थियो । त्यसमध्ये तीनवटा धुन उत्कृष्ठ ठहर गरिएको थियो ।

“मेरो गीत छनोट भएको त्यसमाथि उहाँजस्तो सङ्गीत मर्मज्ञले सङ्गीत गर्ने कुराले ममा खुसीको सीमा थिएन,” – माइलाले भन्नुभयो ।

नेपाली गीत–सङ्गीत क्षेत्रले एउटा भीमकाय हस्ती गुमाएको माइला ठान्नुहुन्छ । उहाँले भन्नुभयो – “यति उच्च कोटिको सर्जक पाउन मुस्किल छ, नेपाली साङ्गीतिक क्षेत्र र मलाई आज असाध्यै पीडा भएको छ ।”

कवि तीर्थ श्रेष्ठको एउटा धोको बाँकी रह्यो गुरुङसँग । दुईवटा गीतमा सङ्गीत गराउने इच्छा उहाँको निधनसँगै सेलाएको छ । रासससँग कुरा गर्दै श्रेष्ठले भन्नुभयो – “विसं २०६८ मा उहाँको निवासमा गीतको कुरा भइरहेको बेला लौ तीर्थ तिम्रो गीत देउ सङ्गीत गर्नुप¥यो भन्नुभयो । मैले उहाँलाई दुईवटा गीत सुनाए । उहाँले लौ अब तत्कालै सङ्गीत गर्नुपरयो । उहाँको स्वास्थ्य अवस्थाका कारण त्यो सम्भव हुनसकेन । मेरा लागि ठूलो धोको बाँकी रह्यो ।”

गुरुङलाई सुनाउनुभएको गीतको एक अंश श्रेष्ठले राससलाई पनि सुनाउनुभयो । “कतै टाढा जानु थियो सँगै जान्छौ कि, जाने मन हुँदा हुँदा लाजै मान्छौ कि ।” कवि श्रेष्ठले उहाँलाई अर्को गीत पनि सुनाउनुभएको थियो । त्यो गीत यस्तो थियो – “तिमीले नसम्झदैमा म तिमीलाई कहाँ भूल्छु र”

नेपालको राष्ट्रिय सद्भाव खल्बलिएकामा समेत गुरुङ चिन्तित हुनुहुन्थ्यो । नेपालयले नेपालगन्जमा आयोजना गरेको ‘पलेटी’ शृङ्खलापछि उहाँ डाँको छोडेर नै रुनुभएको थियो कवि श्रेष्ठ स्मरण गर्नुहुन्छ । गीत–सङ्गीत र रचना तीनवटै क्षेत्रमा उहाँ सर्वज्ञ हुनुहुन्थ्यो । एउटै मान्छे तीनवटै विधामा पोख्त हुने कुरा सामान्य मान्छेका लागि सहज नहुनसक्छ तर गुरुङको हकमा भने सामान्य थियो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद् सदस्य भएर गुरुङसँगै काम गर्नुभएका यज्ञराज उपाध्याय आफ्नो स्वाभिमान कुनै पनि अवस्थामा डगाउन नचाहने व्यक्तिको रुपमा उहाँलाई स्मरण गर्नुहुन्छ ।

गीतकार चाँदनी शाहको गीतलाई गीत नै नभएको भनेर च्यातिदिनसक्ने क्षमता गुरुङमा थियो भन्नुहुन्छ उपाध्याय । गीतकार शाहको गीतमा सङ्गीत भर्ने र गाउने होडबाजी चलेको बेला दरबारका सचिवकै अगाडि गीत च्यातिदिएको आफूहरुसँग गुरुङले बताउनुभएको स्मरण गर्दै उपाध्यायले भन्नुभयो – “राजा महेन्द्रले दार्जिलिङबाट ल्याउनुभएको भए पनि दरबारको शक्ति र प्रभावमा कहिल्यै नपरेको र भेटघाट पनि त्यति धेरै नगरेको हामीलाई उहाँले पटक पटक सुनाउनुभएको थियो ।”

एउटै प्रतिष्ठानले गीत–सङ्गीत, कला क्षेत्रमा योगदान गर्न सक्दैन भन्दै उहाँले नीति निर्मातालाई पटक पटक सचेत गराउनु भएको थियो । विसं २०४२÷४३ देखि नै उहाँको माग थियो – प्रज्ञा प्रतिष्ठानले मात्रै सबै क्षेत्रमा योगदान दिन सक्दैन । विधागत विकास हुनसक्दैन । उहाँको यो मागले २०६७ वैशाखमा मात्रै साकार रुप पाउन सक्यो ।

उहाँले गीत–सङ्गतीलाई व्यवसाय बनाउनु भएन, सस्तो गीत पनि बनाउनुभएन । उपाध्याय भन्नुहुन्छ – “गीतलाई व्यवसाय नबनाएका कारण उहाँ जीवनको उत्तरार्धमा चेलाको सहयोगमा बाँच्नुपर्ने अवस्थामा पुग्नुभएको थियो । पैसा कमाउनु भएन नाम मात्रै कमाउनुभयो ।”

गीतलाई सस्तो बनाउनुभएको भए चलचित्रमा पनि सङ्गीत गरेर राम्रै पैसा कमाउन सक्नुहुुन्थ्यो तर गुरुङको स्वभावले दिएन । त्यसैले उहाँले सङ्गीत गरेको नौलाखे तारा उदाए भन्ने गीत जस्तै जीवनबाट उहाँ अस्ताउनुभयो । भौतिक रुपमा अस्ताए पनि नेपाली गीत– सङ्गीत क्षेत्रले उहाँलाई कहिल्यै अस्ताउन दिने छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक