थलिएका छन् नेपाली समुदायका खम्बा

IMG_0073

एक जमाना बेलायतको नेपाली डायस्पोरामा उनको कत्रो बोलवाला थियो । उनीसंग पैसा थियो, साथीभाइको साथ थियो अनि साहस । अल्डरसट बस्ने उनी लन्डनमा भइरहने हरेक कार्यक्रममा ट्याक्सी चढेर पुग्थे । कविता भन्ने कार्यक्रम होस् वा च्यारिटी कार्यक्रम, उनको सहभागिता देखेर आयोजक छक्क पर्थे ।

तर, अहिले समय उनको पक्षमा छैन् । साथीभाइ साथमा छैनन् । एक सप्ताहन्त व्यवसायी एवं समाजसेवी ध्रुव केसीको साथ अल्डरसटस्थित उनको घर पुग्दा वातावरण सुनसान लाग्थ्यो । लन्डन भएका पुराना साथी बेला बेला उनलाई भेट्न पुगे पनि अरु बेला शुन्य छ उनको दैनिकी, मानौं एकान्तवास छन् उनी । उनको हेरचाहमा श्रीमति मिरा कार्की छिन् त्यो बाहेक शुन्य प्राय छ माहोल । दाहिने भाग चल्दैन । बोली राम्ररी बुझिन्न । अहिले बाहिर निस्कन नसक्ने गरि थलिएका छन् । दिनमा दुई घण्टा सरकारले उपलव्ध गराएको केयररले यताउति डुलाउंछन् । बेला बेला लाइब्रेरी समय बिताउने थलो बन्छ । नत्र अधिकांश समय ह्वीलचिअरको सहारामा बिताउनु परेको छ ।

उनी अर्थात हरिविभोर कार्की । बेलायतको नेपाली समुदायमा परिचित नाम हो यो । जीवनको उत्तरार्धमा उनलाई भगवानले पनि हेरेनन् । एक्कासी स्ट्रोक भएर ६ महिना लामो अस्पताल बसाइपछि घर 
फर्केका उनी ५ वर्ष यता असक्त छन् । ‘मैले के बिराएको थिएं र ? अहिले यसरी खुम्चिनु पर्दा ज्यादै दुःख लाग्छ’, ७० वर्षीय कार्कीको बिलौना थियो ।

ब्रिटिश आर्मी भर्ती भइ करिब ६ वर्ष सेवा गरेर सन् १९६८ मे महिनामा बेलायत उत्रिए उनी । भारतीय व्यापारी रिजु भगवानानीको स्पोन्सरमा लन्डनस्थित क्वालिटी रेष्टुरेन्टमा काम गर्न वर्क परमिट लिएर लन्डन टेकेका थिए कार्की । कार्कीसंगै श्याम महर्जन र मोहम्मद रफी आएका थिए नेपालबाट । नेपाल छंदा होटलमा काम गर्थे उनी तर रेष्टुरेन्टमा काम गरेको बानी थिएन । लन्डन आएपछि मालिक भगवानानीले तिमी प्रशासनिक काम मै पोख्त छौ भनेपछि कार्की नेपाल गएर अन्तर्वार्ता लिंदै नेपालीलाई बेलायत झिकाउने जिम्मेवारीमा रहे । उनले अन्तर्वार्ता लिएर धनबहादुर माली, इश्वर मानन्धर, पूण्यदास मधुकामी, सेते गुरुङ, लन्डन आएका थिए ।
कार्की चन्चल स्वभावका थिए, एकै ठाउंमा रहेर काम गर्न नसक्ने । क्वालिटीमा काम छाडेर त्यसकै अर्को शाखा नटराज गएका उनले उक्त रेष्टुरेन्ट आगलागी भएपछि भोल्गा रेष्टुरेन्टमा काम थाले । यहां पनि छाडेर मार्बल आर्च नजिक पोर्टम्यान इन्टर कन्टिनेन्टल होटल प्रवेश गरे जागिर खान । यही क्रममा वेष्ट मिनिष्टर कलेजबाट एफ आर सी एस परीक्षा पास गरे होटल म्यानेजमेन्टमा ।

नेपाली समुदायका दुई अभिभावक ध्रुव केसी (बाया) र कार्की

नेपाली समुदायका दुई अभिभावक ध्रुव केसी (बाया) र कार्की

शैक्षिक योग्यता र कामको अनुभवले अब आफैं केही गरौं भन्ने साहस आयो उनमा । उनी आफैंले रेष्टुरेन्ट चलाए अल्डरसटमा । करिब ३५ वर्ष जोनी गोर्खा नामक रेष्टुरेन्ट सञ्चालन गरे उनले । आफू पनि भूपू ब्रिटिश आर्मी भएकाले गोर्खाहरुको ‘घर’ अल्डरसट रोजेका थिए लोकेशन । कार्कीले सन् २००१ सम्म उक्त रेष्टुरेन्ट चलाए । रेष्टुरेन्टबाट अवकास लिएपछि उनले आफ्नो आत्मबृत्तान्त लेखेका छन् जोनी गोर्खाज् इज वीथ मि । उक्त पुस्तकमा कार्कीले बेलायतमा देखे भोगेका क्षण उल्लेख गरेका छन् । भेटमा कार्कीले विगत सम्झिए, ‘रेष्टुरेन्ट चलाउन सजिलो थिएन । योग्य मान्छे पाउन मुश्किल थियो । कर्मचारी काम सिकेर बीचैमा छाडिदिंदा धेरै पटक म र श्रीमतिले मात्र व्यवसाय धानेका थियौं ।’

एक जमाना समाजसेवामा मरिहत्ते गर्ने कार्की अहिले बेसहारा जस्तै बनेका छन् । पाका व्यवसायी एवं समाजसेवी ध्रुव केसी कार्कीको योगदान नेपाली समुदायले सधैं सम्झिरहने बताउंछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री