गोर्खा खटिए पुनर्निर्माणमा

image
लन्डन । मेडस्टोनमा रहेका गोर्खाहरु भूकम्पपछि क्षतिग्रस्त नेपालको गाउं बनाउन व्यस्त छन् ।

क्वीन्स् गोर्खा इन्जिनियर (क्वीजिइ) आवद्ध करिब ९० गोर्खाहरु पुनर्निर्माणमा लागेका हुन् । ७० गोर्खा फिल्ड स्क्वाड्रोन, ३६ इन्जिनियर रेजिमेन्ट गत अक्टोबरदेखि नै नेपालको ग्रामीण वस्तीमा आवास निर्माणमा लागिरहेको थियो ।

जिरी, नेत्रकाली, जौबारी र पाचोकमा गोर्खाहरुले ६ वटा विद्यालय भवनका 
२५ कोठा, दुई सामुदायिक भवन, गोर्खा वेलफेयर स्किम कर्मचारीका लागि आवास गृह र अवकासप्राप्त भूपू गोर्खाका लागि चारवटा भूकम्प प्रतिरोधी घर निर्माण गरिसकेका छन् । स्क्वाड्रोन गत फेब्रुअरी अन्तिममा आफ्नो बेस इन्भिक्टा पार्क ब्यारेक्स्, मेडस्टोन फर्किसकेको छ र उनीहरुको ठाउंमा ६९ गोर्खा फिल्ड स्क्वाड्रोन खटिएको छ ।

मर्मत २ अपरेशनका लागि उनीहरुलाई खटाइएको केन्ट न्यूजले जनाएको छ । उनीहरुले सेवारत गोर्खा र भूपू गोर्खाका भत्किएका घर, ग्रामीण भेगका विद्यालय, सामुदायिक भवन बनाइरहेका छन् ।

भूकम्प लगत्तै उद्दार तथा राहत वितरणमा खटाइएका ति गोर्खालाई पछि निर्माणतिर लगाइएको हो । गोर्खा वेलफेयर ट्रष्ट नामक च्यारिटीको गोर्खा वेलफेयर स्किम अन्तर्गत उनीहरु पुनर्निर्माणमा सक्रिय भएका हुन् ।

कमान्डिङ अफिसर मेजर क्रिस एलवर्दी (एमबीइ) ले आफूहरुले धेरै चुनौती सामना गर्नु परेपनि नेपालको पुनर्निर्माणमा सहभागी हुन पाउनु गौरवको विषय भएको बताए ।

स्टाफ सार्जेन्ट बीरेन्द्र काङबाङ (४१) टेन्टभित्र बसेर जाडोमा काम गर्दा ज्यादै कष्ट भएको अनुभव सुनाउंछन् । उनले आफूले सिकेको सीप र प्रयोग गरिने सामाग्री नेपालको ग्रामीण भेगमा विल्कुलै फरक र कठिनाइपूर्ण भएको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री