सार्क मन्त्रिपरिषद्का लागि एजेन्डा तय गर्दै स्थायी समिति बैठक सम्पन्न

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३७ औँ मन्त्रिपरिषद् बैठकको पूर्वसन्ध्यामा बुधबार सार्क स्थायी समितिको बैठकका सहभागीहरु सामूहिकरुपमा । तस्बिर ः हरि वास्तोला, पोखरा, रासस

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३७ औँ मन्त्रिपरिषद् बैठकको पूर्वसन्ध्यामा बुधबार सार्क स्थायी समितिको बैठकका सहभागीहरु सामूहिकरुपमा । तस्बिर ः हरि वास्तोला, पोखरा, रासस

पोखरा, ३ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३७ औँ मन्त्रिपरिषद् बैठकको पूर्वसन्ध्यामा आज बसेको सार्क स्थायी समितिको बैठक भोलि हुने सार्क मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गरिने एजेन्डा तय गर्दै सम्पन्न भएको छ ।

आठवटै सदस्य मुलुकका परराष्ट्र बाह्य मामिला मन्त्रालयका सचिव सम्मिलित बैठकको अध्यक्षता नेपालका परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीले गर्नुभएको थियो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सचिव बैरागीले आज विभिन्न ३२ वटा एजेन्डामा छलफल भई भोलिको मन्त्रिपरिषद् बैठकका लागि प्रतिवेदन तयार गरिएको जानकारी दिनुभयो ।

सार्कले दक्षिण एसियाली सहयोगका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउँदै उहाँले उपलब्धिमूलक काम गर्न धेरै बाँकी रहेको बताउनुभयो ।

सार्कका विगतमा भएका निर्णय कार्यान्वयन हुनपर्ने, सदस्य राष्ट्रले स्वीकार गरेका तर कार्यान्वयनमा नल्याएका कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गरिनुपर्ने, निर्धारित समयमा नै सार्कका गतिविधि सम्पन्न हुनुपर्नेलगायतका विषयमा बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

बैठकले सार्क सम्मेलन प्रत्येक दुई वर्षको नोभेम्बरमा गर्ने प्रस्ताव गरेको बैरागीले जानकारी दिनुभयो । नोभेम्बर महिनामा गर्ने तय भए पनि दिन भने सम्बन्धित राष्ट्रले अन्य राष्ट्रसँगको समन्वयमा निर्धारण गर्ने उहाँले बताउनुभयो ।

बैठकमा सार्कका विद्यमान गतिविधि, जलवायु परिवर्तन, वातावरण संरक्षण, प्राकृतिक विपत्ति, स्वास्थ्य, जैविक ऊर्जा, सामाजिक विकास, सञ्चार प्रविधिलगायतका विषयमा छलफल भएको थियो ।

भोलि हुने मन्त्रिपरिषदको बैठकमा सहभागी हुन सबै सदस्य राष्ट्रका परराष्ट्रमन्त्री पोखरा आइसक्नुभएको छ ।

भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायतलाई पोखरा विमानस्थलमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, सूचना तथा सञ्चारमन्त्री शेरधन राई, क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइराला, नायब शिष्टाचार महापाल राजाराम बर्तौला, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलगायतले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री