वासिङटन, २ चैत । सिरियाको वारेमा जेनेभा शान्ति वार्ताकै क्रममा सोमबार अमेरिकी राष्ट्रपति बाराक ओबामा र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको समाचार छ ।
उहाँहरुबीचको वार्तामा सिरियाबाट रसियाली सेना हटाउने बारेमा कुराकानी भएको ह्वाइटहाउसले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि राष्ट्रपति पुटिनले सिरियाबाट आंशिक रुपमा सेना हटाउने निर्णय गरिसक्नुभएकोले त्यस बारेमा राष्ट्रपति ओबामालाई जानकारी गराउनुभएको थियो ।
उहाँहरुबीच सिरियामा शान्ति स्थापनाका लागि हुने जेनेभा वार्ताका बारेमा पनि कुराकानी भएको बताइएको छ । सो वार्तामा सिरियामा जारी रहेको रसियाली सैनिकको गस्ती एवम् उपस्थिति नराखिने र रसियाली सेना त्यहाँबाट हटाउने बारेमा कुराकानी भएको थियो ।
ह्वाइटहाउसको सो विज्ञप्तिमा भनिएको छ– सो वार्तामा सोमबारमात्र रसियाली राष्ट्रपतिले सिरियाबाट आंशिक रुपमा आफ्ना सेना फिर्ता गर्ने विषयका साथै सिरियामा जारी रहेको युद्धविरामलाई थप सशक्त बनाउने र त्यसका लागि आवश्यक पर्ने कदमका बारेमा पनि कुराकानी भएको थियो ।
सिरियामा केही महिनादेखि रसियाली सेनाले हवाई हमला गर्ने गरेको थियो । यस सैनिक तैनाथीलाई अमेरिकाले भने सिरियाली शासकलाई गरेको ठूलो सहयोगका रुपमा ब्याख्या गर्ने गरेको थियो ।
सिरियामा अमेरिकाको पनि सैनिक रहेको छ । उसले पनि त्यहाँको अवस्थाको मूल्यांकन गरिरहेको जनाएको छ । त्यसअघि पनि सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि भन्दै अमेरिकी सेनाले पनि हमला गर्ने गरेको थियो ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सोमबारबाट जेनेभामा सिरियाली द्वन्द्वको अन्त्यका लागि शान्तिवार्ता सुरुगर्ने तयारी गरिएको छ । तर यसको पछिल्लो प्रगतिका बारेमा भने केही आएको छैन ।
यस वार्तामा बस्नका लागि सिरियाली विपक्षीहरुका तर्फबाट भने राष्ट्रपति बसर अल असदले कुनै पनि हालतमा सत्ता छोड्पर्ने अडान अघि सारिएको छ । असदले सत्ता छोड्ने शर्तमा मात्र सिरियाली विपक्षीले वार्तामा बस्ने जनाउँदै आएका छन् ।
गत पाँच वर्षदेखि सिरियामा जारी रहेको द्वन्द्वको समाप्तिका लागि जेनेभामा हुन लागेको शान्तिवार्ता अघि सिरियाली विपक्षीले सो अडान राखेका हुन् ।
सरियामा सन् २०११ बाट सुरु भएको द्वन्द्वमा परी दुई लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएपछि यो द्वन्द्व अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब पनि परेको छ ।
जारी द्वन्द्वमा मारिएकामध्ये करिब ८० हजार सर्वसाधारण रहेका छन् । तीमध्ये पनि १३ हजार पाँच सय भने बालबालिकाको सङ्ख्या रहेको छ ।
गएको सेप्टेम्बर महिनाबाट सिरियामा रसियाले सुरु गरेको हवाई हमलापछि त्यस घटनाको विरोध भएको थियो । तर सोमबार राष्ट्रपति पुटिनले गरेको यो सैनिक फिर्ताको घोषणाले गर्दा अबका दिनमा के कसरी परिस्थिति अघि बढ्छ भन्ने बारेमा भने बडो सतर्कतासाथ हेर्नुपर्ने भएको अमेरिकी अधिकारीहरुको भनाई छ ।
सरियाको जनसङ्ख्याको कम्तीमा पनि ५० प्रतिशत जनता विस्थापित हुनु परेको र यस मध्यपूर्वी देशलाई निकै ठूलो जनधनको क्षति पुरयाएको यस द्वन्द्वको अन्त्यका लागि सुरु भएको यस वार्ताप्रति आशा पलाएको बताइएको छ ।
शान्तिको पहल सार्थक ः फ्रान्स
यसैबीच अर्काे एक समाचारअनुसार सिरियाली शान्तिका लागि संयुक्तराज्य अमेरिका र रसियाको पहलमा हुन लागेको यस शान्ति वार्ताको परिणाम सकारात्मक आउने फ्रान्सले जनाएको छ ।
यी दुई देशबाट भएको यस वार्ताको पहलले वास्तविक प्रगति हासिल गरेको र यसैबमोजिम आगामी वार्ता पनि अघि बढ्ने अपेक्षा गरिएको फ्रान्सले जनाएको हो ।
फ्रान्सका विदेशमन्त्री जाँ–मार्क आयरुल्टले सिरियाबारेमा जेनेभा शान्ति वार्ता पुनः सुरु हुनुपूर्व युद्धविरामको सबै पक्षबाट पूर्णतया सम्मानगर्दै सम्पूर्ण सिरियाली नागरिकमा मानवीय सहायताको पहुँच पुग्ने अवस्था आउनु सकारात्मक हो ।
हामी जेनेभामा भएको शान्ति पहलको शीघ्र कार्यान्वयन होस् भन्ने कुरामा विश्वास राख्छौँ, फ्रान्सेली विदेशमन्त्रीले भन्नुभयो । सिरियमा जारी केही हप्ताको युद्धविरामपछि वार्ताको तयारी हुदैछ ।
उहाँले भन्नुभयो – “ पुनःशान्ति वार्ता सुरु हुनुअघि सबै सिरियाली नागरिकबीच मानवीय सहयोगको पहुँच तथा विद्रोही तथा सरकार पक्षबाट युद्धविरामको पूर्ण परिपालना हुनुपर्छ र यसका माध्यमबाट वार्तामा विश्वास कायम हुनसक्छ ।