पाँचवर्ष भित्र चीनको जनसङ्ख्या १ अर्ब ४२ करोड पुग्ने

Flag_of_the_People's_Republic_of_China

बेइजिङ, २२ फागुन । चीनको जनसङ्ख्या आगामी पाँच वर्षभित्र अर्थात् सन् २०२० को अन्त्यसम्ममा १ अर्ब ४२ करोड पुग्ने अनुमान गरिएको छ ।
चिनियाँ अधिकारीहरुले शनिबार सार्वजनिक गरेको तथ्याङ्कमा चीनको जनसङ्ख्या आगामी सन् २०२० को अनत्यसम्ममा १ अर्ब ४२ करोड पुग्ने देखिएको हो ।
शनिबार चिनियाँ अधिकारीहरुले विकासका लागि अन्य कार्यक्रमहरुका साथै आगामी पाँच वर्षका लागि चीनको जनसङ्ख्या बृद्धिको पनि आंकलन गरेका थिए ।
उक्त पाँचवर्षे योजनामा गरिएको अनुमानअनुसार आगामी पाँच वार्षमा यहाँको जनसङ्ख्या कम्तीमा पनि साढे चार करोड थपिने छ ।
सोही आधारमा आगामी पाँचवर्षमा चीनको जनसङ्ख्या त्यतिधेरै पुग्ने बताइएको हो । चीन हाल पनि विश्वकै सबैभन्दा बढी जनसङ्ख्या रहेको देश हो ।
सन् २०१५ को अन्त्यसम्ममा चीनको जनसङ्ख्या करिब एक अर्ब ३८ करोड रहेको बताइएको थियो ।
चीनको केन्द्रीय तथ्याङ्क विभागले सन् २०१५ को अन्त्यसम्मको भनी शनिबार सार्वजनिक गरेको जनसङ्ख्या प्रतिवेदनमा सो सङ्ख्या देखाइएको छ ।
यस प्रतिवेदनमा नै चीन सरकारले आगामी दिनमा जनसङ्ख्या नियन्त्रणको नीति अख्तियार गर्ने जनाइएको छ । सरकारले आधारभूत सेवाका रुपमा यो नीति पनि अख्तियार गर्ने भएको हो ।
चीन सरकारले सन् २०१६ को सुरुवातदेखि नै चीनमा दुई सन्तान नीतिलाई अनुमति दिएको थियो । यसअघि सन् १९७० को दशकदेखि चीन सरकारले त्यहाँ एक सन्तान मात्र जन्माउन पाउने अधिकार चिनियाँ नागरिकलाई दिएको थियो ।
चीन सरकारले यसअघि अपनाएको एक सन्तान नीतिका कारण पनि चीनमा लैंगिक असमानताको अवस्था देखिएको थियो ।
दुई मात्र सन्तान जन्माउने अनुमति पाउदा कतिपय चिनियाँ नागरिकले छोराको मात्र चाहना राख्ने कारणले गर्दा यस्तो अवस्था देखिएको जनसङ्याविद्हरुले जनाएका थिए ।
हाल विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देशका नागरिकमा लैंगिक औषतमा पनि त्यस्तै अवस्था देखिएकोले यसको व्यवस्थापनका लागि पनि चीन सरकारले नीति अख्तियार गर्ने जनाइएको छ ।
प्रजनन एवम् मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा पनि सुधार गरिने तथा यसका अतिरिक्त जनसङ्ख्याको व्यवस्थापनका नीतिहरुमा पनि संशोधन गरिने जानकारी दिइएको छ ।
चीनमा परिवार नियोजन र जन्मदर दर्ताजस्ता कार्यक्रमहरुमा परिवर्तन एवम् सुधार गरिने शनिबार प्रस्तुत गरिएको जनसङ्ख्यासम्बन्धी प्रतिवेदनमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री