काठमाडौँ, १७ फागुन । पूर्वाञ्चलमा हुने भनिएको साताँै राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः स्थगन भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा यही फागुन १८ देखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तय भएता पनि समयमा नै बजेट निकासा नभएकाले हालको लागि स्थगन गर्नुपरेको राखेपले जनाएको छ । यसअघि प्रतियोगिता मङ्सिर ११ देखि १८ गतेसम्म सञ्चालन गर्ने भनिएता पनि बजेट अभावको कारण फागुन महिनामा गर्ने तय भएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयले बजेट निकासा नगरेकाले अर्को निर्णय नभएसम्मका लागि प्रतियोगिता स्थगन गर्ने निर्णय भएको सातौँ राष्ट्रिय खेलकुद सचिवालयले जानकारी दिएको छ । उक्त प्रतियोगिताका लागि रु २३ करोड बजेट माग गरिएको थियो ।