सिरियाली युद्धविरामको रसिया र अमेरिकाद्वारा स्वागत

syriaa

दमासकस (सिरिया), १६ फागुन । सिरियामा शुक्रबारको मध्यरातिदेखि सुरु भएको युद्धविराम पालना भएकोमा संयुक्त राज्य अमेरिका र रसियाले स्वागत गरेका छन् ।

आइतबार अमेरिकी र रसियाली विदेशमन्त्रीबीच फोन वार्ता भएको थियो । सो वार्ताका क्रममा सिरियामा युद्धविराम लागू भएको र त्यसको पालना भएकोभन्दै त्यसको स्वागत गरिएको हो ।

उहाँहरुले सो विषयमा गरिएका अनुगमनहरुको रिपोर्ट लिनुभएको र सोही बमोजिम सरकार तथा विद्रोही तर्फबाट नै देशमा शान्तिको पहलस्वरुप कुनै हिंसात्मक कार्य नगरेको पाइएको बताइएको छ ।
संयुक्त राज्य अमेरिका र रसियाको विशेष पहलमा सुरु भएको यस युद्धविरामको शुक्रबार मध्यरातिदेखि नै अनुगमन थालिएको हो ।

अमेरिकी विदेशमन्त्री जोन केरी र रसियाली विदेशमन्त्री सेर्गेई लाभरोभले यस विषयमा छलफल गर्नुभएको हो ।

छलफलका क्रममा उहाँहरुले आगामी दिनमा सिरियामा शान्तिका लागि थप पहल के कसरी गर्ने भन्ने बारेमा पनि कुराकानी गर्नुभएको बताइएको छ ।

उहाँहरुबीचको वार्ताका क्रममा आगामी केही दिनमा नै सिरियाली सहयोग समूहको बैठक राखेर युद्धविरामको अनुगमनका साथै शान्तिवार्ताको पहल के कसरी गर्न सकिन्छ भनेर छलफल गर्ने विषयमा सहमति भएको पनि जानकारी दिइएको छ ।

एएफपीका समाचारदाताले आइतबार सिरियाली राजधानी दमासकसबाट दिएको समाचारमा युद्धविरामको सुरुवात भएको मध्यरातिदेखि आइतबारसम्म कुनै हिंसाका घटना भएका छैनन् र सरकारी एवम् विद्रोही पक्षबाट नै यसका लागि संयमता अपनाएको देखिएको छ ।

यस युद्धविरामलाई इमान्दारिताका साथ पालना गर्न संयुक्त राष्ट्रसंघले पनि विश्वव्यापी रुपमा आग्रह गरेको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि युद्धविरामका लागि इमान्दार रहन आग्रह गर्दै यसको कार्यान्वयन भए नभएको संसारका मानिसले निगरानी गरिरहेको जानकारी गराउनुभएको छ ।

सिरियाली राष्ट्रपति बसर अल असदले अमेरिका र रसियाद्वारा प्रस्तावित यस युद्धविरामका लागि आफू सहमत रहेको प्रतिबद्धता बुधबारै व्यक्त गर्नुभएको जनाइएको छ ।

सिरियामा विद्रोह गरिरहेका विपक्षीहरुले पनि यस विषयमा सहमति जनाएका छन् । उनीहरुले सरकारी सेनाले गर्ने गरेका हवाई हमला रोक्नुपर्ने, देशभरि नै आवश्यक परेको मानवीय सहायतासम्बन्धी नागरिकलाई सहयोग पु¥याउन दिनुपर्ने जस्ता सर्त राखेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले यो अवस्थासम्म ल्याइपुरयाउनका लागि मेहनेत गर्ने अमेरिका र रसियालाई पनि विशेष धन्यवाद दिनुभएको छ ।

सिरियामा गएको करिब पाँचवर्षदेखि हिंसा जारी रहेको छ । त्यहाँको गृहयुद्धमा परी दुई लाख ७० हजार भन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीको ज्यान गएको मानवअधिकारीवादी समूहले मङ्गलबार जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री