काँग्रेस महाधिवेशनमा विद्युतीय मतदानको तयारी

nepali-congress-flag-565x400

काठमाडौँ, १४ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा विद्युतीय मतदान गर्ने तयारी गरिएको छ ।
सभापतिलगायत उम्मेदवारको नाम विद्युतीय यन्त्रमा राखी तीन हजार १८१ मतदाताले यन्त्रमै मतदान गर्ने गरी तयारी गरिएको समितिका संयोजक राधेश्याम अधिकारीले राससलाई जानकारी दिनुभयो ।

“पार्टी केन्द्रीय समितिले परम्परागत वा विद्युतीय मतदानमध्ये जुनसुकै प्रक्रिया अपनाउने व्यवस्था मिलाउन सक्ने निर्वाचन समितिलाई अधिकार दिएकाले कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा एवम् केन्द्रीय पदाधिकारीसँग छलफल गरी विद्युतीय मतदान प्रक्रियामा जाने तयारी सुरु गरेका हौँ”–संयोजक अधिकारीले भन्नुभयो ।

नेपालमै राम लक्ष्मणले उत्पादन गरेको विद्युतीय यन्त्रबाट मतदान गर्दा कुनै मत खेर नजाने समितिको भनाइ छ । यो यन्त्रबाट मतदान गर्दा छोटो समयमा मतदान सकिने र परिणाम पनि छिटो प्राप्त हुने बताइएको छ । आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा विद्युतीय यन्त्र राखी महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने तयारी गरिएको छ ।

भृकुटीमण्डपस्थित बन्दसत्र सञ्चालन हुने स्थलमा मतदानमा जानुअघि पनि महाधिवेशन प्रतिनिधिलाई यन्त्रमा मतदान गर्ने तरिका सिकाइने तयारीसमेत समितिले गरेको छ । यसअघि नेकपा (एमाले)को नवौँ महाधिवेशनमा विद्युतीय मतदान गर्ने तयारी गरिएकामा अध्यक्ष पदका उम्मेदवार माधवकुमार नेपालले असहमति जनाएपछि प्रयोगमा ल्याइएको थिएन ।

तेह्रौँ महाधिवेशनमा यसको प्रयोग गरिएमा विद्युतीय यन्त्रबाट नेता छान्ने काँग्रेस पहिलो पार्टी हुनेछ । काँग्रेस विधानअनुसार सभापति, एक महामन्त्री, एक कोषाध्यक्ष, खुला केन्द्रीय सदस्य २५ तथा १४ अञ्चलबाट प्रतिनिधित्व गर्ने १४ केन्द्रीय सदस्य, आरक्षणअन्तर्गत महिलाबाट ६, दलितबाट पाँच, आदिवासी जनजातिबाट पाँच, मधेसीबाट पाँच र मुस्लिमबाट एक गरी ६४ जनाको निर्वाचन हुनेछ । बाँकी पदाधिकारी र केन्द्रीय सदस्य सभापतिले मनोनयन गरी केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने विधानमा व्यवस्था गरिएको छ ।

६२ जिल्लाको अधिवेशन सम्पन्न 
महाधिवेशन तयारीका क्रममा ६२ जिल्लामा अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ ।

हालसम्म ७२ जिल्लाका २३४ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छानिएका छन् । धनुषाको ४, ५, ६ र ७ नम्बर क्षेत्र गरी चार, रसुवाको एक र महोत्तरीको एक क्षेत्र (३ नं) गरी छवटा क्षेत्रबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुन बाँकी रहेको संयोजक अधिकारीले बताउनुभयो । दुई दिनभित्र छवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सक्न निर्देशन दिइएको समितिले जनाएको छ ।

आज शुक्रबारसम्म सम्पन्न ६२ जिल्ला अधिवेशनबाट निर्वाचित भएका नेपाली काँग्रेसका जिल्ला सभापतिमा ताप्लेजुङमा लीला बोखिम, पाँचथरमा नरेन्द्र केरुङ, इलाममा हिमालय कर्माचार्य, झापामा उद्धव थापा, मोरङमा डिगबहादुर लिम्बू, सुनसरीमा राजीव कोइराला, धनकुटा अग्निप्रसाद पौडेल, भोजपुर नन्दमणि राई र तेह्रथुममा गोविन्द ढुङ्गाना हुनुहुन्छ । मेची अञ्चलका चारवटै जिल्लामा अधिवेशन सम्पन्न भएको छ भने कोसीको सङ्खुवासभाको निर्वाचनमा दुई उम्मेदवारका बीचमा मत बराबर भएकाले जिल्ला सभापति छनोट हुन सकेको छैन ।

सगरमाथा अञ्चलको सोलुखुम्बुको जिल्ला अधिवेशन विवादका कारण हुन सकेको छैन । सिराहामा अधिवेशन हुने क्रममा रहेको निर्वाचन समिमित संयोजक राधेश्याम अधिकारीले जानकारी दिनुभयो । खोटाङमा नरेशकुमार श्रेष्ठ, ओखलढुङ्गामा प्रदीपकुमार सुनुवार, उदयपुरमा विदुर बस्नेत, सप्तरी दिनेश यादव, जनकपुर अञ्चलको सिन्धुलीमा उज्ज्वलप्रसाद बराल, दोलखा रुद्रबहादुर खड्का, रामेछापमा लवश्री न्यौपाने र सर्लाहीमा नागेन्द्रकुमार राय जिल्ला सभापति पदमा निर्वाचित हुनुभएको छ । धनुषा जिल्लामा आज शुक्रबार नगर अधिवेशन भइरहेको र शनिबार जिल्ला अधिवेशन हुने जानकारी केन्द्रीय निर्वाचन समितिमा प्राप्त भएको सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो । महोत्तरी जिल्लाको अधिवेशन पनि हुन बाँकी छ ।

यसैगरी बागमती अञ्चलको पाँच जिल्लामा अधिवेशन सम्पन्न भएको छ । काभ्रेपलाञ्चोकमा मधु आचार्य, धादिङमा रमेश धमला, नुवाकोट जगदीश्वरनरसिंह केसी, काठमाडौँ कृष्ण (सबुज) बानियाँ र ललितपुरमा मदन अमात्य निर्वाचित हुनुभएको छ भने भक्तपुरमा पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पाउन नसकेपछि दोस्रो चरणमा मतदानको तयारी भएको छ । सिन्धुपाल्चोक र रसुवामा विवादका कारण जिल्ला अधिवेशन हुन सकेको छैन । रसुवा एउटै निर्वाचन क्षेत्र भएकाले महाधिवेशन प्रतिनिधिको निर्वाचन पनि बिथोलिएको छ । बिहीबार बेलुकाको केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशन अगावै रसुवाको जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको छ ।

नारायणी अञ्चलको मकवानपुरमा इन्द्रबहादुर बानियाँ, रौतहटमा श्रीकृष्णप्रसाद यादव र चितवनमा जितनारायण श्रेष्ठ सभापति पदमा चुनिनुभएको छ । यस अञ्चलका बारा र पर्साको जिल्ला अधिवेशन हुन बाँकी छ । बाराको जिल्ला अधिवेशन आज शुक्रबार भइरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । गण्डकी अञ्चलको गोरखामा हरिबहादुर घले, मनाङमा टेकबहादुर गुरुङ, कास्कीमा कृष्ण केसी, तनहुँमा वैकुण्ठनाथ न्यौपाने, स्याङ्जामा कमलप्रसाद पङ्गेनी र लम्जुङ्मा भेषबहादुर पौडेल, लुम्बिनी अञ्चलको गुल्मीमा भुवन श्रेष्ठ, पाल्पामा वीरबहादुर राना, अर्घाखाँचीमा विष्णुप्रसाद खनाल ‘मुस्कान’, नवलपरासीमा विष्णु लामिछाने, कपिलवस्तुमा सुरेन्द्रराज आचार्य र रुपन्देहीमा अब्दुल रज्जाक जिल्ला सभापतिमा विजयी हुनुभएको छ ।

यस्तै, धवलागिरि अञ्चलको मुस्ताङमा याङ्जिङ विष्ट, पर्वतमा खिमप्रसाद भुसाल, बागलुङमा दीपेन्द्रबहादुर थापा र म्याग्दीमा खमबहादुर गर्जुवा ‘खम्बिर’, राप्ती अञ्चलको रुकुममा प्रेमप्रकाश ओली, रोल्पामा अमरसिंह पुन, दाङमा कीर्तिबहादुर खड्का, प्यूठानमा अमरप्रसाद भण्डारी र सल्यानमा गणेश चन्द सभापति बन्नुभएको छ ।

कर्णाली अञ्चलको मुगुमा खड्गबहादुर शाही, कालीकोटमा हर्षबहादुर बम, हुम्लामा जयपति रोकाया र जुम्लामा दीपबहादुर शाही निर्वाचित हुनुभएको छ भने डोल्पामा अधिवेशन हुन बाँकी छ । भेरी अञ्चलको जाजरकोटमा दीपकजङ्ग शाह, सुर्खेतमा कमलराज रेग्मी, बर्दियामा सञ्जय गौतम, बाँके किरण कोइराला र दैलेखमा कृष्णकुमार बिसी निर्वाचित हुनुभएको छ ।

सेती अञ्चलको डोटीमा प्रदीप देउजा, कैलालीमा नरनारायण साह, अछाम भरतबहादुर स्वाँर र बाजुरामा कविराज पण्डित सभापतिमा निर्वाचित हुनुभएको छ भने बझाङ जिल्लामा अधिवेशन हुन बाँकी छ । महाकाली अञ्चलको बैतडीमा नरेन्द्रसिंह थापा, डडेल्धुरामा कर्णबहादुर मल्ल र दार्चुलामा ललितसिंह बोहरा सभापतिमा विजयी हुनुभएको छ । कञ्चनपुरको अधिवेशन हुन बाँकी छ ।

झापाका थापा, पाल्पाका राना र अर्घाखाँचीका खनाल सर्वसम्मत सभापति चुनिनुभएको हो । काँग्रेसको केन्द्रीय महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ । खुलामञ्चमा उद्घाटन समारोह र भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री