युद्धविराम पालना गर्न सिरियालाई विश्वको दबाब

Syria_Homs_smoke_3459782b-2

दमासकस (सिरिया), १४ फागुन । विगत लामो समयदेखि हिंसा जारी रहेको मध्यपूर्वी एक राष्ट्र सिरियामा शुक्रबार मध्यरातिदेखि लागू हुने भनिएको युद्धविरामलाई विश्वव्यापी रुपमा हेरिएको समाचार छ ।

यसका कारण संसारमा नै यस विषयमा चासो र चर्चा पनि सुरु भएको बताइएको छ । शुक्रबारै मध्यरातिदेखि सुरु हुने भनिएको सो युद्धविरामको पालनाका लागि सिरियालाई पनि दबाब बढिरहेको छ ।

संयुक्त राज्य अमेरिका र रसियाको नेतृत्वमा सिरियामा युद्धविरामको प्रस्ताव गरिएको हो । सो प्रस्तावमा सिरिया सहयोगी समूहका विभिन्न १७ देश पनि पर्दछन् ।

ती देशको समेत सहभागितामा गएको हप्तामात्र सिरियाको बारेमा जर्मनीमा भएको बैठकमा सो छलफल भएको थियो । सो छलफलपछि सिरियामा युद्धविराम गर्ने विषयमा सहमति भएको थियो ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले युद्धविरामका लागि इमान्दार रहन आग्रह गर्दै यस युद्धविराम कार्यान्वयन भए नभएको बारेमा संसारका मानिसले नै निगरानी गरिरहेको जानकारी गराउनुभएको छ ।

आगामी केही दिन यसका लागि विशेष दिनहरु हुनेछन् भन्दै यसका कारण सिरियाली नागरिक र उसका हितैसीहरुमा कुनै पनि किसिमको निराशा थप्न नहुने धारणा पनि राख्नुभयो ।

राष्ट्रपति ओबामाले आगामी केही दिनमा यसका बारेमा छलफल हुने भन्दै अमेरिका र रसियाको अग्रसरतामा सुरु भएको यस पहलका लागि यी दुई देश पनि विशेषरुपमा चनाखो रहनुपर्नेमा जोड दिनुभएको छ ।

यस युद्धविरामका लागि सिरियाली विपक्षी समूह र सिरियाको सरकार पनि सहमत भएको बताइएको छ । जसका कारण उनीहरुले विश्वलाई नै विश्वास दिलाउनुपर्ने विश्वका कतिपय विश्लेषकहरुको भनाइ छ ।

यी दुई देशले सिरियाली सरकार र त्यहाँका विपक्षी एवम् विद्रोही समूहलाई शान्तिपूर्णरुपमा समस्याको समाधानका लागि युद्धविराम गरी अघि बढ्न तयार रहन आग्रह गरेका हुन् ।

सो प्रस्तावका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि आग्रह गरेको छ । १५ सदस्यीय परिषदका तर्फबाट बुधबार सो आग्रह गरएको समाचारमा जनाइएको छ ।

गएको पाँच वर्षदेखि आन्दोलन जारी राखेका विपक्षीहरुले पनि यस युद्धविरामका लागि सशर्त सहमत भएका छन् । उनीहरुले सिरियामा सरकारी सैनिकको ज्यादति रोक्न माग गरेका छन् ।

अमेरिका र रसियाले यस युद्धविरामलाई सिरियामा शान्ति स्थापनाका लागि सुरु भएको पहल भन्दै यदि युद्धविराम लागू भएमा यसले अत्यावश्यकीय वस्तुको आपूर्तिका लागि सहयोग पुग्ने पनि बताएका छन् ।

सिरियाली राष्ट्रपति बसर अल असदले सो युद्धविरामका लागि आफू सहमत रहेको प्रतिबद्धता बुधबारै व्यक्त गर्नुभएको जनाइएको छ ।

उहाँले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई टेलिफोन गरी रसिया र अमेरिकाका तर्फबाट आगामी शनिबारदेखि युद्धविराम गर्न गरिएको आदेशको पालना गर्ने जानकारी दिनुभएको क्रेमलिनले जनाएको छ ।

विपक्षीहरुले पनि सहमति जनाएका छन् । उनीहरुले सरकारी सेनाले गर्ने गरेका हवाई हमला रोक्नुपर्ने, देशभरि नै आवश्यक परेको मानवीय सहायतासम्बन्धी नागरिकलाई सहयोग पु¥याउन दिनुपर्ने, जेलमा राखिएका आफ्ना कार्यकर्तालाई रिहा गर्नुपर्ने जस्ता शर्त राखेका छन् ।

सिरियामा गएको करिब पाँचवर्षदेखि हिंसा जारी नै रहेको छ । त्यहाँको गृहयुद्धमा परी दुई लाख ७० हजार भन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीको ज्यान गएको छ ।

सिरियामा करिब पाँच वर्षयता जारी द्वन्द्वमा परी दुई लाख ७० हजार भन्दा बढी मारिएका एक मानव अधिकारीवादी समूहले गत मङ्गलबार जनाएको छ ।

यस द्वन्द्वमा परी सर्वसाधारण एवम् सुरक्षाकर्मीको ज्यान गएको बताइएको छ । सिरियाली द्वन्द्वमा मारिएका व्यक्तिहरुको नयाँ तथ्याङ्कको प्रकाशन सिरियामा युद्धविराम हुने घोषणा भएको एक दिनपछाडि भएको छ ।

सन् २०११ को मार्च महिनाबाट सुरु भएको यस द्वन्द्वमा परी दुई लाख ७१ हजार १३८ व्यक्तिले ज्यान गुमाएका बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले बताएको छ ।

सिरियामा शान्ति स्थापनाका लािग विभिन्न प्रयास भएका छन् । यस अघि पनि त्यहाँ शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघ, साउदी अरेबियालगायतले वार्ताको प्रयास गर्दै आएका थिए । तर सो प्रयास सार्थक हुन सकिरहेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री