बिहीबार, असोज ८ २०७७ | Thu, September 24, 2020
नेपालको समय: १३:०५ | UK Time: 08:20

जब मैले शान्ता चौधरी भेटें

वीनेपाली
२०७२ फागुन ४ गते २:०६

10615445_10204494194589133_382526600669303196_n

मैले कतै देखे सुनेको र पढेको नाममात्र थियो शान्ता चौधरी । अखवारमा मैले चाल पाएकी थिएं शान्ता चौधरी कमलरी थिइन्, पछि सभासद भइन् । उनले लेखेको ‘कमलरी देखि सभासदसम्म’ पुस्तकले चर्चा बटुलिरहंदा म बेलायतको राजधानी लन्डनमा शान्ताले वाल्यकालमा भोगे जस्तै कमैया पीडा सहदै थिएं होला सायद । लन्डनमा आप्रवासी महिलाले भोग्ने दुःख पीडा नेपाली समाजको भन्दा त अलिक भिन्न छ । तर, शान्ताले झेलेको कमलरी अनुभव पुस्तकमा बजारतिर फिंजिरहंदा मलाई पनि उनीसंग भेट्न तीव्र इच्छा थियो ।

मैले शान्ता साहसी र महत्वकांक्षी महिला हुन् भन्नेमात्र थाहा पाएकी थिएं । म सपना देख्थें, भेटेर उनका दुःख सुःख सुन्न सकुं । कहिले मनमा आउंथ्यो शान्तासंग भेटेर केही सामाजिक काम गर्न पाउं ।

झण्डै ९ वर्ष बेलायत रहंदा मैले जति नयां कुरा सिकें, त्यो कालखण्डमा गुमाएका कुरा पनि उत्तिकै थिए । मलाई सबैभन्दा खट्किएको र पञ्चातापको कुरा थियो, लन्डनमा बितेको त्यो प्राइम टाइम परिवार र मातृभूमिका लागि दिन सकिन । म समाजसेवा भनेपछि सानै देखि रुचि राख्थें । टिनएजदेखि नै घरमा डेरा गरि बस्ने एकजना दिदीका लालाबालाको अध्ययनमा म पैसा खर्चन्थें । चाहे हेल्प नेपालमार्फत होस्, चाहे अरु कसैको आपतमा मेरो पनि मन पग्लन्थ्यो । तर, जति गर्न चाह थियो, म विदेशमा अल्झिएर त्यो गर्न पाइन । यी अभावले पनि म शान्ता चौधरीसंग भेट्न चाहन्थें किनकि उनी निडर समाजसेवी महिला वा सामाजिक अभियन्ता पनि थिइन् ।

नेपाल फर्किएपछि बेलायतको नेपाली डायस्पोरामा एक परिचित समाजसेवी महिला सुष्मा राईमार्फत मैले शान्ता दिदीसंग चिनजान गर्ने मौका पाएकी थिएं । उठबस धेरै दिन नभएपनि दिदीको विचार, कुरा गराई, स्वभाव, साहस र महत्वाकांक्षा देखेर म छिट्टै प्रभावित भएं । दिदीले बिताएका संघर्षका कुरा सुनेर मलाई आत्मविश्वास बढेको थियो । अभाव र अप्ठेरोमा कसरी जीउनु पर्छ दिदीले मलाई सिकाउनुभएको थियो । मेरा कुरा सुनेर पनि दिदीले केही सम्भावना देख्नु भयो होला सायद । छोटै समयमा उहांले मलाई बहिनी जस्तै व्यवहार गर्न थाल्नु भयो ।

म अब उहांको फ्यान भइसकेको थिएं । यसै क्रममा मलाई दिदीसंगै प्रवासी नेपालीको आर्थिक सहयोगमा दाङका अनाथ एवं असहाय वालवालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रममा दाङ जाने मौका मिल्यो । द्वन्द्वले टुहुरा र विचल्ली भएका वालवालिका जाडोले कठ्यांग्रिएका । तिनै वालवालिकालाई जाडो छल्न न्यानो कपडा बांड्ने कार्यक्रम रहेछ । सामाजिक अभियन्ता पूर्व सभासद शान्ता चौधरीले संरक्षण दिंदै आएका दाङका असहाय, विपन्न तथा अनाथ एकसय वालवालिकालाई न्यानो कपडा वितरण गर्न म पनि दिदीसंगै त्यता पुगें । जनता प्रावि र भूमि निमाविका स साना असहाय तथा अनाथ वालवालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रममा म सामेल हुन पाएं ।

12647357_10207391594782327_1637967056357026206_n

शान्ता चौधरी (बायां) र लेखिका

कार्यक्रममा सहभागी भएर मैले ति असहाय वालवालिकालाई एक सरो भएपनि न्यानो कपडा बांड्दा उनीहरुको अनुहारमा छाएको मुस्कान र मलाई गाउंलेले दिएको न्यानो आतिथ्यले म जति पुलकित थिएं, त्यो भन्दा बढि म शान्ता दिदीको गाउंमा प्रभाव देखेर अचम्भित भएको थिएं । दिदीको सरल स्वभाव, आंट र अरुको मन सजिलै पगाल्न सक्ने खुवीले म झन् प्रभावित भएको थिएं । उहांमा बनावटी र काल्पनिकता कत्ति रहेनछ । सायद उहांको वाल्यकाल बडो संघर्षमा बितेकाले होला, उहांमा घमण्डीपन विल्कुल थिएन । महिला भएर आत्मबल र हिम्मत कसरी बढाउनु पर्छ दिदीले सिकाउनु भएको थियो । मैले कतै सुनेको सुःखमा नमात्तिनु, दुःखमा नआत्तिनु भनाइ दिदीले अनुशरण गरिरहेको ठम्याउन मलाई कत्ति असहज थिएन । एक साता दिदीसंगै दाङ रहंदा मैले उहांबाट जीवन जिउने कला धेरै सिकिसकेको थिएं । उहांले समाजसेवामा लगाएको आफ्नो उर्जाशील समयले मलाई पनि केही सामाजिक काम गर्न उत्प्रेरणा मिलिरहेको थियो । सुख सयल विदेशमा होइन, नेपालमै लिन सकिन्छ भन्नेमा उहांले मलाई विश्वास दिलाउनु भएको छ ।

दिदी भन्नुहुन्थ्यो पैसा ठूलो कुरा होइन, बरु एकपटक जन्मेपछि देश र समाजका लागि केही गर्नुपर्छ । दिदी बेला बेला सुनाउनुहुन्थ्यो राजनीतिका कुरा । राजनीतिक अस्थिरताले देश विकास हुन नसकेकोमा उहांलाई पनि पश्चाताप रहेछ । उहां अहिले पूर्व सभासद भइसक्नुभएको छ तर महिलाको राजनीतिक चेतनास्तर वृद्धि, उत्थान र हकहितका लागि उहांको पहल जारी छ । उहांमा देशप्रति चिन्ता झन् बढ्दो रहेको भेऊ पाएं ।

आफ्नो वाल्यकाल पीडै पीडा र कष्टमा बितेकाले होला सायद, उहांमा वालवालिकाप्रति बढि नै माया रहेछ । गफिने क्रममा उहां कमैया बस्दा मालिकको उत्पीडन र बुझ्ने भएपछि त्यो दासत्वप्रति गरेको विद्रोह बेलिविस्तार लगाउनुहुन्थ्यो । सुन्दा कारुणिक लाग्थे उहांको अतित तर विचलन र वितृष्णा भन्दा झन् बढि साहस पाएं उहांमा । दुःख कष्टले नै अहिले यो हाइटमा पुगेकामा उहांलाई कत्ति हीनतावोध रहेनछ ।

शान्ता दिदीसंग एक साता दाङतिर बिताएको पत्तै भएन । उहांको प्रेरणा मेरो जीवनका लागि एउटा मार्गदर्शन भएको छ । आशा छ, आगामी दिनमा दिदीबाट अझ धेरै कुरा सिक्न सकुं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक