शुक्रबार, असोज २ २०७७ | Fri, September 18, 2020
नेपालको समय: २३:२७ | UK Time: 18:42

औद्योगिक क्रान्तिको शिक्षा

वीनेपाली
२०७२ माघ २६ गते १:०७

bikal dai new

जुनसुकै देशको विकासको लागि सवल अर्थतन्त्र अपरिहार्य हुन्छ । नेपालमा आर्थिक नीतिबारे चर्चा परिचर्चा उति हुंदैन जति हुनुपर्छ । चाहेको जस्तो सम्वृद्ध देश हुनको लागि सबैको आ-आफ्नो भूमिका रहन्छ । राजनैतिक नेतृत्व गर्नेले इमान्दारिता, कर्तव्यपरायणता, लगनशीलता तथा सक्षमतालाई अंगाल्दै सहि आर्थिक नीति तथा कार्यक्रम मार्फत सबैलाई साथमा लिएर अगाडि बढे देश बिकास हुन धेरै समय नलागेको अरु देशहरुको ज्वलन्त उदाहरण हाम्रा सामु छंदैछ ।

वर्तमान बेलायतको आधुनिक आर्थिक ब्यबस्थाको शुरुवात औद्योगिक क्रान्तिवाट भएको मान्न सकिन्छ । त्यसबेला देखि बेलायतले भोग्दै र सिक्दै आएको इतिहासले नेपाल लगायत बिकाशोन्मुख देशहरुले धेरै कुरा सिक्न र मनन गर्न सक्छन् ।

दुई शताब्दी भन्दा पहिले देखि शुरु भएको औद्योगिक क्रान्तिको चर्चा परिचर्चा आ-आफ्नो दृष्टिकोणबाट हुदै आएको छ । सन् १७६० देखि १८५० को अबधिमा बेलायतमा आर्थिक वृद्धि, प्रविधिमा परिबर्तन, आर्थिक बिकास, खुला र प्रतिस्पर्धा ब्यबसाय जस्ता महत्वपूर्ण कार्य गर्न सफल भएको थियो । तर, लेखकहरु डिकीन्स, एन्जल्स, हयामंडले औद्योगिक क्रान्तिलाई पूंजीबाद र काम गर्ने मानिसको  (working class) अधोगति भनेर संज्ञा दिएका छन् । औद्योगिक क्रान्तिको आलोचकहरुले यस क्रान्ति मार्फत  अर्थशास्त्री हार्टवेयलले भनेका र धेरैले स्वीकार गरेको “आर्थिक दरिद्रताको सिद्धान्त” को बिकास भएको ठान्दछन् । जसले गर्दा अनियन्त्रित पूंजीले धनि अरु धनि हुने  र गरिब अरु गरिब हुन पुगेको मान्दछन् । साधारण मानिसको लागि औद्योगिक क्रान्ति पूंजीवादको भुतसंग जोडिएको थियो ।

मजदुरले मात्र औद्योगिक क्रान्तिलाई “कालो शैतानी कारखाना” भन्ने नभईकन जसले औद्योगिक क्रान्तिको अध्ययन गरेको छ उनीहरुले पूंजीबादले मजदुर तथा कामदार बर्गको जीवनस्तर खस्केको मान्दछन । औद्योगिक क्रान्तिमा मजदुरको तलब निकै कम, नाजुक अवस्थामा र धेरै घण्टा काम, धेरै महिला तथा बाल कामदारको दयनीय कामको अवस्था  थियो । हातले कोपरेर कोइला खानीमा दस बर्षभन्दा कामका बाल मजदुरहरु काम गर्दथे । कलकारखानामा काम गर्दा घाइते भएकाहरुको संख्या निकै नै बढी थियो । यिनीहरुले पाउने कुनै केहि सुबिधा थिएन । जागिर गुमाएर गरिबीमा अरु पिल्सनु बाहेक केहि उपाय थिएन ।

यसै समयमा धेरै मानिसहरु रातारात धनि भएपछि बहालमा बसेका या भूमिहीन मानिसहरुलाई आफ्नो घर तथा जग्गाबाट निकालेर त्यहाँ उद्योग तथा कलकारखानाहरु खोल्ने क्रम जोडदारले चल्यो । यसको कारणले घर र जग्गा नहुनेहरु सहरमा छिर्न बाध्य पारियो । फलस्वरूप बेलायतका शहरहरुको जनसंख्यामा निकै नै वृद्धि भयो । यस्ता मजदुर तथा काम गर्ने बर्गको शहर पलायनले यिनीहरुमा गरिबी अरु छायो । लन्डन भ्रमणमा आएका भारतका राजा नाना साहेबका दूत अजिमुल्ला खानको अनुभवले लन्डनको दरिद्रता अरु झल्काउछ ।

नाना साहेब भारतको मराठी राज्यको राजा बाजी राव दोश्रोका धर्मपुत्र हुन् । राजा बाजी राव दोश्रोको मृत्युपछि उक्त पेन्सनको यिनी हकदार थिए । आफुले पाउन पर्ने  करिब ८० हजार पाउण्ड बार्षिक पेन्सन इष्ट इन्डिया कम्पनीले दिन इन्कार गर्यो । यसपछिका नाना साहेबले बेलायति साम्राज्य बिरुद्ध लडाई लडे । यिनले बेलायती शासकलाई आत्मसमर्पण गर्न बाध्य पारि केहि दिनको लागि  कानपुर शहर कब्जामा लिएका थिए । केहि दिन पछि बेलायती सैनिकसंग घमासान लडाई भयो र कानपुरमा यिनको हार भयो । इष्ट इन्डिया कम्पनीले कानपुर जितेपछि यी नाना साहेब हराए र नेपालमा शरणार्थी भएर गए ।

१८५९ तिर नाना साहेब पूर्वी नेपाल छिरेका थिए । यिनिलाई जंगबहादुर राणाले सुरक्षाका साथ राखेका थिए ।  पछि फेब्रुअरी १८६० मा नाना साहेबकी धर्मपत्नीले शरण लिई थापाथलीमा बसेका थिए ।

अजिमुल्ला अंग्रेजी र फ्रेन्च भाषाका ज्ञाता थिए । नाना साहेब र इष्ट इन्डिया कम्पनी बिच पेन्सनको बारे झैँ झगडा भइरहेको हुनाले नाना साहेबको दूत बनेर सन् १८५३ मा बेलायति सरकारसंग कुरा गर्न लन्डन आएका थिए । बेलायति सरकारसंगको बार्ता बिफल भएपछि यिनीले नाना साहेबलाई बेलायति साम्राज्य बिरुद्ध लड्न अरु सल्लाह दिए । फलत: सन् १८५७ को बेलायति बिरुद्ध आन्दोलन भारतमा गराउन यी अजिमुल्लाले बिउ रोपेका थिए । अजिमुल्लाले फ्रेन्च प्रिन्टिंग प्रेस लिएर गए र बेलायत बिरुद्ध पर्चाबाजी अभियानको शुरुवात गरे ।

अजिमुल्लाले इंग्ल्यान्डमा बस्दा यहाको गरिबी देखेर दंग परेका थिए । संसारको सबैभन्दा शक्तिशाली देशको जनताको कहालीलाग्दो अवस्था देखेर उनले पचास हजार पाउण्ड चन्दा दिएका थिए । यसबेलामा क्राइमिया युद्दमा बेलायती शैन्यहरूको हरिबिजोक हेर्न क्राइमियापनि पुगेका थिए । बस्न बास नभएर खानै नपाएको अबस्था बेलायतको विभिन्न शहरमा भएको बर्णन गरेका छन् । बेलायति साम्राज्यबाट सम्भ्रान्त बर्गहरुले मात्रै फाइदा उठाएको ठहर गरे ।

यसरी बेलायतमा गरिबीबाट अत्यन्त नाजुक परिस्थिति हुदै गएपछि गरिबी कानुन सन् १८३४ (poor law) बाट केहि हदमा मजदुर तथा मध्यम बर्गीय मानिसहरुको समस्यालाई सम्बोधन गर्ने प्रयत्न गरेको पाइन्छ । औद्योगिक क्रान्तिले पुँजीबादको पक्ष या बिपक्षमा धेरै बाद बिबाद शुरु गरायो । औद्योगिक क्रान्तिको समयमा  भएको गरिबी रकाम गर्ने उचित वाताबरण नभएकोले सरकारले सामाजिक र आर्थिक विषयमा हस्तक्षेप गर्नुपरेको  महत्वपूर्ण भएको कुराहरु राख्ने पनि एकाथरि छन् ।

हालसम्म भएको न्यूनतम तलबको नियम देखि एकाधिकार नियमहरु पूंजीबाद बिरोधी मनस्थिति औद्योगिक क्रान्तिका आलोचकहरुद्वारा नै रचिएको हो भन्ने बुझाइ पनि धेरैको छ ।

जति नकारात्मक सोच राखे पनि औद्योगिक क्रान्ति पश्चात तलबमा धेरै वृद्धि भइ बाल मृत्युदर निकै कम हुनु, सामाजिक र आर्थिक अबस्थामा धेरै सुधार हुनु, बर्तमान अर्थ ब्यबस्थामा अग्रगामी भूमिका खेलेको सर्बविदित नै छ ।

यहि समयमा उत्पादकत्वमा धेरै वृद्धि भइ अत्यावश्यक सामानहरुको भाउ सस्तो भएपछि जीवनस्तर क्रमसः उठ्दै गयो । रेल सुबिधाको द्द्रुतगतिमा बिकास हुन थाल्यो । फलस्वरुप बजार व्यवस्था तथा आधुनिक प्रतिस्पर्धाले गति लियो ।

लगातारको युद्दको कारणले सोचे अनुरुप बेलायतमा आर्थिक बिकास हुन नसक्नु र सम्भ्रान्त बर्गहरुको सधै पहुचले गर्दा धनि र गरिबको खाडल त झन निकै नै बढेको थियो । लिबरल प्रधानमन्त्री लोइड जर्जले निकै नै सुधार गरी बर्तमान कल्याणकारी अबधारणा (welfare Benefit system) को जग बसाएका थिए ।

सन् १८४० पछि बेलायतले खुला अर्थतन्त्र अगाल्यो । जसको फलस्वरुप सन् १८७० मा बेलायत संसारको पहिलो आधुनिक औद्योगिक देश बन्यो । यसैबेला देखि बैंक तथा अरु वित्तीय क्षेत्रमा ठुलो फड्को मार्यो । ब्यापारमा धेरै प्रगति भयो ।

दोश्रो बिश्व युद्ध सकिए लगत्तै बेलायतमा लेबर पार्टीको अत्याधिक जीतपछि बेलायती आर्थिक क्षेत्रमा व्यापक सुधार भयो ।  कर बढ्यो, उद्योगहरु राष्ट्रियकरण भए, समाज कल्याणको अवधारणा अनुरुप निशुल्क स्वास्थ्य सेवा, पेन्सन र सामाजिक सुरक्षाको जस्तै भत्ता सुबिधाको शुरुवात भयो । दोश्रो बिश्व युद्द पछिको १५ बर्ष सम्म सबैभन्दा धेरै आर्थिक वृद्धिदर भयो ।

बढ्दो बेरोजगार र मूल्य स्फिर्ती चर्को भएपछि सन् १९७० को दसकमा बेलायतमा चर्को आमहडतालको सामना गर्नु पर्यो । मार्गरेट थ्याचर प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सरकाको भूमिकामा निकै कटौती गरी ट्रेड युनियनको शक्तिलाई कमजोर बनाइन । यिनले अंगालेको अवधारणाले औद्योगिक उत्पादन कम भएर सेवा क्षेत्रमा बृद्दी हुनुको साथै केहि अर्थतन्त्रको भाग निजीकरण गरेकी थिइन । यिनको यस्तो परिबर्तनकारी कदमलाई कसैले “तेस्रो औद्योगिक क्रान्ति” भनेर पनि चित्रण गर्दछन् । बर्तमान सम्मपनि यिनको नीति कायम नै रहेको देख्न सकिन्छ ।

बेलायतमा यसपछि पूंजीलाइ ल्याउन लैजान कुनै रोकतोक नहुने भन्ने नीतिको बिकास भयो । जसलाई नब उदारबाद भनेर परिभाषा पनि गर्ने गरिन्छ ।

नेपालमा मुख्य गर्नु पर्ने कामदारको उत्पाकत्व बढाउने, करको नीति फराकिलो पार्ने, समाज कल्याणको लागि उपयुक्त कार्य  योजना बनाउने, आर्थिक उदारीकरण बढाउने,  प्राय सबै सरकारी उद्योग निजीकरण गर्ने, उर्जामा दीर्घकालीन लगानि गर्ने ,पर्यटन ब्यबसायलाइ अरु प्रोत्साहन गर्ने जस्ता धेरै सम्भावना छदैछ । यी सबैको लागि राजनीतिक स्थायीत्व अपरिहार्य छ । बेलायतले औद्योगिक क्रान्ति पछिको समयमा जसरी सुधार र उन्नति गर्न सफल भयो, त्यसरी नै नेपालमा आर्थिक बिकास गर्न प्रसस्त मार्गहरु छन् । अबको समय आर्थिक नीति तथा कार्यक्रममा नै सबै दलहरुले समय खर्चिए सबैको आशा अनुरुप नयाँ नेपालको जग बस्ने नै छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक